फोटो सहितको फेसबुक स्टाटस

दिपा धिताल ।
समय बदलियो ,देश बदलियो,परिवेश बदलियो,राजनीति बदलियो अनि यस बिचमा धेरै थोकहरु बदलिए तर अझै पनि यो पुरुषवादी समाजमा हरेक घरदेखी,बाटो , कार्यलय, राजनितीसम्म महिलाहरुलाई हेर्ने आँखा र सोच्ने मानसिकता अझै पनि बदललिन सकेको छैन । चाहे त्यो महिलाहरुको होस चाहे पुरुषहरुको होस् । कहिलेकाही यी यस्ता अनेकौं दृश्यहरु आँखै अगाडी देख्दा मन निमोठिएर आउँछ ।

आफू कुन ठाउमा रहेर के गरिरहेको छु ? भन्ने हेक्का नि हुँदैन । आफू छोरी भएर जन्मनुको अर्थ खोज्छ जिन्दगीले ! हिड्दा हिड्दै ऐठन परे जस्तो हुन्छ । र अनेक अनुत्तरित प्रश्नहरू ठिङ्ग उभिन्छ्न् आफ्नै आँखा अगाडी । त्यसैगरी यी आँखाहरुले देख्दादेख्दै चुपचाप हिड्ने ? प्रश्न गर्छ आफ्नै मनले र चुनौती दिन्छ ।

घरमा आमा, भाउजुको संस्कार देख्छु । आमाले अझै बाको गोडाको पानी नखाउन्जेल भात खानु हुँदैन । बाले, नखाए पनि किन खाइनस ? भन्नै सक्नुहुन्न बा आमालाई ।

 

आमा तपाईं अझै पनि हिजोकै परिवेशमा हुनुहुन्छ ? अब त छोडिदिनु क्या ! तपाईंलाई बा, को गोडा धोएर पानी नखादा कुनै पाप लाग्दैन । म भन्छु । आमा नमिठो गरि गाली गर्नुहुन्छ ।

 

कुनै ठुलो भब्य कार्यक्रमको मंच देख्छु । सोच्छु महिलाको अस्तित्व नै रहेनछ । आफू छोरी हुनुको स्वतन्त्रता खोज्छु । बाटोले नै आफैलाई गिज्याइरहेको पाउछु । समाजमा महिलालाई हेर्ने दृस्ठिकोण हेर्छु । हरेक पाइला–पाइला जाच्न भ्याउछ । अनि कार्यलयमा महिलालाई सोच्ने मानसिकता बुझ्छु । शक्ति र तागतमा भागबन्डा लगाइन्छ ।

कुरा केहि समय अगाडीको हो । एक साहित्यिक कार्यक्रममा जुन साहित्यिक कार्यक्रम साहित्यकार पारिजातको स्मृतिमा भब्य भैरहेको छ । निकै खुशी लाग्यो । कमसेकम यहाँका पुरुषहरुले थोरै भएपनी महिलाहरूलाई सम्मान गर्न त जानेका छन् ।

 

तर त्यो भन्दा बढी दुखी थियो मन त्यो मंचमा पुरै पुरुषहरुको मात्र आसन भएको देख्दा । फेरि मैले पुरुषहरु मात्र मंचमा छन् ? भनेर बिरोध गर्न खोजेको पट्क्कै होईन । आफू मंचमा बस्न नपाउनुको आक्रोश पनि हैन । अपमान गरेर बोलेको पनि हैन ।

 

मलाई बाटो देखाउने । मलाई सधैं हौसला प्रेरणा दिने मैले मेरा अग्रज गुरुहरुलाई अपमान गरेर बोल्न मेरो नैतिकताले दिदैन । यदि दियो भने पनि त्यो मेरो ठुलो मुर्खता हुनेछ । मेरो जिन्दगिले म आफैलाई धिकार्नेछ । मानिस भएर बाच्नुको मेरो कुनै औचित्य रहने छैन ।
त्यसैले त्यस मंचमा महिला नहुनुको कारण के ? भनेर फोटो सहित फेसबुक स्टाटस राखेँ । र त्यसपछि अनेकौं टिप्पणी हुनथाल्यो । त्यहि स्टाटसको कारणले म्यासेजहरु रामायण जस्तै आउन थाले ।

 

एउटा म्यासेज पनि यहाँ राखेँ ।
जग हराउने काम गरेर अझै पुगेको छैन ?
ओहो ! मैले कस्तो अपराध गरेछु । के मैले मेरो आफ्नै जग हराउँदै छु त ? कि म आवेग म आएर बोल्न जानेन ? एकछिन त म अक्क न बक्क परे । आफ्नै मनलाई सोधे । आफू हिडेको बाटो हेरेँ । मेरा आमा,भाउजू ,दिदिबहिनी ,साथिहरु कुन स्थानमा छन् ? सोच्न भ्याए । बाहिर जति नारी अधिकार समानताको कुरा गरेपनी भित्र महिला समानता न्याय र अधिकार नभेटाउनु भनेको म मेरो लागि म आफै दोषी रहेछु भन्ने कुरा यो बेला मैले प्रमाणित गरे ।

यो त एउटा उदाहरण मात्र थियो । सबै पुरुष दोषि हुदैनन् र सबै महिलाहरु निदोर्ष पनी हुदैनन् । महिलाहरू बिच असमानता देख्दादेख्दै के पुरुषहरुले गरेका सबै काम कुराहरू लाई ताली पिट्दै हिड्नु ? के मेरा बा आमाले मलाई जन्म दिए । हुर्काए ,बढाए । अक्षर चिन्ने बनाए । आफ्नो रगत पसिना बेचेर आफ्नो खुट्टामा आफै उभिने बनाए भन्दैमा ! उहाँहरुले त छोरी होस भनेर दासताको घुम्टो ओढाउन खोज्नु भयोे भने । म छोरी भएरै छोरिकै स्थानको मात्र बन्धक बनाएर राख्न खोज्छन् भने ? के म चुपचाप उहाँको असमानता सहेर हिडिरहुँ ? सहिरहुँ ? बसिरहुँ ?
मानिस धैर्यतामा बस्नु उसको महानता हो । तर धैर्यतामा मा सधैं रहिरहनु पनि मुर्खता हो । जब धैर्यताको बाध फुट्छ अनि समयले उग्र रुप लिन्छ । अन्यायको विरुद्धमा आवाज उठाउने र लड्नेहरु हाम्रो समाजमा कहिल्यै कसैको आँखाको नानी बन्न सक्दैनन् यो तितो सत्य हो ।।

अहँ ! सहेर बस्न मेरो क्षमताले दिदैन । मलाई मेरा बा आमाले माया नगरुन त्यसको मलाई कुनै प्रबाह छैन । मलाई कसैको लोभ मोहमा हिड्नु छैन । भोलि म कसैको माया नपाउला, मलाई कसैले साथ र सहयोग नदेला भन्ने डरले म त्यसै चुपचाप भएर हेरिरहन सक्दिन । महिलाहरूको समानताका विरुद्ध म लडिनै रहन्छु । म सानै देखि मेरा साख्खै बा आमा संग बिद्रोह गरेर स्वतन्त्र संग बाटोमा हिड्न थालेकी हुँ । त्यो स्वतन्त्रताको सहि उपभोग गरेर हिड्नु मेरो कर्तव्य हो ।

तपाईको प्रतिक्रिया