६५ वर्षीय मानबहादुर प्रहरीको कब्जामा

देउखुरी, साउन १३ । देउखुरीको राजपुर गाउँपालिका वडा नं. ४ राईनियाकी सुस्तमनस्थिती भएकी एक बालिकाले बच्चा जन्माएपछि गणतन्त्र दैनिकले निरन्तर समाचार लेख्दै आएको छ । ९ महिना पहिले करणीमा परेकी १४ वर्षिया बालिकाले बच्चा जन्माउँदा समेत न्याय पाउन नसकेकी सकेकी थिईनन् । तर गणतन्त्र दैनिकले समाचार लेखेपछि उक्त बालिकालाई करणी गरेको अभियोगमा स्थानीय एक बृद्धलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाले राजपुर गाउँपालिका वडा नं. ४ रोईनिया निवासी ६५ वर्षिय मानबहादुर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अबैध रुपमा बच्चा जन्माएकी ती बालिकाले आफुलाई करणी गरेको भन्ने बारेमा समेत बताउन नसक्ने अबस्थामा रहेकी छिन् । तर बालिकाले सन्तान जन्माएको समाचार प्रकाशित भएपछि स्थानीय जनप्रतिनिधि, प्रहरी र अधिकारकर्मीहरुले चासो दिएका थिए । अनुसन्धानकै क्रममा स्थानीय ६५ वर्षिय मानबहादुर चौधरी आरोपित भएपछि उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरीराज भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय अधिकारकर्मीहरुको सहयोगमा पीडित परिवारले प्रहरी समक्ष जाहेरी दिएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । बृद्धको चालचलनको बारेमा परिवारलाई शंका रहेछ, त्यसको आधारमा उहाँहरुले हामीलाई खबर गर्नुभयो, हामीले आरोपितलाई नियन्त्रणमा लियौँ, दोषीले घटना स्वीकार गरेको छ ।’ भण्डारीले बताउनुभयो ।

अनुसन्धानकै क्रममा नियन्त्रणमा रहेका चौधरीले त्यो बच्चा आफ्नै भएको स्विकार गरेको प्रहरीले बताएको छ । चौधरीले ९ महिना अघि ती सुस्तमनस्थिती भएकी १४ वर्षीया बालिकालाई ललाईफकाई जंगलमा लगेर करणी गरेको बयान दिएका छन् । प्रहरीले थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको जानकारी दिएको छ । चौधरीले बोलेका कुराले मात्र आधिकारिक पुष्टि हुन नसक्ने भन्दै थप १० दिनको म्याद थप गरि कडा अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । ‘अदालतमा पुगेपछि पिडकले कुरा फेर्न सक्छन्, त्यसैले कडा अनुसन्धान गर्न लागिएको हो ।’ प्रमुख भण्डारीले भने ‘पुष्टी भए १४ वर्षसम्मको जेल सजाए हुने व्यवस्था छ ।’

जेल सजाएसँगै पीडित पक्षलाई क्षतीपुर्ति भराउने र बच्चाको पालन पोषणमा लाग्ने खर्च अभियुक्त चौधरीले व्यहोर्नुपर्ने कानुनी प्राबधान रहेको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । सुनस्तमनस्थितीको बालिकामा जन्मिएको बच्चालाई स्याहार, सुसार गर्ने चेतना छैन । राम्रो सँग बोल्न नसक्ने, अरुले बोलेको कुरा ठम्याउन नसक्ने बालिका अहिले पनि गाईको गोठमा बस्दै आएकी छिन् । चरम आर्थिक अभाव र अशिक्षाका कारण सुत्केरी अवस्थामा ख्याल गर्नुपर्ने स्वास्थ्य सेवा तथा सुविधा बालिकाले पाउन नसकेको घरपरिवारले बताएको छ ।

तपाईको प्रतिक्रिया