दाङमा खेल संरचना धमाधम बन्दै

दाङ, साउन १२ । खेल पूर्वाधारमा राज्यको लगानी बढेसँगै खेलाडीहरु उत्साहित बनेका छन् । स्थानीय, प्रदेश र संघ सरकारको लगानीमा जिल्लाका वजारदेखि गाउँसम्म खेल पूर्वाधार निर्माण हुँदा आफूहरुमा उर्जा प्राप्त भएको खेलाडीहरु बताउँछन् ।

स्थानीय तहले हरेक वर्ष खेल पूर्वाधारमा वजेट विनियोजन गर्दा जिल्लाका सबैजसो स्थानमा खेलतर्फको आकर्षण बढ्दै गएको फुटबल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा जिल्लामा ठूलादेखि सानासम्म गरी आधादर्जन बढी फुटवल मैदान निर्माण गरिएको भन्दै अध्यक्ष श्रेष्ठले मैदानको निर्माणसँगै अब खेल क्षेत्रको विकास गर्नतर्फ लाग्ने बताउनुभयो ।

जिल्लाको बेलझुण्डी रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको फुटवल मैदान निर्माण भएको भन्दै अध्यक्ष श्रेष्ठले अब जिल्लामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न सकिने भएको बताउनुभयो । ‘हामी फुटवल खेल्दा मैदानको अभावमा विभिन्न समस्या झेल्नुपर्दथ्यो । खेतका आली भत्काएर फुटवल खेल्नुपर्दथ्यो । मैदान धमाधम बन्दा अहिले बजारदेखि गाउँसम्म फुटवलको माहोल निर्माण भएको छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै बढ्दो खेल पूर्वाधारको विकासले हामीलाई उत्साहित बनाएको छ ।’

खेल पूर्वाधारको विकासले फुटवल मात्रै नभई क्रिकेट खेलाडीहरु पनि उत्साहित भएका छन् । क्रिकेट मैदानको अभावमा क्रिकेटको अपेक्षित विकास गर्न नसकेको अवस्थामा चालु आर्थिक वर्षमा आधा दर्जन बढी क्रिकेट मैदान निर्माण हुँदा आफूहरुमा उत्साह थपिएको खेलाडीहरु बताउँछन् । क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाले चालु आर्थिक वर्षमा जिल्लामा आधा दर्जन बढी क्रिकेट मैदानको निर्माण भएको बताउनुभयो ।

जिल्लाको लमही, घोराही, वंगलाचुली, बबई, राजपुरलगायतका गाउँपालिकामा चालु आर्थिक वर्षमा क्रिकेट मैदान निर्माण भएको अध्यक्ष मजगैयाले जानकारी दिनुभयो । घोराही गुलरियामा प्रदेश सरकारको ५० लाख र युवा तथा खेलकुद मन्त्रालयको २० लाख गरी ७० लाखको वजेटमा क्रिकेट मैदान निर्माणको काम भइरहेको मजगैयाको भनाइ छ ।

त्यस्तै प्रदेश सरकार र वंगलाचुली गाउँपालिकाको आन्तरिक वजेट गरी कुल १ करोडको लागतमा वंगलाचुलीमा पनि क्रिकेट मैदान निर्माण गरिएको छ । त्यस्तै एक दशकदेखि निर्माण प्रारम्भ भएको लमही क्रिकेट मैदानमा प्रदेश सरकारको ७० लाख वजेटमा इण्डोर प्राक्टिस संरचना निर्माण गरिएको छ ।

त्यस्तै राजपुर गाउँपालिकाको वडानम्वर–५ मा प्रदेश सरकारको ५० लाख वजेटमा खेल मैदान निर्माण भएको अध्यक्ष लोकबहादुर केसीले जानकारी दिनुभयो । उता पश्चिम दाङको ववई गाउँपालिकाले पनि खेल पूर्वाधारका लागि ५६ लाख खर्च गरेको जनाएको छ । प्रदेश सरकारको ३६ लाख वजेटमा पुरन्धारा खेल मैदान, गाउँपालिकाको आन्तरिक १० लाख वजेटबाट हंसपुरमा क्रिकेट मैदान र पञ्चकुलेमा १० लाखको लागतमा खेल मैदान निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तैगरी युवा तथा खेलकुद मन्त्रालयको २६ करोड वजेटबाट वेलझुण्डीमा प्याराफिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको फुटवल रङ्गशाला पनि यसै वर्ष निर्माण भएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका–१६ करौंती डाँडामा ५० लाखको लागतमा नेत्रलाल अभागी रङ्गशालाको निर्माण प्रारम्भ भएको छ ।

यसरी जिल्लामा खेल पूर्वाधारको विकास भइरहँदा उत्साहित भएका खेलाडीहरुलाई खेल पूर्वाधारको संरक्षणको विषयले चिन्तित तुल्याएको छ । राज्यको लगानीमा पूर्वाधार निर्माण भएसँगै तिनको संरक्षणका लागि निश्चित योजना नबन्दा पूर्वाधार अलपत्र पर्ने गरेको भन्दै क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले पूर्वाधारको संरक्षणको जिम्मा सम्बन्धित संघहरुलाई दिनुपर्ने बताउनुभयो । ‘स्थानीय तहले खेल पूर्वाधारको संरक्षणका लागि योजना बनाएर सम्बन्धित संघसंगठनहरुलाई जिम्मा नदिदासम्म खेल पूर्वाधारको विकास हुन सक्दैन’, अध्यक्ष मजगैयाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया