४४ प्रतिशत किशोरीमा रक्तअल्पता


तुलसीपुर, ३१ बैशाख | दाङ सहित प्रदेश नम्बर पाँचका १२ जिल्लाका करिब ४४ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिने गरेको छ । सुआहाराले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश पाँचका १२ जिल्लामा ४४ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिने गरेको हो ।

आइरन तथा फोलिक एसिड कमिका कारण अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिने गरेको छ । किशोरीमा देखिने रक्तअल्पताको समस्यालाई न्युनिकरण गर्न सरकारले १० वर्षदेखि १९ वर्ष सम्मका किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउने गरेको छ । दाङमा पनि विद्यालयमा अध्ययनरक्त १० देखि १९ वर्षसम्मका किशोरीलाई शिक्षक र सोहि उमेर समुहका विद्यालय बाहिर रहेका किशोरीलाई स्वंयसेविकाले आईरन तथा फोलिक एसिड खुवाउने गरेको सुआहारा दाङका पोषण अधिकृत लिलबहादुर नेपालीले बताउनुभयो ।

आईरन तथा फोलिक एसिडको सेवनले किशोरीमा महिनावारी नियमित हुने, रक्तप्रवाहमा सहजता आउने, अनुहारमा चमक आउने उहाँको भनाई छ । १० वर्षदेखि १९ वर्ष सम्मका किशोरीले वर्षमा २६ पटक आईन तथा फोलिक एसिड खान सकिने अधिकृत नेपालीले बताउनुभयो ।

यसैबीच कार्यक्रमलाई प्रभावकारी बनाउन तुलसीपुरमा आज विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मिलाई तालिम प्रदान गरिएको छ भने एक वर्षसम्म संचालन भएको कार्यक्रमको समिक्षा गरिएको छ । तुलसीपुरमा रहेका विद्यालयमा अध्ययनरत्त १० देखि १९ वर्षसम्मका किशोरीलाई आईरन तथा फोलिक एसीड खुवाउने बारे शिक्षक तथा स्वास्थ्यकर्मिलाई प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा शिक्षा महाशाखाका प्रमुख भाष्कर गौतमले लक्षित किशोरीलाई समेटन् शिक्षकलाई आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोकर्ण दहालले आईरन तथा फोलिक एसिडको सेवनले किशोरीमा रक्तअल्पताको समस्या नआउने बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक र विद्यालय बाहिर रहेका लक्षित उमेरका किशोरीलाई महिला स्वास्थ्य स्वयंसेवीकाले समेट्ने बताउनुभयो । सुआहारका मातृशिशु कार्यक्रम अधिकृत आनन्द कर्णले किशोरी शिक्षक र स्वास्थ्य स्वंयसेवीकाको सहयोगले मात्रै कार्यक्रमलाई सफल बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा सुआहाराका पोषण अधिकृत लिलबहादुर नेपालीले सहभागी शिक्षक तथा स्वास्थकर्मिलाई आइरन तथा फोलिक एसिड खुवाउने तरिका र कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक मेयर श्याम डाँगीको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत आनन्द सारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रतिनीधि बिष्णु गीरीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया