पत्रकारिता आफै चुनौतीपूर्ण पेसा हो

पत्रकार बसुन्धारा गौतम सँग गरिएको कुराकानी


> पत्रकारीता गर्न थालेको कति भयो ?
— पत्रकारीता गर्न थालेको करिव दुई दशक भयो ।


> सुरुको अवस्थामा कसरी पत्रकारीता गर्नुभयो त्यो बताइदिनुस न ?
— सानै देखीको रुचि रेडियो नेपालमा समाचार वाचन गर्ने थियो । म पढदा पनि सानोमा ऐना हेरेर वोलेरै पढ्ने गर्दथे । तर, म जस्तो गाउँमा बस्ने मध्यम वर्गीय परिवारकी छोरीको रेडियो नेपालमा समाचार भन्ने कुरा सपना जस्तै भयो । त्यो लाइनको आफ्नो परिवारमा कोही पनि भएन त्यो त्यतिकैमा सिमित भयो । तर २०५१ सालमा जव म उच्च शिक्षा अध्ययनका लागि तत्कालिन सिसहनीया ३ भानपुर अहिलेको राप्ती गाउँपालीकाबाट महेन्दू वहुमुखी क्याम्पसमा आए ।
त्यसपछि म विद्यार्थी राजनीति तर्फ लागे, एकपटक स्वतन्त्र विद्यार्थी युनियनको सदस्य र अर्को पटक कोषाध्यक्ष भएर पनि काम गरे । त्यो विद्यार्थी राजनितीमा म त्यति लामो समय रहेन ।

त्यसपछि जव २०५८ मध्य तथा सुदुरपश्चिम मै पहिलो सामुदायिक रेडियो खुल्यो अनि त्यसपछि म रेडियो स्वर्गद्धारीको सम्पर्कमा आए रेडियो संचालक समितीका अधयक्ष दधिराम सुवेदीलाइ आएर भेटे उहाँले मलाइ त्यतिवेला एउटा पत्रिका वाचन गर्न दिनुभयो । मैले सरसरै पढे मलाइ पढ्नलाई कुनै समस्या थिएन । किन की मेरी आमाले जहिले पनी मलाई वोलेर पढ्नु पर्छ भनेर सिकाउनुहुन्थ्यो त्यसरी पढ्दा कतै गल्ती भए मेरी आमाले भात पकाउदा पकाउदै पनि भासाबाट यसलाई त यसरी पो पढ्न पर्छ भनेर सिकाउनुहुन्थयो । त्यसैले मेरो वाचनशैली राम्रो थियो । यसरी रेडियो नेपालमा समाचार भन्ने मेरो सपना मैले रेडियो स्वर्गद्धारीमा आएर पुरा गरे । रेडियो स्थापनाकाल देखि हालसम्म पनि म त्यसमै कार्यरत रहेकी छु ।


> तपाईले अहिले कुन कुन मिडियामा काम गर्दै आउनुभयो ?
— म लामो समयसम्म रेडियो स्र्वगद्धारीमा प्रमुख संवाददाताको रुपमा त्यसपछि समाचार प्रमुख र अहिले दुई वर्ष देखी रेडियो स्र्वद्धारीमा सम्पादकको जिम्मेमारी समालेकी छु । र, सन् २००८ देखी अन्तराष्टिूय समाचार संस्था विविसी नेपाली सेवामा पनि संवाददाताको रुपमा काम गर्दे आएकी छु ।


> सुरुका अवस्थामा पत्रकारीता गर्दा र अहिलेको अवस्थामा सजिलो गाह्रो कस्तो छ ?
— सुरुको अवस्था तपाई आफै कल्पना गर्नुहोस दुइ दशक पछि त समाजको चेतना स्तर महिलाको अवस्था समाजको सोचाइ यस्तो छ त्यतिवेला कस्तो थियो होला ? जतिवेला छोरीहरुलाई त्यति साह्रो अहिले जस्तो काम गर्ने वातवारण न घरपरिवारबाट थियो न समाजबाट न त राज्यबाट नै त्यसकारण अत्यन्त कठिन थियो । वाहिर निस्केर काम गर्न ।

अझ, त्यसमा पनि पत्रकारिता पेशा आफैमा चुनौतिको पेशा हो । त्यसमा पनि तत्कालिन नेकपा माओवादीको द्धन्द्धको चरम उत्कर्ष विद्रोही पक्ष र राज्यपक्ष दुवैको निशाना भनेकै संचार माध्यम र तिनमा काम गर्ने पत्रकारहरुप्रति नै थियो । तर भाग्यशालीनै मान्नुपर्छ समाचारको विषयलाई लिएर कतैबाट पनि डर धम्की खानु परेन हामी एकदमै संवेदनशील थियौ |

हुन त पत्रकार र संचारमाध्यम सदैव संवेदनशिल निष्पक्ष र स्वतन्त्र हुनुपर्छ नै तर त्यतिवेलाको हाम्रो टिम सबै युवा थियो र पनि अत्यन्त संवेदनशील थियौ । त्यसले पनि समाचारको विषयर्लाइ लिएर मैले अहिलेसम्म पनि कसैको खप्कीदप्की खानुपरको छैन । तर, पनि राती आठ वजे रेडियोमा समाचार वाचन गरेर डेरामा जादाँ आउदा कहिले काँहि संचारमाध्यम मै सेना प्रहरी आउदा डर त्रास थियो । घरसम्म जानलाई प्रशासनबाट अनुमति पत्र लिएको थिए । त्यही भिरेर आउने जाने गर्दथे मध्य तथा सुदुरपश्चिम मै म एकजना मात्र रेडियो पत्रकार थिए । टेलिभिजनमा नेपाल टेलिभिजनकी लीला शाह, राससमा नारायणी रजौरेले काम गर्नुहुन्थ्यो अरु पत्रकारीता गर्ने महिला कोही थिएन । त्यतिवेला अत्यन्त थोरै पत्रकार थिए अहिलेको जस्तो थुप्रे संचार माध्यमहरु पनि थिएनन ।

एक किसिमले समाज सेवा जस्तो थियो । यो सेवा गर्ने पुरुष त औलामा गन्ने हुनुहुन्थ्यो । महिलाको अवस्था मैले अगाडी नै भनिसके । समाजको सोचाइ, समाजिक, चुनौति आर्थिक चुनौति, पेशागत चुनौति, भौतिक चुनौतिहरु अत्यन्त धेरै थिए । अहिलेको जस्तो संचार उपकरणहरु थिएन । स्रोत साधन पनि थिएन । सिङ्गै दुइ किलो जतिको मरहान्जा नामक रेकर्डर वोकेर गाउँ गाउँमा जानुपर्दथ्यो ।

यातायातको त्यतिकै समस्या स्रोत साधनको त्यतिकै समस्या । न आफुले किन्न सकिने न सर्वसुलभ पाइने न त यति धेरै अहिलेको जस्तो छिटो छरिता माध्यम इन्टरनेटको सेवा सुविधा थियो । न हातहातमा मोवाइल थिए न कम्प्युटर नै थियो । हातैले लेखेर पाना लगेर न्युज रुपमा गएर पढथ्यो । केन्द्रको समाचार रेडियो नेपाल सुनेर त्यसलाई समाचारको रुपमा ढालिन्थ्यो ।

अत्यन्त अप्ठेरो अवस्थाबाट पत्रकारीता गर्नुपर्ने त्यतिीवेलाको अवस्था थियो । हामीले भन्दा अझ अघिल्लो पुस्ताले कठिन पुर्वक पत्रकारीता सुरु गर्नुभयो । तर अहिले त तपाई घरमै वसेर विश्वमा के भैराछ भन्ने थाहा पाउनुहुन्छ, । तपाईहरुसँग लाखौको क्यामरा, रेकर्डर, ल्यापटप त्यस्तै आआफनै यातायातका साधनहरु छन । थुप्रै संचार माध्यमहरु खुलेका छन । तीनमा काम गर्ने पत्रकारहरु पनि पशस्त छन । समाज वदलिएको छ । देशको शासन व्यवस्था परिवर्तन भएको छ ।

समाजको स्तर समाजको सोच वदलिएको छ । महिलालाई पनि काम गर्ने वातवरण वनेको छ । त्यसकारण अहिले धेरै सजिलो छ । तर आर्थिक पशोगत र भौतिक सुरक्षाको प्रत्याभुति गर्ने वातवरण अभैसम्म पनि वन्न नसक्नु यो भने चुनौती कै रुपमा अहिले पनि छ ।

> तपाईले पत्रकारीता गर्दा गर्दै बच्चा पनि हुर्काउनुभयो बच्चा हुर्कादै काम गर्दा के कस्ता समस्या झेल्नुभयो त्यो बताइदिनुस न ?
— यसको त कुरै नगरो कसरी यो सब संभव भयो भनेर म पनि अहिले सोच्ने गर्छु । तर फलामको चिउरा चपाउनु जतिकै अप्ठेरो झेल्नु प¥यो । दुइवर्षका अन्तर पनि नहुदै दुई दुइवटा वच्चा हुर्काउने पत्रकारीता जस्तो कठिन पेशालाई निरन्तरता दिने कती दुख झेले, झेले । मैले मात्र झेलेन मेरा साना दुधे वच्चाहरुले पनि मेरो पेशाका कारण अनेकँै दुखहरु झेलेका छन । कहिले काँही आखाँ रसाएर आउछ ।


मेरो पत्रकारीता गर्ने रुचिका कारण मैले मेरा साना दुधे वच्चाको अधिकार पनि हनन गरे । उनीहरुको भोकमा पनि मैले पेट भराउन सकेन प्यासमा पनि तिर्खा मेटाउन सकिन भरपेट पनि सुत्न दिएन । साच्चै मैले अन्याय गरे वच्चाहरुप्रति लाग्छ । उनीहरुको खेल्ने रहर, घुम्ने रहर, खेल्दै खाने रहर, आमाको औला समाउदै घुम्ने रहर कुनै पनि पुरा गर्न सकेन जस्तो लाग्छ । मेरो पत्रकारीता क्षेत्रलाइ यहाँसम्म ल्याउन सबैभन्दा वढी त्याग वास्तवमा मेरा दुई सन्तान छोरा छोरीले जस्तो मैले पनि गरिनकी जस्तो लाग्छ । वच्चा वच्ची पाँच वर्ष पुरा गराउन पाउँदा नपाउदै श्रीमान पनि वेसस्री विरामी पर्नुभयो । हिडडुल गर्न नसक्ने हुनुभयो त्यसपछि त झन् मलाई काम थपियो ।

श्रीमानको स्याहार सुसार गर्ने श्रीमानलाई क्याम्पससम्म ल्याउनेलैजाने, वच्चा वच्चीको रेखदेख । पत्रकारीता पेशाको नरन्तरता घरको काम मेरो जतिको भोगाइ र संर्घष सायदै कसैले गरेन होला जस्तो लाग्छ । अहिलेको जस्तो विदा वस्ने विदा पाउने केही थिएन सुत्केरीका समयमा ४५ दिनको विदा पछि नै पेशामै फर्कीए । तपाईले मेरो ठाउँमा आफुलाई राखेर कल्पना गर्नुहोस । कति कठीन र संर्घषका दिनहरुका वावजुत पनि मैले पत्रकारीता गरे भन्ने कुरा ।

> पत्रकारीतामा दुख कतिको छ ? यो कामबाट खुसि सन्तुष्टि पनि होला नी त्यो कतिको छ ?
— दुख भनेर साध्य नै छैन पत्रकारीता आफैमा चुनौतीपुर्ण पेशा हो त्यसमा पनि महिला अझ श्रीमती वुहारी र आमा भएकाहरुलाई दोहोरो तेहेरो भुमिका निर्वाह गर्नुपर्ने थुप्रै संचार माध्यमका बीचमा आफ्नो अस्तिीत्वलाई जोगाउने सवै कुराले गर्दा यसमा तपाई पनि पत्रकार हुनुहुन्छ । यो कामबाट धेरै खुशी र धेरै सन्तुष्टी पनि छु । किन भने मैले पत्रकारीतामा लाएर सवैभन्दा धेरै इज्जत, मान प्रतिष्ठा, आत्म सम्मान र प्रसंशा पाएकी छु । यो पेसाले महिला धेरैमा पहिलो महिलाको अनुभव संगाल्ने अवसर पनि दिएको छ ।

जस्तो मध्य तथा सुदुरश्मि कै पहिलो सामुदायीक रेडियोमा काम गर्ने अवसर, यस क्षेत्र कै पहिलो सामुदायीक रेडियो महिला पत्रकार, विविसी जस्तो मिडियामा पनि नेपालका पहिलो चार महिला संवाददाता मध्य एक म पनि हुने अवसर पाए ।

श्रमजीवी पत्रकारका रुपमा नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमितीमा पहिलो महिला पदाधिकारीका रुपमा जाने अवसर पाए यसले मलाई केही गरे जस्तो लाग्छ । अनी आफुले उठाएका विषयहरु जस्तो विधवा आन्दोलन, अहिलेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यति वेलाको महेन्द्र अस्पताल दाङमा लोडसेडिङ हुदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले रातीको समयमा मैनवत्ती वालेर उपचार गर्ने वाध्यता थुप्रै महिलाको सफलतका कथा, थुप्रै सामाजिक विषवस्तुहरुलाई उठान गर्ने र वैठानमा समेत भुमिका खेल्ने अवसर पाए ।

तर जीवनमा कमाउन नसकेको मैले पत्रकारीता गरेको भने पैसा हो । अनि २० वर्षसम्म पनि श्रमको मुल्य पाउन सकिएन पेसाको कुनै ग्यारेन्टी र सुरक्षासम्म पनि छैन यसले चाँही सारै निराशा पनि वनाउछ ।

> पारिवारिक सहयोग, सम्मान पाउनु भएको छ की छैन यसमा लागि सके पछि ?
— मैले माथी पनि केही कुरा भनेकी छु मेरो पेसालाई निरन्तरता दिन सवैभन्दा वढी सहयोग मेरा छोराछोरी, मेरो लगाव सहनशीलता, मेरो सर्मपण, कर्तव्यनिष्ठ स्वभाव, त्यसपछि मेरो श्रीमानको पनि सहयोग छ । जीवनमै मैले पत्रकारीताबाट राष्टिूय तथा जिल्ला स्तरकै थुप्रै सम्मान पुरस्कारहरु पाएकी छु । रेडियो स्र्वद्धारी दाङद्धारा २०६१ मा उत्कृष्ट संचारकर्मीको रुपमा पुरस्कृत एवं सम्मानित भए । नेपाल पत्रकार महासंघ दाङद्धारा कवि गोकुल पत्रकारीता प्रतीभा पुरस्कार २०६४ द्धारा पुरस्कृत एवं सम्मानित भए । अहिलेसम्म मैले करिव दुइ दर्जन बढी सम्मान एवम पुरुस्कार पाइसकेको छु ।

> जिल्लाका मिडियामा पत्रकार टिक्न नसक्नुको कारण के हो ?
— मिडियाहरु श्रमजिवी मैत्री वन्न नसक्नु, श्रमजिवी ऐन कार्यान्वयन नहुनु, काम गर्ने वातवारण कतिपय संचार माध्यममा नहुनु, आर्थिक अभाव पेशागत सुरक्षा व्यवसायीका सुरक्षा, रोजगारीको कुनै ग्यारेन्टी नहुनु श्रमजिवीहरुले मिडिया संचालन नगर्नु श्रम गर्नेलाइ मिडिया मालिकहरुले कमजोरीका रुपमा लिनु, मिडियालाई आफ्नो कमाइखाने भाँडो बनाउनु, श्रमअनुसारको ज्याला नदिनु, थोरै ज्याला पनि समयमा नदिनु जस्ता कारणले गर्दा जिल्लाका मिडियामा पत्रकार टिक्न सकेको देखिदैन चाहे पुराना प्रीन्ट माध्यम हुन चाहे इलेक्टाूेनिक माध्यम कतै पनि टिकेर काम गरेको देखिदैन ।

> मिडियामा पत्रकारलाई टिकाउनको लागि मिडिया मालिकको पनि अहम भुमिका हुन्छ भन्नछन, तपाईलाई कस्तो लाग्छ ? मिडियामा मालिकले के गरेमा पत्रकारलाई टिकाउन सकिन्छ ?
— सवैभन्दा वढी भुमिका नै मिडिया मालिकको हुन्छ किन भने मिडिया संचालकहरुले कुनै योजना विना नै खाली मिडिया मात्र खोल्ने सोच बनाएको देखिन्छ । आफुलाई चाहिने जनशक्तीको लागि चाहिने आर्थिक स्रोत विनानै मिसडिया खोल्ने प्रकृती जिल्लामा वढ्दो छ । यसले गर्दा मिडियामा काम गर्नेहरुको श्रमशोषण मात्र भएको छैन । उनीहरुको उर्वर समय पनि त्यतीकै खेर गैरहेको छ । अहिले तपाइले हेर्न सक्नुहुन्छ मिडियामा काम गर्ने थुप्रै पत्रकारहरु पलाएन भएका छन विभिन्न व्यवसायमा जोडिएका छन । एकाध जानाले मात्रै जसोतसो यो पेशालाइ टीकाउने प्रयत्न गरिरेहेका छन । यही स्थिती रहने हो भने अव श्रमजीवी पत्रकार पाउन मुस्कील छ । यो समय युवाहरुको अत्यन्त आर्कषण वनेको यो पेशामा नया पुस्ता तपाईले मुस्किलैले एकध जना आको देख्नुहुन्छ ।

वास्तवमा संचार माध्यम राज्यको चौथो अंग हो । सरकार र नागरिक बीच पुलको काम गर्ने भनेकै यसमा काम गर्ने पत्रकारहरु हुन पत्रकारहरु नै भएनन भने समाजकता तिर जाला समाजको अवस्था कस्तो रहला यहाँ तमाम विकृती र विसंगतीहरु पनि वढेर जान संभावना छ ।

तसर्थ मिडियामा काम गर्ने वातवारण मिडिया संचलकहरुले वनाउनुपर्छ । श्रमजिवी ऐन पुर्णरुपमा कार्यान्वयन गर्नुपर्छ । सरकारले भरखर मात्रै नयाँ नया समाजिक सुरक्षा ऐन कार्यान्वयन गराउनुपर्छ । मिडिया खोल्नका लागी मात्र लगानी होइनकी यसमा काम गर्ने श्रमजीवीको वृती विकास, क्षमता अभिवृद्धीमा पनि लगानी गर्नुपर्छ । सवैभन्दा त मिडिया संचालकहरु श्रमजिवी मैत्री हुनुप¥यो यति भएपछि वल्ल यो क्षेत्रमा काम गर्ने वातवारण वन्छ । नभए आउने जाने मात्र हुन्छ । टिकेर काम गर्ने गुणस्तरीय काम हुन सक्दैन यसतर्फ मिडिया संचालकहरुको ध्यान जान जरुरी छ ।

> जिल्लामा काम गर्ने पत्रकारहरुले धेरै दुख गर्ने तर अवसर पाउने सवालमा भने पाउदैनन भन्छन नी यो कतिको सत्य हो ? यस्तो किन हुन्छ ?
— सवै कुरा पहुच नहो जिल्लामा रहेकाहरुको थोरैको मात्र केिन्द्रय मिडियासम्म पहुच हुन्छ । केन्द्रमा बस्नेहरुले वुझदैनन की जिल्ला छ र केन्द्रको अस्तित्व छ । जिल्लामा पत्रकारहरु छन र हाम्रो पत्रिका हाम्रो रेडियो हाम्रो टेलिभिजनका लागी विवधतायुक्त खुराक मिलेको छ विविधतायुक्त खुराकका लागी विवधतायुक्त पाठक स्रोता छन भन्ने कुरा केन्द्रीय तहमा वस्नेहरुले वुझदैनन काम वढी जिल्लामा वस्नेहरुले गर्नुपर्छ । यो विट त्यो वीट छैन जहाँतहीँ जस्तो सुकै परिस्थतिमा पनि समाचार दिनुपर्छ । तर, अव अवसर आउँछ अरु क्षेत्रजस्तै यहाँ पनि कामको मुल्याङकन भन्दा पनि नजिक र पक्षकोलाइनै अगाडी सार्ने अरु क्षेत्रको जस्तो प्रवृति यो क्षेत्रमा पनि छ ।

> तपाईले पत्रकारीता गर्न थालेको धेरै भयो । नयाँ आउनेहरुलाई पनि नजिकबाट नियाल्नुभएको छ ? पत्रकारीतामा डुब्ने, खोज्ने र यसैमा रमाउन चाहाना छन की नाई ?
— पछिल्लो पुस्तालाइ हेर्ने हो भने रेडियोमा आरजेका रुपमा आउने क्रम केही छ तर समाचारको वीटमा काम गर्नेहरु एकाध जान वाहेक देखिदैन । सवैले पेशागत ग्यारेन्टी पेशागत सुरक्षा आर्थिक सवलता होस नै भन्ने चाहान्छ । अझ नया पुस्ता आर्थिक रुपले वलियो हुन पाए तमाम रहर पुरा गर्ने विदेशिने चाहाना वढी राख्ने भएकाले यसमा रम्न डुव्ने भेटाउन सकिदैन हामीसँग काम गर्ने कयौ युवाहरु आर्थिक सवलता कै लागी विदेशिएको मैले मेरै आँखा अगाडी देखेकी छु । त्यसकारण यसमा रम्न चाहाना राख्ने कोही होला तर मुस्कलिलै पर्छ । विभिन्न संचार माध्यममा काम गर्ने जनशक्तीको अहिले पनि अभाव ंछ । जसोतसो काम चलाएका छन । त्यहा कोही कामका लागि आएजस्तो देख्दिन ।

> तपाईले पत्रकारीता गरेर पाएको, गर्व गर्न लाएक विषय के हो ?
— त्यही हो मान, सम्मान, इज्ज्त, प्रतिष्ठा प्ुरुस्कारहरु, कयौ सामाजिक आन्दोनको सफलता त्यही नहो ।

> यो पेसामा आएर ठिकै गरेछु जस्तो लाग्छ की बेकारमा आएछु जस्तो लाग्छ ? र, किन ?
— दुवै लाग्छ । किन भने यो पेशामा आएर मैले थुप्रै क्षेत्रहरुमा पहिलो महिला हुने अवसर पाएकी छु । समाजले दिने सम्मान प्रतिष्ठा, इज्ज्त सवै देख्दा राम्रो गरे जस्तो लाग्छ । तर वर्षसम्म काम गर्दा श्रमको मुल्य नपाउदा पेशाको कुनै ग्यारेन्टी नहुदा आर्थिक अभावका वीच दिनहरु गुर्जादा चाहि यो त जीवन धान्ने पेशा भन्दा पनि इज्ज्तका लागी गरिने पेशा रहेछ मध्यम वर्गीए हामी जस्ताका लागी होइन रहेछ जस्तो लाग्छ ।

> पत्रकारीता तपाई एउटा सफल व्यक्ति पनि हुनुहुन्छ ? के के गरियो भने सफल भैएला त ?
— हरेक पेशामा काममा दक्षता सर्मपण भाव लगनशीलता मिहिनेत अनुशासन धैर्यता सहनशीलता अनुशासन, आचरण, इच्छा शक्ति, परिस्थितीसँग सामाना गर्न सक्र्ने समाथ्र्य चाहिन्छ यो पेशामा अझ वढी चाहिीछ यति गरियो भने सफलता टाढा छैन ।

> पत्रकारीतामा आउन चाहाने नयाँ पुस्तालाई तपाईको केही सुझाव छ की ?
— पत्रकारीता आफै चुनौती पुर्ण पेशा हो, केही सिकेर केही वुझेर मात्र यो क्षेत्रमा आउनहोस, तपाई मिडिया खोज्दै आउनुभयो भने श्रमको मुल्य तपाइले कहिले पाउनु हुन्न । त्यसकारण केही सिक्नुहोस आफुलाई सक्षम वनाउनुहोस । तपाइले जति सक्नुहुन्छ अध्ययन गर्नुहोस । तपाइलाई मिडिया खोज्न आउने वातवारण वनाएर मात्र आउनुहोस । यो क्षेत्र एक किसिमको समाजसेवा जस्तो नै रहेछ । त्यसकारण तपाई समाजसेवामा रम्नेकी उमेरमा अरु केही गर्ने भन्ने सोचेर मात्र आउनुहोस । लहलहैमा रहर रहरैमा आउने भन्दा पनि मिडियालाई वुझेर आउनुहोस ।
समय मुल्यवान छ जे गर्नु छ समय छदा उमेर छदा जाँगर छदानै हो । तपाई जहा रम्न सक्नुहन्छ तपाइको जहा चाहाना हो त्यही क्षेत्र मै सुरुदेखि नै लाग्नुहोस भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया