तुलसीपुर उपमहानगरपालिकाले भवन अभिलेखीकरण गर्दै

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण घरहरुको अभिलेखीकरण गरिने भएको छ । उपमहानगरपालिकाले पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्बन्धि निर्देशिका २०७५ वनाएर नयाँ पुराना सबै घरको अभिलेखिकरण गर्न लागेको हो ।

कार्यविधि अनुसार भवन संहिता २०७२ लागु हुनु पूर्व निर्माण भएको तर तत्कालिन सडक तथा अन्य निर्धारण गरेको मापदण्ड पुरा नभएको भवनको अभिलेखिकरण मात्रै गरिने भएको छ ।


उपमहानगरपालिकाका शाखा अधिकृत टंक गौतमका अनुसार अभिलेखिकरण भएका घरहरुले नक्सा पास गरेको भवन सरह विभिन्न निकायवाट पाउने सुविधामा कुनै कमी हुने छैन । “वैकहरुले कहिलेकाही अभिलेखिकरण गरेको मात्रै घरलाई ऋण दिदा मुल्यांकन कम गर्न सक्छ त्यो भन्दा केही पनि फरक छैन ” अधिकृत गौतमले जानकारी दिए ।

अभिलेखिकरण भएको घरमा तला थपका लागि भने उपमहानगरपालिकाले अनुमति दिन नसक्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ । यसैगरी भवन संहिता लागु भइसकेपछि निर्माण भएका र भवन निर्माण संहिता, सडक मापदण्ड र अन्य प्रचलित कानुन वा मापदण्ड पुरा भएको अवस्थामा प्राविधिकको सिफारिसमा नक्सा स्वीकृत गरेर सम्पन्न प्रमाण पत्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैगरी भवन संहिता लागु भैसकेपछि उपमहानगरपालिकाबाट सिफारिस लिएका तर भवन निर्माण सम्पन्नको कागजात नलिएको भएमा वडा कार्यालय र प्राविधिकको सिफारिसमा कागजात उपलब्ध गराइने पनि कार्यविधिमा उल्लेख गरिएको छ । “भवन निर्माणका लागि प्रक्रिया सुरु गरेका तर काम सम्पन्न भएपछि कागजात नलिएकाहरुका लागि यस्तो व्यवस्था गरिएको हो ” इन्जिनियर पवन योगीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका हुनुभन्दा अगाडि विभिन्न गाविसमा निर्माण भएका भवनहरुका वारेमा पनि कार्यविधिमा उल्लेख गरिएको छ । भवन संहिता लागु भइसकेपछि निर्माण भएका तर संहिता पालना नगरेको हकमा घरको अवस्थालाई जनाउने गरी अभिलेखीकरण गर्ने पनि उल्लेख गरिएको छ । कार्यविधिमा २०७५ साउन १ गतेदेखि भवन संहिता २०७२ वमोजिम निर्माण नभएका घर संरचनालाई नक्सापास नगरिने पनि उल्लेख गरिएको छ । “त्यसरी निर्माण भएका कुनै घर छन् भने हामीलाई जानकारी भएमा तत्काल नियमानुसार कारवाही गर्नेछौ” कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले वताए ।

घर निर्माणको प्रक्रिया सुरुको कागजात लिने तर काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि पनि कार्यविधिमा विशेष व्यवस्था गरिएको छ । २०७५ साउन १ गतेदेखि लागु हुनेगरी नक्सापासको लागि जुन मितिमा दर्ता गरिएको हो सोही मितिको एक वर्षभित्रमा आंशिक नक्सापासको प्रमाणपत्र लिइसक्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी साविक गाविसहरुमा निर्माण भएका कच्ची घरहरुको नक्सा निर्माण गर्नु अनिवार्य गरिएको छैन । यस्ता घरहरुलाई ५ सय रुपैया अभिलेखीकरण शुल्क तिरेर अभिलेखीकरण गरिने पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया