दासढुङ्गामा रहस्यमय जिप दुर्घटनाको आज २६ वर्ष

काठमाडाैं- आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो ।

यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक-पटक सरकारमा पुग्यो । तर अहिलेसम्म दुर्घटनाको रहस्य पत्ता लगाउन चासाे नै दिएकाे छैन् ।

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । तर हत्याराको खोजीमा चासो समेत दिन छाडिएको छ ।

अहिले तिनै भण्डारीकी श्रीमति विद्यादेवी भण्डारी देशकै सर्वोच्च पदमा आसिन छिन् । तीन वर्षदेखि निरन्तर राष्ट्रपति पदमा रहिराखेकी पत्नी भण्डारीले पतिको रहस्यम हत्याको खाेजतलास गर्न सक्रियता देखाएकी छैनन् । यो घटना कसले किन गरायो भन्ने विषयमा पछिल्लो समय ध्यान नै दिइएको छैन ।

जेठ ३ गते सबैले शालिकमा माला लगाउने, मुठ्ठी कसेर अभिवादन गर्ने र ‘उहाँ महान हुनुन्थ्यो’ भन्ने भन्दा कसैले केहि गरेको छैन । अहिले उनै भण्डारी महासचिव रहेको पार्टीले दुई तिहाइ मतसहितको शक्तिशाली सरकार चलाई राखेको छ । तर, यतिको शक्तिशाली सरकारले समेत यो घटनाका बारेमा अनुसन्धान गर्न समेत नखोज्नुलाई भने आम नागरिकले रहस्यमय रुपमा लिएका छन् ।

‘भएका नभएका कानुन ल्याएर नागरिकका अधिकार खुम्च्याउन खोज्ने सरकारले मदन-आश्रीतका हत्यारा पत्ता लगाउन किन सक्दैन ? किन चासो दिएको छैन । जसको मार्गदर्शनमा पार्टी चलेको छ उसैको हत्यारा पत्ता लगाउन किन आवाश्यक ठानिएको छैन् ? यो प्रश्नले हामीलाई घोचिरहने छ ।’ नेकपाका एक कार्यकर्ताले भने ।

‘आजकै दिन पारेर पूर्व एमाले र माओवादीले कुम मिलाए । पार्टी एक गराए । तर, जसको सम्झनामा विभिन्न कार्यक्रम र अनेकन भाषण गरिन्छ उसैको हत्यारा पत्ता लगाउन किन चासो दिइएको छैन ?’ कार्यकर्ताहरुको प्रश्न छ ।

घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुङ्गा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया