राम्री बस दुर्घटनाका मृतक परिवारलाई विमा रकम हस्तान्तरण


नवीन अभिलाषी
दाङ, वैशाख २७ । देश नै स्तब्ध पार्ने गरी दाङको तुलसीपुर स्थित राम्रीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २३ जनाको परिवारलाई विमा रकम हस्तान्तरण गरिएको छ । गत पौष ६ गते कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय पनौराको बस राम्रीमा भएको दुर्घटनामा विद्यार्थी, शिक्षक र चालक गरी २३ जनाको मृत्यु भएको थियो ।

मृतक २३ जनाको प्रतिब्यक्ति ४ लाख ५० हजारका दरले विमा रकम हस्तारन्तरण गरिएको नमस्ते यातायात प्रालिका उपाध्यक्ष सोम पौडेलले बताउनुभयो । यस अगाडि प्रतिब्यक्ति ५० हजारका दरले किरिया खर्च हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो । ‘मृतक बाफत परिवारले पाउनु पर्ने पाँच लाख रुपैया हो, यस अगाडि ५० हजार किरिया खर्च बाफत बुझाई सकिएको छ ।’ उपाध्यक्ष पौडेलले बताउनुभयो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको रोहबरमा विमा कम्पनी प्रुडेन्सियल विमा कम्पनी लिमिटेडका असिस्टेन्ट म्यानेजर निकेश गौतमले विमा रकम एक करोड १५ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

सिधै पीडित परिवारलाई रकम बुझाउँदा भोलिका दिनहरुमा समस्या आउन सक्ने भएकाले जिल्ला प्रशासन मार्फत पीडित परिवारको खातामा जाने गरी विमा रकम हस्तान्तरण गरिएको कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सीपल यादव सुबेदीले बताउनुभयो । अध्ययनकै क्रममा सल्यानको कपुरकोटमा रहेको नर्सरी अध्ययन गरेर फर्किने क्रममा बस दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया