समयमा पुल नबन्दा समस्या, निर्माण कम्पनीहरुलाई कारवाही न्युन

 

रीता लामा
घोराही, १५ वैशाख । दाङका अधिकांस खोला तथा नदीहरुमा पुल निर्माणको काम चलिरहेको छ । कतिपय खोलाहरुमा निर्माण व्यवसायीको लापरवार्हीका कारण पुलनिर्माणको काम लथालिंग अवस्थामा रहेको छ भने पुल निर्माणको सम्झौता भएको बर्षौ बितिसक्दा समेत अहिलेसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैनन् ।


जसले गर्दा बर्षायाममा जनताहरुले बाढीको र हिँउदमा धुलोको सास्ती वेहार्नु परेको छ । पुल निर्माण भईरहेका खोलामा भरपर्दो डाइभर्सन नहुदा बर्षादको समयमा यातायात सञ्चालनमा समेत समस्या हुने गरेको छ । दाङको लमही–घोराही–तुलसीपुर खण्डमा ४६ किलोमिटर सडक रहेको छ । लमही–तुलसीपुर खण्डको कटुवा खोला देखि तुलसीपुरसम्म बबई, सिस्ने, सेवार, गुर्जे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला गरि १० वटा खोलाहरु छन् ।

जसमा बबई, गुर्जे, पत्रे, संक्रम र ग्वारखोलामा नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगे पनि संचालनमा आउन सकेका छैनन । यस्तै कटुवा खोलाको पुलमा आधा संचालनमा छन् । यस्तै सिस्ने, सेवार, कालाखोलामा अझै पुल निर्माणको कामा सुरु हुन सकेको छैन । यात्रुहरुले अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता छ ।


पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपयुक्त डाईभर्सन नहुदा खोलामा सवारी साधन चलाउदा समस्या हुने गरेको चालकहरुले बताउने गरेका छन् । खोलामा बन्दै गरेका पुल समयमै नबन्दा बर्षाद्को समयमा बाढीले र हिउदको समयमा धुलोले हैरान बनाएको यातायात व्यवस्था कार्यालय दाङका कर्मचारी सुमन पोख्रेल बताउनुहुन्छ । बर्षाद्को समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडक खण्डका खोलाहरुमा सवारीसाधान चलाउन समस्या हुने गरेको गाडी चालकहरु बताउने गरेका छन ।

गाडी चालक पोषण नेपाली पुल निर्माणको काम गर्दा अधिकांस सडकहरुमा पक्की सडक भत्काईएको हुँदा उक्त स्थानमा खाडलहरु पर्ने गरेको कारण समस्या हुने गरेको चालक नेपालीको भनाई छ । ‘त्यस्तो अवस्थामा पानी परेमा अलि जोखिम हुने हुन्छ भने खोलामा धमिलो पानी देख्ने वित्तिकै आपत् हुन्छ’ नेपालीले भन्नुभयो ।

चालक नेपालीका अनुसार घोराही तुलसीपुर सडक खण्डको खुर्जे र संक्रमखोलासँगै घोराही लमही सडक खण्डको कटुवाखोला र बबई नदिमा बढी जोखिम हुने गरेको छ । तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्वन्धी ठेकेदारहरुले ध्यान दिएका छैनन् ।


कतिपय खोलाका पुलहरु पटक पटक म्याद थप भए पनि पुलहरु निर्धारित समयमा निर्माण हुन सकिरहेका छैनन् । यसतर्फ सडक डिभिजन कार्यालयले समेत ध्यान दिन नसकेको नागरिकहरुको गुनासो छ । बर्षौसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनताहरुलाई दुःख दिने निर्माण व्यवसायीहरुलाई सरकारले कारवार्ही गर्नुपर्ने नागरिकको दवाव छ ।

घोराही–लमही सडक खण्डको बबई नदि पुल र घोराही तुलसीपुर सडक खण्डको गुहार खोला, संक्रमखोला र गुर्जे खोलाको पुल निर्माणको अवस्था सन्तोषजनक रहे पनि समयमा काम सम्पन्न गर्नेमा भने आशंका रहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ । पत्रे खोलाको पुल नयाँ डिजाईनमा निर्माण गर्नुपर्ने भएकाले केही ढिलाई भएको सडक डिभिजन कार्यालय दाङका इन्जीनियर शेखर योगीले बताउनुभयो । ‘घोराही–तुलसीपुर सडक खण्ड या लमही–घोराही सडक खण्डमा बन्ने सम्पुर्ण पुलहरु नयाँ डिजाईनमा निर्माण भईरहेको योगीको भनाई छ ।

पुल निर्माणको सम्झौता कम समयको हुने र पुल नयाँ डिजाइनमा निर्माण गर्नुपर्दा केही ढिलाई भएको इन्जिनियर योगीले बताउनुभयो । उहाँका अनुसार कतिपय स्थानमा सरकारले निर्माण पक्षलाई समयमै बजेट नदिदा पनि काम गर्न ठेकेदारहरुलाई समस्या पर्ने र काममा ढिलाई हुने गरेको छ ।

घोराही–लमही तथा घोराही–तुलसीपुर सडक खण्डका १० वटा खोलाहरु मध्ये ५ वटा खोलामा पुल निर्माण भैरहेको बर्षौ भईसक्यो । निर्माणको अवस्थामा ढिलाई भएका कारण अधिकांस पुलहरुको निर्धारित समय वितिसक्दा समेत निर्माणको कार्य पुरा हुन सकेको छैन । सडक डिभिजन कार्यालयबाट पटक पटक म्याद थप्दा समेत काम पुरा हुन सकेको छैन । डिभिजन सडक कार्यालय दाङका अनुसार घोराहीको कटुवा खोला पुल २०७१ भदौ ११ गते सम्झौता भएको थियो ।

२०७४ साल असोज १० गतेसम्म पुल निर्माण गरिसक्ने गरि शंकरमाली निर्माण कम्पनीसँग सम्झौता भएको थियो तर निर्माण पक्षले विभिन्न प्राविधिक समस्या देखाउदै गत फागुन महिनामा पुल बनायो तर राम्रोसम्म फिनिसिङ नगरेरै छोडेको छ । अहिलेसम्म पुल निर्माणको काम पुरा गर्न नसकेको सडक डिभिजन कार्यालय दाङको भनाई छ ।

तर निर्माण पक्षले भने पुल निर्माणको ९० प्रतिशत काम पुरा गरेपनि काम गरे वाफतको रकम कार्यालयले उपलव्ध नगराएको बताउदै आएको छ । २०७५ साल साउन १६ गतेसम्म बबई नदिमा पुल निर्माण गरिसक्ने गरि २०७२ माघ १७ गते अनक÷बज्रगुरु जेभी निर्माण प्रालिसँग सम्झौता भएको थियो । तर बबई नदिमा पनि अहिलेसम्म पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

पुल निर्माणमा ढिलाई हुनुको कारण नयाँ प्रविधिमा निर्माण हुन थालेकाले व्यवसायीहरुलाई आवश्यक सामाग्रीहरु भारतबाट ल्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको इन्जीनियर योगीको भनाई छ । २०७५ साल बैशाख १६ गते पुल निर्माण गरिसक्ने गरि घोराही–तुलसीपुर सडक खण्डको गुर्जे खोलामा बज्रगुरु कन्ट्रसन निर्माण प्रालिसँग पुल निर्माणको लागि २०७२ माघ १० गते सम्झौता भएको थियो । निर्धारित समय सकिए पनि पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन । अहिले उक्त पुलको म्याद थपको अवस्थामा रहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।


सक्राम खोलामा पनि २०७५ साल बैशाख ४ गतेभित्र पुल निर्माण गरिसक्ने गरि रौतहा कन्ट्रक्सन प्रालिसँग २०७२ माघ ५ गते निर्माण पक्ष र डिभिजन सडक कार्यालयका विचमा सम्झौता भएको थियो । तर पुल निर्माणको निर्धारीत समय सकिसक्दा समेत संक्रम खोलामा अझै पुल बन्न सकेको छैन ।

सडक तथा पुल निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई सरकारले कारवार्ही गर्ने बताउदै आएपनि दाङका कुनै पनि निर्माण कम्पनीहरुले अहिलेसम्म कारवार्हीमा परेका छैनन् ।

तपाईको प्रतिक्रिया