इंग्ल्यान्डविरुद्ध नयाँ जर्सीमा उत्रिँदै भारत

काठमाडौं–  भारतीय क्रिकेट टिम आइतबार इंल्यान्डविरुद्ध नयाँ जर्सीमा उत्रिँदैछ। भारतले नयाँ जर्सी ‘होम एन्ड अवे’को नियमानुसार पहिरिनेछ। किनकी आयोजक इंग्ल्यान्डको जर्सीसमेत भारतकै जर्सीसँग मिल्दोजुल्दो रंगको भएकाले भारतको जर्सी परिवर्तन भएको हो।

नयाँ जर्सीमा पछाडिको भाग पहेंलो र काँधको भाग केसरी रङको छ। नयाँ जर्सी भारतीय समर्थक मात्रै होइन, खेलाडीलाई समेत चित्त बुझेको छैन। भारतीय कप्तान विराट कोहलीले एकदिनका लागि जर्सी ठिकै रहेको बताएका छन्। उनले भने, ‘एकदिनका लागि ठीक छ। तर, सबै खेलमा जर्सी बदल्नु भने ठीक होइन। किनभने हाम्रो रङ निलो हो।’

भारतीय आयल निगमको जस्तो रङ भन्दै समर्थकहरुले ट्विट गरिरहेका छन्। यही जर्सीका कारण शनिबार ‘ह्यासट्याग पेट्रोल’ ट्रेन्डिङमा समेत आएको थियो।

आज हुने खेलमा इंग्ल्यान्ड भारतविरुद्ध गर वा मरको अवस्थामा उत्रिँदैछ। श्रीलंका र पाकिस्तानसँग अप्रत्याशित हार बेहोरेको इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय गर्न भारतसँगको खेल जित्नुपर्नेछ। यसपछि न्युजिल्यान्डसँग खेल्नुपर्ने भएकाले इंग्ल्यान्डलाई सेमिफाइनलको यात्रा सकसपूर्ण बनेको छ।

कार्तिक वा पन्तको सम्भावना

भारतीय टिम राम्रो फर्ममा छ। ६ खेलमा अपराजित रहेको भारतका बलरहरुले नामी ब्याट्सम्यानलाई पनि मुस्किल पारिरहेका छन्। त्यसैगरी ब्याटिङ लाइनअप पनि राम्रो फर्ममा छ।

इंग्ल्यान्डसँगको जितले भारतलाई सेमिफाइनल यात्रा तय गराउनेछ। त्यसैले ब्याटिङ लाइनअप अझै बलियो बनाउनु पर्ने देखिएको छ। किनकी इंग्ल्यान्डमा ब्याट्सम्यान चल्दा भारतलाई चेस गर्ने मुस्किल आंकडा बनाउन सक्छन्। विगतका खेल हेर्दा चार नम्बरमा ब्याटिङ गरिरहेका विजय शंकर असफल देखिएका छन्। त्यसैले यो महत्वपूर्ण खेलमा  दिनेश कार्तिक वा ऋषभ पन्तमध्ये एकलाई मैदानमा उतार्ने अनुमान गरिएको छ।

भारतका अग्रपङ्तिका ब्याट्सम्यानले जारी विश्वकप धानिरहेका छन्। मध्यक्रमका महेन्द्र सिंह धोनी र केदार जाधवले समेत राम्रो प्रदर्शन गरिरहेका छैन्।

 

 

नेपाललाइभबाट

तपाईको प्रतिक्रिया