नमुना घरको भुकम्प प्रतिरोध परिक्षण

दाङ, माघ । भुकम्प प्रतिरोधका लागि बनाईएको नमुना घरको घोराहीमा प्रर्दशन गरिएको छ । घोराही उपमहानगरपालिकामा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले नमुनाको रुपमा बनाईएको भुकम्प प्रतिरोधी घर र सामान्य घरलाई कृत्रिम कम्पन पैदा गरि परिक्षण गरेर देखाएको थियो । परिक्षणमा सामान्य घर पुर्णरुपमा क्षति पुगेको थियो भने भुकम्प प्रतिरोधात्मक घरमा सामान्य क्षति मात्रै पुगेको देखाईएको थिया ।

भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न ५ देखि १० प्रतिशत खर्च बढि लागे पनि सम्पुर्ण जीवनभरका लागि ढुक्क हुने गरी घर बनाउन सुझाव दिनुभयो । राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनको सवालमा देशकै उत्कृष्ट बनेको घोराही उपमहानगरपालिकामा बन्दै गरेका घरहरु भुकम्प प्रतिरोधात्मक नै बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका ईन्जिनिएर रामधन श्रेष्ठले २०६९ साल देखि राष्ट्रिय भवन निर्माण संहिताको कार्यान्वयन सुरु गरेको बताउनुभयो । अहिलेसम्म १ हजार ७ सय ८६ वटा घरहरु भुकम्प प्रतिरोधी बनेको जानकारी दिदै उहाँले घरधनीहरुमा विस्तारै चेतनामा परिवर्तन आउन थालेको बताउनुभयो । उहाले सन् २०१२ मा दुई प्रतिशत, सन् २०१४ मा ५० प्रतिशत र सन् २०१६ मा ९८ प्रतिशत घरहरुको भुकम्प प्रतिरोधी बनाउने गरी नक्सापास भएको बताउनुभयो ।

भवन निर्माण सम्बन्धी नयाँ कानुन

प्रदेश नं. पाँचका भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशले नयाँ कानुन निर्माण गरेको जानकारी गराउँदै अबको केहि दिनमा प्रमाणीकरण हुने जानकारी गराउनुभयो । उहाले कानुनमा ४ प्रकारका घरहरुको ब्याख्या गरेको भन्दै क वर्गको घर निर्माणका लागि प्रविणता प्रमाणपत्र प्राप्त गरेको ईन्जिनिएरले मात्र पास गरेको हुनुपर्ने उल्लेख भएको बताउनुभयो ।

घरहरुको निर्माणका लागि नक्सापास गर्ने, भए नभएका अनुगमन गर्ने, निर्देशन दिने र आबस्यक परे भत्काउन सक्ने अख्तियार स्थानीय तहलाई दिने गरी कानुन बनेको उहाँको भनाई छ । ‘विगतमा कानुनहरु बने तर त्यसको कडाईका साथ कार्यान्वयन हुन भने सकेनन् अहिले तिनै तहमा विभिन्न कानुनहरु निर्माण भएका छन्, त्यसको कार्यान्वयनमा कडाई गर्नै पर्छ ।’ मन्त्री चौधरीले भन्नुभयो, ‘दिगो विकास हामीले खोजेका छौँ, त्यसको लागि सरकारले निर्माण गरेका कानुनहरुको कार्यान्वयन बलियो गनाउने स्थानीय सरकार तथा प्रशासनले हो ।’

मन्त्री चौधरीले पाँच वर्षभित्र प्रदेशले विकासमा फड्को मार्ने बताउनु भएको छ । उहाले प्रदेशमा २ हजार ६ सय किलोमिटर बाटो कालोपत्रे भएकोमा पाँच वर्षभित्र बढाएर ११ हजार किलोमिटर पु¥याउने बताउनुभयो, ११ हजार किलोमिटर धुले सडकलाई २२ हजार किलोमिटर पु¥याउने, अहिले ६० प्रतिशत जनताले मात्रै शुद्ध खानेपानी प्रयोग गर्दै आइरहेकाले पाँच वर्षमा सत प्रतिशत पु¥याउने लक्ष्य राखेर मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

प्रदेश सरकारको विकासका आधारहरु मध्य पर्यटन, कृषि र उद्योग प्रमुख रहेको बताउँदै उहाले पाँच वर्षमा प्रदेशले विकासमा फड्को मार्ने बताउनुभयो । दाङ जिल्लामा अथाह सम्भावना भएपनि सिंचाईको अभाव रहेको उहाको भनाई छ । उहाले माडीलाई डाईभर्सन गरेर दाङमा ल्याएर खानेपानी र सिंचाईमा उपयोग गर्न सकिने समेत बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराहीलाई सुरक्षित नगरको रुपमा विकास गर्नका लागि सम्पुर्ण नगरबासीहरुले सुरक्षित घर निर्माण गरेर सहयोग गर्न आग्रह गर्नुभयो । पुराना घरहरुलाई प्रबलीकरण गर्ने उपायहरुको प्रयोग गर्न समेत मेयर चौधरीले आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया