विश्व बाघ दिवस आजः कस्तो छ नेपालमा बाघको अबस्था?

आज (सोमबार) संसारभर विभिन्न कार्यक्रम गरेर विश्व बाघ दिवस मनाइँदै छ। ‘पर्यापर्यटन प्रवर्धनका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुखको सम्मेलनले विश्वमा बाघको संख्या दोब्बर पु¥याउने संकल्प गरेको थियो। सो संकल्पअनुसार नेपालले बाघ संरक्षणमा उल्लेख्य प्रगति हासिल गरेको छ। यो १० वर्षको अबधिमा नेपालमा पाटे बाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेको संरक्षणकर्मीहरुले बताएका छन्।

यही अवस्था रहे नेपाल बाघ संरक्षणमा विश्वकै पहिलो देश बन्ने अपेक्षा गर्न सकिने उनीहरुको भनाई छ। प्रतिवद्धता अनुसार अब नेपालले ७ वटा बाघको संख्या बढाउन सके नेपाल बाघ संरक्षण गर्ने पहिलो देश हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले बताए।

गणना गर्दा दुई वर्षमाथिका बयस्क बाघको मात्रै गणना गरिन्छ। नेपालमा डमरुको संख्या पनि धेरै छ। गत वर्ष गणना गर्दा नेपालका विभिन्न निकुञ्ज र आरक्षमा डेढ दर्जनभन्दा बढी डमरु फेला परेका थिए।

सरकारी तथ्यांक अनुसार बाँकेमा २१, चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बयस्क बाघ छन् ।

२०१० को पिर्टसबर्ग सम्मेलनताका विश्वमा बयस्क बाघको संख्या ३२ सयको हाराहारीमा थियो। विश्वका १३ मुलुकमा मात्रै बाघ पाइन्छ।

वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले बाघको बासस्थान सन्तुलित गर्न उसको आहारा प्रजातिको संख्या सुधार र आहार प्रजातिको चरिचरण क्षेत्र व्यवस्थित गर्नुपर्ने बताए।

बाघ संरक्षणका लागि सरकारले बार्षिक पाँच करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गर्दै आएको छ।

चालु आर्थिक वर्षमा बाघ संरक्षणका लागि साढे पाँच करोड बजेट विनियोजन भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया