शहिदको सम्झनामा पर्यटन स्मारक


रीता लामा
घोराही, १७ जेठ । ससस्त्र द्धन्द्धको चरम अवस्था २०५८ मंसिर १३ दाङमा एउटा अकल्पनीय घटना घट्यो । खल्यानमा धान दाइरहेका ११ जना किसान तत्कालिन विद्रोही माओवादीको आरोपमा राज्य पक्षबाट एकै ठाँउमा मारिए । अरुको खेत जोतेर खाने जोताहा किसानलाई माओवादीको नाममा मारेको आज करिव १७ बर्ष पुगेको छ ।


तर आफन्त मारिए लगत्त त्यहाँका द्धन्द्ध पीडितले मृत्यु भएकाहरुको सम्झनामा शहिद पार्क निर्माणको मा गर्दै आएका थिए । उनीहरुको माग अव करिव १७ बर्ष पछि पुरा हुदैछ । अहिले पार्कको पर्खाल निर्माण हुदैछ । एकै ठाउँमा ११ जना किसानको ज्यान जाने गरी भएको अकल्पनीय घटनालाई आफन्तहरुले शहिदको सम्झनामा पर्यटकिय पार्क निर्माण गर्न चाहान्छन् सोही अनुसार पार्क निर्माणको काम भैरहको निर्माण समितीका संयोजक छल्लु चौधरीले जानकारी दिए ।


किसानहरु मारिएको स्थान भन्दा करिव ५० मिटर पर ढेड कठ्ठा जग्गामा मृतक शहिद स्मारक निर्माण हुन लागेको छ । जुन शहिद पर्यटकिय स्मारक निर्माणको लागि संघिय संसदका सभामुख कृष्णबहादुर महराको संसद विकास कोष, घोराही उपमहानगरपालिका वडा नम्वर १७ र महिला कानुन तथा विकास मञ्चले आर्थिक सहयोग गरेका छन् ।

शहिद स्मारक पार्क निर्माण समितीका सचिव प्रकाश चौधरीका अनुसार स्मारक निर्माणका लागि तीन वटा योजना परेका छन् । जसमा सभामुख महराको संसद विकास कोषबाट ९ लाख ९५ हजार, वडा नम्वर १७को १ लाख र महिला कानुन तथा विकास मञ्चको तर्फबाट तीन लाख रुपैया गरी करिव १४ लाख रुपैँया रकम सहयोग उठेको छ ।

उक्त रकमलाई द्धन्द्ध पीडितको शिलालेख निर्माण गर्ने, स्मारक बनाउने, पर्खाल र सुन्दर फुलबारी निर्माणको लागि प्रयोग गरिने निर्माण समितीले जनाएको छ ।

निर्माण समितिका सचिव प्रकाश चौधरी भन्छन् ‘आफन्तहरुले लामो समय देखि पार्क निर्माणको लागि माग गर्दै आएका थिए । अहिले आएर यो सपना पुरा हुदैछ ।’ उनले भने ‘उक्त पार्कमा शहिदको स्मारक हुनेछ भने यसलाई सानासानो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहको छ ।’ आफन्त गुमाएका शहिद परिवारको मनको शान्तीको लागि पनि स्मारक निर्माण अपरिहार्य भएको उनले बताए ।

२०५८ मंसिर १३ गते उक्त घटनामा परि किसानहरु प्रसारु चौधरी, खुसिराम चौधरी, जगमान चौधरी, कृष्ण चौधरी, रुपक चौधरी, रामु चौधरी, आशाराम चौधरी, रिसमान चौधरी, सोमलाल चौधरी, जोगी चौधरी र शितलाल चौधरीको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया