नेपालगञ्जको बाटिका होटलमा कुटिए तीन पत्रकार


नेपालगञ्ज ।  बाँकेमा नेपालगञ्जमा क्रियाशिल तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलका कर्मचारीहरुले दुव्र्यवहार सहित हातपात गरिएको छ । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार भिम पौडेल र जागेश्वर चौधरीलाई बुधबार दिउसो होटल परिसरमा कुटपिट गरिएको हो ।

होटलका कर्मचारीले कुटपिट गर्नेक्रममा एभिन्यूज टेलिभिजनको क्यामरा र पत्रकारहरुको मोवाईल समेत क्षतिग्रस्त भएको छ । केही समयपहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराईदिने भन्दै युवासँग रकम लिएको समूहलाई बाँके प्रहरीले ३५ लाख रुपियाँ सहित पक्राउ गरेको थियो । सोही समाचारको पिटिसी लिनेक्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई हातपात र क्यामरा खोसेका थिए ।

उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै केही समय आफ्नो नियन्त्रणमा समेत राखेका थिए । यसैबीच बाँकेका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बीरबहादुर ओलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेलाई कडा कारवाहीको माग गरेका छन् । प्रहरी उपरीक्षक ओलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्का सहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए । यसैबिच पत्रकार कुटिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले आपत्ती जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै बाँके शाखाले घटनाका दोषीलाई कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । शाखा सचिव तिलक गाउँलेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, समाचार संकलन गर्न गएका पत्रकारहरु माथी यसरी एक्कासी आक्रमण गरि सञ्चार सामाग्री समेत तोडफोड गरिनु सिंगो प्रेस जगतमाथीको आक्रमण भएको हाम्रो ठहर छ । होटल बाटिकामा भएको यो घटनाले बाँकेमा रहेका सम्पूर्ण पत्रकारहरु त्रसित भएको विप्ज्ञतीमा उख्लेख गरिएको छ ।

सत्य तथ्य पत्ता लगाई घटनामा संग्लनहरुलाई कडा भन्दा कडा कारबाहीका साथै तोडफोड भएका सञ्चार उपकरणको क्षतिपुर्ती र निर्बाध रुपमा समाचार संकलनको बातावरणका लागी पत्रकार महासंघले सम्बन्धीत पक्षसँग जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया