शरिरमा २५ वटा छर्रा बोकर बाँचेका नन्दुराम दाहाल

नवीन अभिलाषी
दाङ, जेठ ५ । नन्दुराम दाहालको शरिरमा अहिले पनि २५ वटा छर्रा छन् । गोली लागेको दाँया खुट्टामा अहिले पनि रगत चुहिने घाउ छ । दश वर्षे युद्धका क्रममा तत्कालिन नेकपा माओबादीको तर्फबाट जनमुक्ती सेनाको रुपमा सहभागी दाहाल अहिले पनि उपचारमै हुनुहुन्छ ।

स्वच्छिक अवकाश पश्चात रुकुमबाट दाङ झर्नुभएका दाहालले घोराही उपमहानगरपालिका वडा नं. १६ सर्राको सानीअम्बापुरमा सानो किराना पसल गर्नुभएको छ । दुई छोरी सहित नन्दुरामको चार जनाको परिवारलाई जीवन बाँच्नै धौ धौ परेको छ ।

‘गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहयोगले काठमाण्डौको वीर अस्पताल र नेपाल ट्रमा सेन्टरमा उपचार गर्ने व्यवस्था मिलाईदिएको छ ।’ दाहालले भन्नुभयो, ‘तर उस्ले एन्टिबायोटिक मात्र दिएर पठाउछ, खासै उपचार छैन ।’ युद्धका क्रममा गोली लागेको दाँया खुट्टामा रहेको घाउ अझै निको भएको छैन । समय समयमा पाक्ने घाउले दुःख दिईरहेको दाहालले बताउनु हुन्छ ।

‘उपचारका लागि २ वर्ष भारतको लखनउमा बसेँ, ब्यक्तिगत २ लाख रुपैया भन्दा बढि खर्च भयो, बाँकी उपचार गर्ने पैसा भएन, फर्किए ।’ दाहालले भन्नुभयो, ‘शरिरमा रहेका छर्राहरु निकाल्ने अबस्था पनि छैन ।’ युद्धका क्रममा लागेका छर्राहरु शरिरमा बोकेर हिड्नु भएका दाहालले आर्थिक अभावका कारण छर्रा निकाल्न नसकेको बताउनुभयो ।

सरकारले २० प्रतिशत अपांगको सुचीमा राखेर राहत भन्दै ४० हजार रुपैँया मात्रै उपलब्ध गराएको थियो । त्यो रकम खर्च भैसकेको उहाँले बताउनुभयो । त्यस बाहेक सरकारबाट घाइते तथा अपांगताको रुपमा कुनै राहत प्राप्त नगरेको बताउनुभयो । स्वच्छिक अवकाश हुँदा प्राप्त गरेको पाँच लाख लिएर दाङ झर्नु भएका घाईते दाहालले सानो घर घडेरी जोड्नुभयो ।

‘अवकाश हुँदा पाएको पैसाले घरबास जोडेको छु, आम्दानीको स्रोत खासै केहि छैन, सानो किराना पसल छ’ दाहालले भन्नुभयो, ‘दुइ छोरी छन्, उनीहरुलाई पढाउन पनि गाह्रो छ, उपचार गर्ने कुरा त दोस्रो हो ।’ दुइ छोरीको भविष्य निर्माण गर्ने योजना भन्दा आफुनो उपचार कम प्राथमिकताको विषय भएको दाहालले बताउनुभयो ।

रुकुम बाफीकोट गाउँपालिका २ मा जन्मिएका दाहाल २०५७ सालमा जंगल पस्नु भएको थियो । कक्षा ५ मा अध्ययन गर्दा गर्दै युद्धले गाउँमा देखिएका गतिविधिहरुबाट माओबादी कार्यकर्ताको रुपमा जंगल पस्नै पर्ने बाध्यताले दाहाललाई जनमेलिसिया, स्वायट, प्लाटुन, बटालियन हुदै व्रिगेट र मुख्य फोर्सको सिपाही बनायो । २०५९ साल कार्तिकमा जुम्ला सदरमुकामको भिडन्तमा हातमा गोली लागेको बताउने दाहालले रुकुमको खारा र २०६० साल चैत्र ७ गते ग्याग्दीको बेनी सहित चर्चित युद्धमा सहभागी भएको बताउनुभयो ।

२०५७ सालदेखि २०६८ सम्म निरन्तर जनमुक्ति सेनाको रुपमा कार्यरत दाहाल म्याग्दीको बेनीमा भएको युद्धमा घाइते भएपछि थलिनु भएको थियो । शरिरका विभिन्न भागमा गोलीका छर्रा र गोलीले छेडेको खुट्टा लिएर थलिएका दाहाल अहिले पनि तंग्रिन सक्नु भएको छैन ।

‘राज्यबाट केहि प्राप्त गर्नको लागि युद्धमा होमिएको हैन, एउटा व्यवस्था परिवर्तनका लागि हामीले जीवन नै समर्पण गरेका थियौँ ।’ १७ वर्षको उमेरमा युद्धमा होमिएका दाहाललाई राज्यबाट सहयोग उपलब्ध नगराएकोमा कुनै दुःखेसो छैन, ‘राज्य आफैले महसुस गर्ने कुरा हो, विगतका घाईते अपांग, सहिदहरुको अबस्था कस्तो छ भनेर बुझ्नु पर्ने हो ।’

हिजो जस्ले परिवर्तनका लागि आवाज उठाए र घाईते भए, अंगभंग भए उनीहरु अहिलेको देशको अबस्था प्रति सन्तोष छैनन् । दाहाल भन्छन् ‘हामीले अलि फरक खालको परिवर्तनको परिकल्पना गरेका थियौँ, व्यवस्था परिवर्तन त भयो, तर शैली पुरानै छ ।’

तपाईको प्रतिक्रिया