सडकमा गाई कि सवारी साधन ? (फोटो फिचर)

जीतसागर जी.एम.।
तुलसीपुर, १२ असार । सडक तथा बजारमा सवारी साधनको चाप दिनप्रतिदिन जति बढिरहेको छ, त्यनि नै रुपमा छाडापशु चौपायाको संख्या पनि थपिने गरेको छ । बजारका चोक होस् या गल्लीमा छाडा पशुचौपायाको चापले सवारी आवागमनमा त समस्या हुने गरेको छ नै चोकचोकमा बेच्नका लागि राखिएका तरकारीमा पनि छाडा चौपायले बिगबिगि मच्चाउने गरेका छन् ।

लामो समय भयो बजारमा छाडा पशुचौपायाको संख्या बढेको तर…. न….. सम्बन्धित चौपाया धनिले आफ्ना पशुचौपाया लैजान्छ न त स्थानीय सरकारले नै यसको व्यवस्थापनमा ध्यान दिएको छ ।

छाडा पशुचौपायले बजारका चोक तथा सडकमा रहेको फुटपाथमा व्यवयाय गर्ने व्यवसायी बढी मारमा पर्ने गरेका छन् । बजारमा आएको पशुचौपायले आफुहरुले बेच्नका लागि राखेको तरकारी खाँदा हैरानी खेप्नुपरेको व्यवसायी अब्दुल रहिमले बताए । ‘खै कसका चौपाया हुन्, दिनदिनै हामीहरुको नोक्सानी गरिदिने गरेको छ, हामीले त जति भगाएपनि आउन छोड्दैन् चौपाया’ उनले भने– ‘यस्ता छाडा गाईवस्तुको लागि व्यवस्थापन गर्ने निकाय नै छैन् कि क्या हो ।’

खुल्ला रुपमा पशु चौपाया छाडा छोड्ने काम रोकिनुको साटो दैनिक बढ्दै जाँदा दाङका मुख्य बजार तथा सडक लगाएतका स्थानमा दुर्घटनाका जोखिम बढ्न थालेको छ भने बजारको सुन्दता पनि घट्दै गएको छ । छाडा पशु चौपायाको व्यवस्थापन प्रभावकारी नहुँदा सडक छेउछाउका व्यापारी, पैदलयात्री , सवारी चालक लगाएतलाई समेत समस्या बनाएको छ ।

बजारका विभिन्न स्थान तथा सडक आसपासमा हुने पशुचौपायाले पैदल यात्रुलाई पनि सास्ती दिने गरेको छ भने सडक चल्ने सवारी साधनको आवागमनलाई समेत समस्या बनाउने गरेको छ ।

घोराही लमही तथा तुलसीपुर तथा घोराहीमा दैनिक १ हजार भन्दा बढी सवारी साधन गुड्ने गरेका छन् । बजारमा दैनिक रुपमा बढ्दै गइरहेको सवारी साधनलाई छाडा पशुचौपाया चुनौतीको पर्खाल भएका छन् । तुलसीपुर तथा घोराहीमा बजारमा छाडा पशुचौपायाले उपमहानगरको गरिमा समेत घटाएको छ र्। उपमहानगर भएपछि के–के हुन्छ होला भनेको थिएँ तर छाडा पशुचौपायाले झनझन् दिनप्रतिदिन बजार दुर्गन्धीत बन्दै गएको स्थानिय निमबहादुर थापाले बताए ।

‘बजारमा खुला रुपमा छोडीने पशु चौपायाको गोबरका कारण पनि बजार दुर्गन्धीत बन्ने गरेको छ –उनले भने ‘कुनै समय थियो, मर्दापनि गाई, बढ्दा पनि गाई । छोरीलाई दाइजोको रुपमा होस् या मानिसको मृत्युपछि गरिने काजक्रियापछि होस…जतापनि गाईलाई दिने प्रचलन रहेको थियो, त्यतिमात्रै होइन्, देवताका रुपमा गाईलाई पूजाआजा पनि गरिन्थ्यो खेतीपातीका लागि मल उत्पादनदेखि जोत्ने गोरुका लागि गाईवस्तु पालिने गरिन्थ्यो , तर भित्रिएको प्रविधि र आधुनिक युगका नाममा गाई पाल्ने प्रचलन विस्तारै घट्दै गएको छ ।’

नयाँ पुस्ताले गाईपालन व्यवसायलाई निरन्तरता दिन छाडेका छन् भने घरमा भएका गाई पनि छाडा छोड्ने प्रचलन बढ्दै जाँदा छाडापशु चौपाया मुख्य चुनौति बनेको छ । दुध, मल र खेतीपाती लागि पालिने जनावर विस्तारै खेती गर्न बढ्दै गएको प्रविधि र खेतीपातीमा रासायनिक मल भित्रिएपछि किसानले गाईलाई छाडारुपमा छोड्ने गरेका छन् ।

खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायालाई पाल्ने व्यवस्था मिलाउन गौशाला समेत छैन । ठूलो समस्याका रुपमा रहेका राष्ट्रिय जनावर गाई, साँढे, साना बहर तथा साँढे र त्यसको संरक्षण नगर्ने परिपाटीले गर्दा ठूलो समस्या नगरवासीले भोग्दै आएका छन् ।

पशुधनिहरुले खुल्ला रुपमा पशु चौपाया छोड्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिल्ला ट्राफिक प्रमुख मदनबहादुर कुवँरले बताए । छाडा छोडिएका पशुचौपायाले सवारी आवागमनमा समस्या रहेको भन्दै उनले छाडा पशुचौपायाको कारण दुर्घटनाको जोखिम बढेको बताए । उनले बजारका चोक तथा गल्लीमा पशुचौपाया खुलारुपमा पशुचौपाया नछोड्न पनि सम्बन्धित पशुधनीलाई आग्रह गरेका छन् ।

गाई बस्तु व्यवस्थापनमा सम्बन्धित पशुधनीले पनि सहि रुपमा व्यवस्थापन गर्न उपमहानगरले पटक पटक सुचना जारी गरेपनि कार्यान्वयन भएको देखिदैन् । छाडा पशुचौपाया जिल्लाका अन्य स्थानमा पनि पाईने गरेका छन् । घोराही, तुलसीपुर ,लमही, भालुबाङ, बिजौरी, हापुरे लगाएतका स्थानमा छाडा पशुचौपायाले सताउने गरेका छन् ।।

तपाईको प्रतिक्रिया