कविता वाचन सिक्दै बिद्यालयका शिक्षकहरु


गढवा, ११ जेठ । विद्यालयमा पढाउने नेपाली बिषयका अधिकांश शिक्षकहरुले छन्द मिलाएर कविता वाचन गर्न जान्दैनन् । कोर्षमा समावेश गरिएका कविताहरु कुन छन्दको हो र कसरी वाल मनोविज्ञानमा आधारित रहेर विद्यार्थीहरुलाई सजिलै बुझाउन सकिन्छ भन्ने बिषयमा गढवा गाउँपालिकाका निजी तथा सरकारी विद्यालयका नेपाली बिषयका शिक्षकहरुलाई पाठ्यपुस्तकका कविता वाचन गर्ने अभ्यास गराइन थालेको हो । जिल्लामै यस्तो अभ्यास पहिलो र नौलो भएको आयोजक संस्था देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोखे्रलले बताउनु भयो ।


गढवा गाउँपालिकाको आर्थिक लगानी र देउखुरी साहित्य मञ्चको आयोजनामा गढवा गाउँपालिकामा रहेका ३० बढी सरकारी तथा निजी विद्यालयहरुका शिक्षकहरुलाई यस्तो अभ्यास गराउन थालिएको आयोजकले जनाएको छ । मञ्चका अध्यक्ष हरि पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रममा ३० वटा विद्यालयहरु सहभागि भएको र उनिहरुलाई पाठ्यक्रममा आधारित २ दिवसीय कविता वाचन अनुशिक्षण तालिम राखीएको मञ्चले जनाएको छ । कविताहरु शास्त्रीय छन्द,मुक्त कविता,गिति तथा लोकलयमा आधारित हुन्छन् ।

भाव र अलंकार बमोजिम छन्द मिलाएर विद्यार्थीहरुले सहजै बुझ्न सक्ने गरि शिक्षकहरुले पढाउनु पर्छ, यो कार्यक्रमले केहि हदसम्म शिक्षकहरुलाई कविता अध्यापनमा सहजता ल्याउने छ, प्रशिक्षक हरेकृष्ण ज्ञवालीले भन्नुभयो । कार्यक्रममा साहित्य तथा छन्दज्ञानका अनुभवी ब्यक्तित्व हरेकृष्ण ज्ञवाली र बलराम ज्ञवाली तथा हरि पोखे्रलले अनुशिक्षण गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य,नागरिक समाज दाङका उपसंयोजक तथा साहित्कार निमबहादुर थापा र रेडक्रस इन्कोर परियोजनाका अधिकृत देवी प्याकुरेल लगायतले बोल्नु भएको थियो । मञ्चका सदस्य आशिष कल्पबृक्षको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया