गुठीको जग्गामा व्यक्तिको रजाई


टेकबहादुर पुन
स्वर्गद्धारी आश्रमको जग्गामा अहिले सबैको आँखा परेको छ । देउखुरी र घोराही, तुलसीपुरका धेरै भुभागमा अहिले स्वर्गद्धारी आश्रमको जग्गा छ । सोही जग्गामा मोहीको नाममा स्थानियहरुले हक दावि गर्दै आईरहेका छन ।


देउखुरीको लमही नगरपालिका ७ उचानिम्बु स्थित स्वर्गद्धारी आश्रमको स्वामित्वमा रहेको जग्गाको मोही हक आफुहरुले पाउनुपर्ने भन्दै त्यहाँका जनताहरुले पटक पटक माग पनि राखिएका छन । लमही ७ उचानिम्बुमा बस्दै आएका सिउनारायण चौधरीले नेताहरुले चुनावमा जग्गाको पूर्जा दिलाइ दिने आश्वासन दिएको हुँदा आफुहरु मोहीको जग्गा पाउने आशमा रहेको बताउनुभयो । आफूहरु बर्षौ देखि जग्गा जोत्दै आए पनि आफ्नो नाममा जग्गा नहुँदा मानसिक रुपमा पिरिलो भइरहने उनको भनाई छ । ‘नेताहरु आएर जग्गाको लालपुर्जा दिलाईदिन्छौ भन्नुहुन्छ ।’ उहाँले भन्नुभयो –‘पुस्तौ देखि भोगचलन गरिरहेका छौं, मोहियानी हक पाउनुपर्ने हो ।’


पुस्तौ देखि जोतेको जग्गा कुनै हातमा नछोड्ने अर्का स्थानियवासी प्रग नारायण चौधरीले बताउनुभयो । आश्रमको जग्गा आफुहरुको नाममा गराउनको लागि आफुहरुले धेरै ठाउँमा भनसुन समेत गरिहरको उहाँले बताउनुभयो ।

लमही ७ उचानिम्बु स्थित स्वर्गद्वारी आश्रमको जग्गा ८४ बिगाह रहेको जानकार बताउछन् । ‘कतिपय जग्गा त राप्तीको कटानमा छ ।’ स्थानियवासी भगत चौधरीले भन्नुभयो ‘करिब ५ पुस्ता अघि आश्रमले अधियामा जग्गा दिएको सुन्नमा आउँछ । पुर्जा आश्रमको नाममा छ त्यहाका किसानले पुर्जा नै देखेका छैनन ।’


तर स्वर्गद्धारी आश्रमका पदाधिकारी भने आश्रमको जग्गामा चरम राजनीति भएको बताउछन । ०५०÷५१ देखि जग्गामा आँखा गाड्ने काम भैरहेको आश्रमका सहायक कोठारी बाबुराम न्यौपाने बताउनुहुन्छ । ‘आश्रमको जग्गाको नाममा धेरैले राजनीति गरिरहेका छन ।’ उहाँले भन्नुभयो ‘अधियाँ लगाउनेलाई भाँडेर टाठाबाठाले आश्रमको जग्गा कब्जा गर्ने काम भएको छ ।’ पहिला सबै जग्गामा अधिया खेती गरेर खेतिको अन्न दिने चलन भए पनि अहिले अन्न पनि नदिने गरेको उहाँले बताउनुभयो ।

किसानहरुले अन्न नदिदा आयश्रोत समेत घटेको छ गुठी पदाधिकारीहरु बताउछन । जसको कारण स्वर्गद्धारीको संरक्षण र विकासमा बाधा पुगेको उहाँ बताउनुहुन्छ । स्वर्गद्वारीको जग्गामा बस्दै आएका मोही, अधियाँ गर्दै आएका किसान र भोगचलन गर्दै आएका व्यक्तिबारे राजनीतिक दलहरूको प्रष्ट दृष्टिकोण नआएसम्म समस्याले निकास पाउने अवस्था छैन । त्यसैले दाङमा हरेक निर्वाचनमा आश्रमको जग्गाको लालपुर्जा बनाउने चुनावी नारा नै बन्छ ।

‘घर कस्को पोत्नेको, जग्गा कस्को जोत्नेको’ यस्तो सस्तो नारा लिएर आश देखाउने गरेको स्थानिय तुलबहादुर वली बताउछन । अतिक्रमणकारीलाई प्रोत्साहन पुग्ने गरी पार्टीहरूले भूमिका खेलेको हुदाँ पनि कब्जामा परेको आश्रमको जग्गा फिर्ता गर्न समस्या भएको उनको बुझाई छ ।

वास्तविक मोहीबाहेक अरूलाई आश्रमले जग्गा दिनुपर्ने कारण नभएको स्वर्गद्वारी आश्रमका प्राशसनिक प्रमुख हरि अधिकारीले बताउनुभयो । दाङको घोराही, तुलसीपुर र लमहीमा मात्र १ हजार ५० बिगाह जग्गा रहेको आश्रमको तथ्याङकमा उल्लेख छ । सर्वोच्च अदालतले २०६४ मा नीजी गुठी भनेर आश्रमको जग्गामा मोहियानी हक नलाग्ने भनेर फैसला गरेको छ । यता दाङमा भने पुस्तौदेखी खनजोत गरेको जग्गाको मोही हक आफुहरुले पाउनुपर्ने स्थानिय बताउछन ।

उचानिम्बुमा १८ जना मोही छन । तर मोहीको नाम भएका किसान अहिले छैनन् । सबैको मृत्यु भैसकेको छ । त्यही मोही जग्गालाई दोस्रो हकवालाको नाममा नामसारी गराउन खोज्दा भुमिसुधार कार्यालयले दुख दिने काम गरेको उनीहरुको आरोप छ ।

अन्य क्षेत्रमा जग्गा अतिक्रमित भएर संरचनासँगै किनबेच भएपनि उचानिम्बुमा जग्गा यथास्थिति रहेको स्थानियको भनाई छ । आश्रमसँग सम्झौता गरेका किसान त्यहाँ छैनन् । अरु व्यक्तिहरुले नै जग्गा चर्चिएको देखिन्छ । अदालतमा मुद्धा पर्छ । प्रहरी, अदालतका कर्मचारी घर भत्काउन पुग्छन् । तर, राजनैतिक आडमा तेस्रो पक्षको हालीमुहाली मौलाएको छ । नेताहरुले मिनाहा हुन्छ भनेर अलमल्याउने भएकाले मोही नियमित तिर्न तयार नभएको स्वर्गद्वारी आश्रम बनगाउँको भनाइ छ ।

आफ्नो जग्गा फिर्ता गर्न समयसमयमा आश्रमले आवाज उठाउने गर्छ । आश्रम व्यवस्थापन समितिले जग्गा अतिक्रमण हटाउन दाङ, प्यूठान र रोल्पाका प्रमुख जिल्ला अधिकारी सहितको बैठक थुप्रै पटक बसायो । तर, कुनै प्रगति भएको देखिएन । सरकारको सहयोगमा गुठी संस्थानले आश्रमको जग्गालाई राजगुठी बनाउन थालेपछि आश्रम सर्वोच्च अदालत समेत पुगेको थियो । अदालतले आश्रमकै पक्षमा फैसला सुनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया