घोराहीमा फेरी अर्को कृषि हाट बजार संचालनमा

दाङ,१३ साउन | घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा कृषि हाटबजार संचालनमा आएको छ । संघिय सरकार र घोराही उपमहानगरपालिकाको लगानीमा घोराही १५ को अमृत टोलमा निर्माण गरिएको कृषि हाटबजारको सोमवार उद्घाटन गरिएको हो । बजारमा निर्माण भएका टहरा एवं भवनको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले उद्घाटन गरेका हुन् ।


कृषि हाट बजारको उद्घाटन गर्दै पाण्डेले यसको स्तरउन्नति गर्दै लैजाने प्रतिवद्धता जनाए । कृषि हाट बजारमा अस्थाई रूपमा केही पसलहरू र गाँउबाट किसानहरूले विहानको समयमा बेच्न ल्याउने किसानहरू बस्ने बताए । तरकारी व्यवसायीहरूले सरसफाई लगायत ग्राहकहरूको माग अनुसार कार्य गर्न अनुरोध पनि गरे ।


बजारको चोकचोकमा खुल्ला रूपमा हुने तरकारी पसलहरूलाई व्यवस्थित गर्नकालागी २०७४ भदौबाट अमृत टोलमा हाटबजारको रूपमा सुरू गरिएको थियो । जसलाई व्यवस्थित गर्नकालागी टहराहरू निर्माण गरिएको कृषी हाटबजार व्यवस्थापन समितिका सचिव सुरेश केसीले जानकारी दिए ।


बजारका सडकहरु छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थाले पछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरी अर्को तरकारी बजार बनेको स्थापना गरिएको हो । घोराहीका वडा नम्वर १४ नयाँ बजारमा विगत १५ बर्ष देखि तरकारी हाट बजार संचालनमा छ । तर बजार, जनसंख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसके पछि अर्को तरकारी बजार बन्न थालेको हो । बजारको चोक र गल्लीमा हुने तरकारी र फलफुलको व्यापारलाई व्यवस्थित पार्नको लागि घोराहीमा फेरी अर्को तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ ।

घोराहीको घरेलु तथा साना शिल्पकला उद्योगको करिव एक विगाहा सरकारी जग्गामा उक्त कृषि हाट बजार निर्माण भएको हो । संघिय सरकारको तराई मधेश समृद्धी कार्यक्रम अन्तरगत आएको ५० लाख र घोराही उपमहानगरपालिकाको करिव ८ लाख रुपैँयामा कृषि हाट बजार बन्न लागेको हो ।

घोराही उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठका अनुसार उपमहानगरको आफ्नै जग्गा नभएको कारण अस्थायी रुपमा टिन, फलाम र केही सिमेन्टेड टहरा बनाइएको छ ।

कृषि हाट बजार निर्माणको रेखदेख गरिरहनुभएका इन्जिनिएर श्रेष्ठले अहिले खुल्ला आकासमुनि बसेर तरकारीको व्यापार गरिरहेकाहरुलाई व्यवस्थित गर्ने प्रयास मात्र गरेको बताउछन् ।

‘अहिले करिव ५८ लाख बजेट थियो । त्यसले सबै संरचना निर्माण गर्न पुगेन ।’ उनले भने ‘आगामी बर्ष पनि बजेट आयो भने यसलाई थप व्यवस्थित गरिने छ ।’ उनका अनुसार तरकारी हाट बजारमा अझै धेरै निर्माण सामाग्री बन्न बाँकी रहेको छ । पछिल्लो चरणमा तारवार, घामपानीबाट रोक्ने घर, सार्वजनिक शौचालय, कार्यालय लगायतका निर्माणको काम मात्र हुन लागेको छ ।

हाट बजारको पश्चिम तर्फ २० र दक्षिण तर्फ १७ गरि ३७ वटा तरकारीका स्टलहरु निर्माण भएका छन । तरकारी बजारमा कर्मचारी राख्ने, सरसफाई गर्ने लगायतका काम भने वडा नम्वर १५को अमृत टोल विकास संस्थाले गरिरहेको छ ।

हाट बजार निर्माण उपभोक्ता समितिका संयोजक केशवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य एवं कृषि हाट बजार व्यवस्थापन समितिका संयोजक दिलीप डिसी, अमृत टोल विकास संस्थाका अध्यक्ष तुलसा बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

उपभोक्ता समितिका कोषाध्यक्ष विश्वमाया शाहको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण उपभोक्ता समितिका सचिव नेत्रप्रकाश पाण्डेले गर्नुभएको थियो । ५३ लाख ३५ हजार २ सय ३८ रूपैयाको लगानीमा हाट बजारमा ३७ वटा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया