दाङमा झण्डै आधा लाख बेरोजगार

जीतसागर जी.एम./
तुलसीपुर, ८ जेठ/
दाङमा झण्डै आधा लाख बेरोजगारीले रोजगारका लागि फारम भरेका छन् । दाङका दश स्थानीय तहमा संकलन गरिएको तथ्याङक अनुसार ४६ हजार ५ सय १६ जनाले रोजगारी पाउँ भनि आवेदन दिएका हुन् ।

सरकारले बेरोजगारलाई सय दिनको रोजगारी दिन बेरोजगारलाई आवदेन मागेको थियो । दाङमा गतवर्षको चैत्र र चालु वर्षको बैशाखमा गरी आवेदन फारम माग गरिएकोमा करिब आधा लाख जनाले रोजगारीका लागि ओवेदन फारम भरेका हुन् ।

जिल्लाका दश स्थानीय तह मध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकाबाट रोजगारीका लागि आवेदन दिएका छन् भने रोगारीका लागि बंगलाचुली गाँउपालिकामा सबैभन्दा कम आवेदन परेको छ । घोराही उपमहानगरपालिकामा १३ हजार ८ सय ५० जनाले बेरोजगार व्यक्तिले रोजगारीलका आवेदन दिएको रोजगार संयोजक शरद पाण्डेले जानकारी दिए ।

‘चैत्र र बैशाखमा आवेदन माग गरिएको थियो, रोजगारीका लागि चैत्रमा ११ हजार ९७ जनाले रोजगार फारम भरेका थिए भने बैशाखको अन्तिम सम्ममा गरि जम्मा १३ हजार ८ सय ५० जनाले फारम भरेका छन् ’उनले भने । घोराहीमा जनसंख्या धेरै भएकाले पनि अन्य स्थानीय तहको तुलनामा बढीको संख्यामा आवेदन आएको हुन सक्ने उनले बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा १० हजार ९ सय ९४ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भरेका छन् । त्यस्तै दंगीशरण गाँउपालिकामा ४ हजार ४ सय ५१ जनाले फारम भरेको गाँउपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिए ।

शान्तीनगर गाँउपालिकामा ४ हजार ४ सय ५१, बवई गाँउपालिकामा ४ हजार २ सय ४६ , लमही नगरपालिकामा ३ हजार १ सय ४७ जनाले रोजगारीका लागि फारम भरेका छन् ।

राप्ती गाँउपालिकामा २ हजार ४ सय ४८, गढवा गाँउपालिकामा ३ हजार २ सय ५५, राजपुर गाँउपालिकामा २ हजार ९ जना बेरोजगार व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।

दश स्थानीय तहमध्ये बंगलाचुली गाँउपालिकामा ८ सय १२ जनाले रोजगारीका लागि आवेदन दिएको गाँउपालिकाका रोजगार संयोजक यमनारायण शर्माले जानकारी दिए ।

सार्वजनिक तथ्याङकले पनि दाङमा बेरोजगारको समस्या देखाएको छ । बढ्दै गएको बेरोजगार समस्यालाई न्युनिकरण गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न लागेको हो । सरकारले बेरोजगारलाई न्युनतम सय दिनको रोजगारी दिने गरी ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दाङमा करिब आधा लाख बेरोगार व्यक्तिले रोजगारीका लागि फारम भरेका हुन् ।

रोजगारीका लागि फारम भर्ने अधिकांश साक्षर व्यक्ति रहेको रोजगार संयोजकहरुले बताएका छन् । वडाबाट फारम संकलन गरिसकेपछि बेरोजगारको सुचिमा नाम छनौट गर्ने बवई गाँउपालिकाका रोजगार संयोजक विप्लप भट्टराईले बताईन् । रोजगारीको अवसरबाट बाहिर रहेकाहरु छनौटमा पर्ने उनको भनाई छ ।

आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ । एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य बैदेशिक रोजगारीमा नगएकाहरु छनौट हुने व्यवस्था रहेको छ ।

बेरोजगार व्यक्तिलाई सिप क्षमता र योग्यताको आधारमा काम छनौट गर्ने शान्तिनगर गाँउपालिकाका रोजगार संयोजक निमराज सापकोटाले बताए । “आवेदनहरूका आधारमा ठहरिएका बेरोजगारहरूलाई उपलब्ध भएको हदसम्म रोजगारमा हामीले यो वर्ष पनि खटाउँछौँ । अर्को वर्षको लागि पनि त्यसैका आधारमा योजना बनाएर बजेट विनियोजन हुन्छ ’उनले भने ।

सूचीकृत भएका बेरोजगारहरूलाई तीनवटै तहका सरकारका सार्वजनिक निर्माण र अन्य आयोजनामा अनिवार्य रूपमा काम दिनुपर्ने र निजी, सहकारी र सामुदायिक क्षेत्रले पनि त्यस्तो सूचीबाट कामदार लिन सक्ने व्यवस्था रहेको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

सरकारले बेरोजगार नागरिकलाई रोगागारी दिने गरी ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम गत वर्ष फागुन १ गते ल्याएको थियो । वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सरकारले रोजगारको कार्यक्रम ल्याएपनि युवा विदेश जानेक्रम रोकिन नसक्ने सरोकारवालले बताएका छन् ।।

तपाईको प्रतिक्रिया