दाङमा ८ हजार बिघा सार्बजनिक जग्गा अतिक्रमणमा


तुलसीपुर, १ जेठ । दाङका सरकारी तथा गैरसरकारी संस्थाका जग्गा अतिक्रमणको चपेटामा परेको छ । भूमिसुधार कार्यालय दाङले दिएको जानकारी अनुसार अस्पताल, बिश्वबिद्यालय, क्याम्पस, सामुदायिक बिद्यालय, विभिन्न संघसंस्था, सरकारी कार्यालय एवं गुठीका जग्गामा अतिक्रमणको चपेटामा परेको हो ।

७ हजार ८ सय ३६ बिगाह दुई कठ्ठा तीन धुर जमिन अतिक्रमणको चपेटामा परेको कार्यालयको भनाई छ । साबिक राप्ती उपक्षेत्रीय अस्पताल, नेपाल संस्कृत बिश्वविद्यालय, बिभिन्न सामुदायिक बिद्यालय, स्वर्गद्वारी आश्रम, गोरक्ष रत्ननाथ गुठी, महेन्द्र बहुमुखी क्याम्पस, नेपाल पुलिस स्कुल, जिल्ला प्रशासन कार्यालय, खेलकुद विकास समितिका नाममा रहेका जग्गा अतिक्रमणमा परेको छ ।

अतिक्रमणमा परेका जग्गा फिर्ता गराउन कार्यालयहरुले प्रयास गरेपनि सफल हुन सकेका छैनन् । जिल्लामा सबैभन्दा धेरै संस्कृत बिश्व बिद्यालयको एक हजार तीन सय बिगाह अतिक्रमण रहेको छ ।

मालपोत कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय दाङको जग्गा समेत अतिक्रमणको चपेटामा परेको छ । घोराही १६ सानी अम्बापुरमा रहेको जिल्ला प्रशासन कार्यालयको २५ बिघा जमिन अतिक्रमणमा परेको छ । हाल उक्त जग्गामा लगत लिन छुटेका मुक्त कमैयाहरु बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया