बट्टाई र कडकनाथ कुखुरामा कृषकको आकर्षण

दाङ चैत १२ ।  बट्टाई व्यवसायबाट दाङ देउखुरीका व्यवसायीले राम्रो आम्दानी गर्न सफल भएका छन् । दाङमै नमुनाको रुपमा रहेको बट्टाई व्यवसाय अवलोकनकै लागि बट्टाई फर्ममा भिड नै लाग्ने गर्दछ । बट्टाई व्यवसायबाट सँगै कडकनाथ जातको कुखुरा पालन गर्नुभएका दाङ राप्ती गाउँपालिका पाँच जना यूवाहरुले मासिक एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

एक बर्ष देखि व्यावसाय संचालन गरेको बताउने व्यवसायी भिमलाल आचार्यले बट्टाई व्यवसायबाट घाटा नहुने बताउनु हुन्छ । बट्टाई र कडकनाथ जातको कुखुरा दाङमा नयाँ भएकोले पनि राम्रो व्यवसाय भएको उहाँले बताउनुभयो । ‘बिक्रीको लागि चिन्ता छैन, उत्पादन गर्न सके जतिपनी बिक्री हुन्छ’ व्यवसायी आचार्यले भन्न्ुभयो ।

दैनिक पाँच सय बट्टाइ र कडकनाथ जातको कुखुरा उत्पादन गर्ने उनिहरुले दाङ भन्दा बुटवल, चितवन र काठमाण्डौमा निर्यात गर्दै आइरहेका छन् । बट्टाई प्रतिगोटा तीन सय पचास र कडकनाथ कुखुरालाई तीन हजार पाँच सय देखि चार हजारसम्ममा बिक्री हुने गरेको छ । ‘तीनसयमा बट्टाइ र पोथी कुखुरालाई तीन हजार पाँच सय भालेलाई चार हजार सम्म पर्ने गर्दछ, तौल लिएर भन्दा ठाडै दिने गरेका छौ ।’ व्यवसायी रेशम खड्काले भन्नुभयो ।

राप्ती गाउँपालिका मौरीघाट निवासी भिमलाल आचार्य, रेशम खड्का, केशव शर्मा, शंकर गौतम र प्रभात घिमिरेले संयुक्त रुपमा व्यवसाय संचालन गर्नुभएको हो । पाँच जनाले दुध संकलन गर्ने र बिक्री गर्ने काम पनि गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया