दाङमा एक बर्षमा ८६ जनाको मृत्यु


घोराही, ३१ वैशाख । चालू आर्थिक वर्षको वैशाख २५ गतेसम्ममा १५२ सवारी दुर्घटनामा परी दाङमा ८६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरका अनुसार ती दुर्घटनामा परी १८३ गम्भीर घाइते भएका छन् ।


ती दुर्घटनामा २०२ सवारी साधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल १०१, बस २८, ट्र्याक्टर १९ र जिप तथा कार २३ रहेका छन् । त्यस्तै टेम्पो १२, ट्रक १०, टिपर तीन, माइक्रोबस एक वटा रहेका छन् । दुर्घटना घट्नुका प्रमुख कारण चालकको लापरवाही रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । चालकको लापरवाहीका कारण सबैभन्दा बढी ८७, तीव्र गतिका कारण ५०, यात्रु गल्ती चार, मापसेका कारण चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गढबढी दुई, सवारी उछिन्दा एक, मौसमका कारण एक रहेका छन् । गत वर्ष सो अवधिमा १०५ दुर्घटना हुँदा ५९ को मृत्यु भएको थियो ।


सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजालले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि चालक गम्भीर बन्नुपर्ने बताए । उनले जिल्लामा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताउँदै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे ।
उनले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्र गतिमा गाडी चलाउने र आफ्ना सवारी साधन दुरुस्त अवस्था नराख्नेलगायतका कारणले दुर्घटना बढी हुने गरेको बताए ।

त्यसैगरी ज्येष्ठ नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताए । उनले सवारी ऐन कार्यान्वयन नगर्ने जो कोहीलाई कारवाही गरिनुपर्नेमा जोड दिए । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सवारी चलाउँदा हतार गर्ने प्रवृत्तिले गर्दा दुर्घटना बढेको बताए ।


‘हामी आफ्नो गन्तव्यमा पुग्नका लागि समयमा यात्रा शुरु गर्दैनौ ।’, उनले भने ‘जब हाम्रो उमेर ढल्दैजान्छन् अनि हामी गाडी चलाउन शुरु गर्छाैं, त्यो पनि तीव्र गतिमा चलाउँछौँ, यही नै दुर्घटनाका एउटा प्रमुख कारण हो ।’ अर्कोतर्फ सडकको अवस्था कमजोर हुँदा पनि दुर्घटना बढेको भन्दै सडक सुधार गर्नतर्फ स्थानीय सरकारले पहल थाल्नुपर्ने उनले बताए । दुर्घटना न्यूनीकरण गर्न अब सडक ट्रयाक खोल्दा आठ मिटर चौडाइ कायम गर्ने विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ ।

प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रमुख पिताम्बर अधिकारीले धेरै दुर्घटना चालकको लापरवाहीले हुने गरेको बताए । उनले तीव्र गतीमा गाडी चलाउन, सवारी साधन चुस्त दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसेलगायतका कारणले दुर्घटना बढेका छन् भन्दै यसको नियन्त्रणका लागि सम्बन्धीत सबै गम्भीररुपमा लाग्नुपर्ने बताए ।

उनले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्नेमा उनले जोड दिए । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित भएर ट्राफिक सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने भन्दै उनले सडक दुर्घटना न्यूनीकरणका लागि आफूहरु लागिरहेको बताए ।

तपाईको प्रतिक्रिया