सीप सिकेर सक्षम बन्दै युवाहरु

नवीन अभिलाषी
दाङ, असार २६ । तुलसीपुरका २० जना युवाहरुलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने तालिम प्रदान गरिएको छ । मिड वेस्टर्न टेक्निकल भोकेशनल ट्रेनिङ एण्ड रिसर्च ईन्स्टिच्युट घोराहीले प्रदेश नं. पाँचको सामाजिक विकास मन्त्रालय व्यवसायीक तथा सीप विकास तालिम केन्द्रको आर्थिक सहयोगमा तालिम दिईएको छ ।

२० जना स्थानीय युवाहरुले ३९० घण्टे दोस्रो तहको मेसन तालिम प्रदान गरेको मिड वेस्टर्न टेक्निकल भोकेशनल ट्रेनिङ एण्ड रिसर्च ईन्स्टिच्युट घोराहीका अध्यक्ष बसन्त श्रेष्ठले बताउनुभयो । युवाहरुले भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सक्ने अबस्थामा पुगेको उहाँको भनाई छ । उनीहरुलाई समय सापेक्ष आत्मनिर्भर बनाउने उदेश्यले तालिम दिएको र सिटिईभिटीले लिने परिक्षामा उनीहरुले सहभागीता जनाउने र आफुहरुले सहयोग गर्ने श्रेष्ठले बताउनुभयो ।

सामान्य रुपले घर निर्माण गर्दै आउनु भएका युवाहरुलाई अहिलेको नयाँ टेक्निकल जमाना अनुसार भुकम्प प्रतिरोधी नै बनाउनु पर्छ र त्यससम्बन्धी तालिम प्रदान गरेको प्रशिक्षक हिक्मत शाहीले बताउनुभयो । तालिम लिएका युवाहरुलाई प्रमाणपत्र वितरण गर्दै व्यवसायीक तथा सीप विकास तालिम केन्द्र तुलसीपुरका प्रमुख सुदर्शन अधिकारीले सिकेको सीपलाई आफ्नो क्षमता अनुसार व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

साथै तालिमको विहिबार एक कार्यक्रमको आयोजना गरेर समापन गरिएको छ । तुलसीपुर उपमहानगरापलिका वडा नं. १८ दुधरास स्थित जनकल्याण माविमा कार्यक्रम भएको थियो । मिड वेस्टर्न टेक्निकल भोकेशनल ट्रेनिङ एण्ड रिसर्च ईन्स्टिच्युट घोराहीका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता तथा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र तुलसीपुरका प्रमुख सुदर्शन अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा तालिममा सहभागी हरीबहादुर चौधरी र प्रेमबहादुर नेपालीले ३९० घण्टे तालिमले विगत देखि गर्दै आएको कार्यमा थप सीप र उत्साह मिलेको बताएका थिए । कार्यक्रममा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र तुलसीपुरका रामबहादुर खड्का, मिड वेस्टर्न टेक्निकल भोकेशनल ट्रेनिङ एण्ड रिसर्च ईन्स्टिच्युटका भिम गिरी, अमर अधिकारी लगाएतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया