‘सिकलसेल एनिमिया, पहुँच बाहिरको रोग’


रीत लामा

दाङ,२२ असार | गत असारको दोस्रो साता मात्रै घोराहीका विभिन्न स्थानमा गरिएको परिक्षणमा ५३ जना व्यक्तिमा हँसिया रक्तकोष रोग (सिकलसेल एनिमिया)का जिवाणु भेटिए । नगरका तीन स्थानमा गरिएको रगत परिक्षणबाट ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखिएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तिले जानकारी दिए ।

गत असार १२, १५ र १६ गते रामपुर, सौडियार र नारायणपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा मा ३ सय ४३ जनामा परिक्षण गरिएको थियो । जसमा ५३ जनामा सिकलसेल एनिमियानको लक्षण देखिएको थियो ।


सिकलसेलको लक्षण पुरुष भन्दा धेरै महिलामा देखिएको छ । महिलाको संख्या ४१ र पुरुषको संख्या १२ रहेको छ । त्यसमा पनि २० बर्ष देखी ५९ बर्ष उमेर समुहका व्यक्तिमा सिकलसेलको लक्षण बढी देखा परेको छ । घोराही उपमहानगर स्वास्थ्य शाखाले सिकलिङ अर्थात प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा इलेक्ट्रोप्रोसिस जाँचका लागि रिफर गरिने संयोजक घर्तीले जानकारी दिए । विरामीहरुको उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने भएको छ ।

यस भन्दा अगाडी जिल्लाका विभिन्न ठाउँमा करिव १०० बढी यस रोगका विरामी भेटिएका छन् । विशेषगरी जिल्लामा भेटिएका सिकलसेल एनिमियाका रोगीहरुलाई घोराही उपमहानगरपालिकाले मेयर रक्त संचार केन्द्रको स्थापना गरि निशुल्क रक्त उपलब्ध गराउने, उनीहरुलाई रोजगार र आयआर्जका कार्यक्रम संचालन गर्ने एवम उपचार खर्च व्यहोर्ने जस्ता कार्यक्रम अगाडी सारेको छ ।

एक जटिल रोगको सुचिमा राखिएको सिकलसेल एनिमिया रोगको उपचारको लागि संघिय सरकारले समेत प्रति व्यक्ति एक लाख रुपैँया बरावरको उपचार निशुल्क दिदै आएको छ ।

सामान्यतया जीवित प्राणीका रक्तकोष गोलाकार हुन्छन् । स्वाभावैले मानिसका रक्तकोष पनि गोलाकार नै हुने भयो । तर हँसिया रक्तकोष रोग(सिकलसेल एनिमिया) यस्तो रोग हो जसले मानिसको रक्तकोषलाई अर्धगोालकार अर्थात हँसिया आकारको बनाइदिन्छ ।

विभिन्न अध्ययन र चिकित्सकहरुको भनाईमा जव शरिरका रक्तकोष बाङ्गो र लाम्चो बन्दै जान्छन् तव शरिरमा अत्यधिक दुखाई सुरु हुन्छ । रक्तकोषले आकार परिवर्तन गर्दैजादाँ छाति, हात खुट्टाका औलामा अत्यधिक दुखाई सुरु हुन्छ । ज्वरो आउने, धड्कन बढ्ने र व्यक्तिलाई थकाइको महसुस हुन्छ ।

विकलाङ्ग रक्तकोषिका कै कारण रक्तअल्पता, जन्डिस जस्ता रोगहरु देखिने, शारिरिक विकासमा अवरोध देखिने, घाउहरु देखापर्ने, पक्षघात हुने जस्ता समस्या देखा पर्छन् ।

उपमहानगरपालिकाका डा.प्रभास रिजालका अनुसार सिकलसेलको निदान गर्न समय र खर्च धेरै लाग्छ । ‘हँसिया रक्तकोष पत्ता लगाउन छाला, रगत र हेमोग्लोविनको जाँच गर्नुपर्छ ।’ उनले भने ‘एउटा व्यक्तिको जाँच गर्न कम्तिमा आधा घण्टा लाग्छ र जाँच गर्ने मेसिन पनि निकै महंगो पर्छ ।’ त्यस्तै यस रोग लागेको व्यक्तिलाई निको पार्नको लागि बोन म्यारो प्रत्यारोपण भएको र जुन निकै जोखिम पुर्ण र नेपालमा सम्भव नहुने उनी बताउछन् ।

यहाँका अस्पतालमा हुने उपचार भनेको रोगको लक्षणको आधारमा गरिने उपचार नै भएको डाक्टर रिजालको भनाई छ । विशेष गरि रोगीको शरीरमा रगतको कमि भएमा रगत चढाउने, स्लाईन चढाउने, दुखाई ठिक पार्ने औषधी दिने गरिन्छ ।

पछिल्लो समय हसिँया रक्तकोष रोग थारु समुदायमा मात्रै देखिने भन्ने एक प्रकारको हल्ला फैलिएको छ । विभिन्न निकायले पनि थारु समुदायलाई लक्षित गरी रोग परिक्षण, सहयोग जस्ता कार्यक्रम ल्याएका छन् । तर यो सहि नभएको विभिन्न अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया