कथा : रातको सन्नाटा

दीपक जीएम

ऑफिसमा कामको चाप अलिक बढ़ी भएकोले घर जान ढिला भईसकेको थियो । घड़ी तिर नजर दौडाउन खोज्दा रातको ११:४५ बजीसकेको रहेछ,हतार हतार म ऑफीसको भर्याङ बाट ओर्लिए अनि घर तिर बिस्तारै कदम बढाए।रात चकमन्न थियो ,अँध्यारो चारैतिर छाइसकेको थियो लोडसेडिङको कारणले गर्दा बाटोमा भएका पोलहरुका बत्ती भएको नभएको कुनै औचित्य थिएन।

तर पनि आफ्ना कदमहरु अगाडि बढाउने क्रम जारी नै रहे ।सुनसान सड़कमा कोही पनि थिएनन, हुन पनि त्यति राती को नै बाटोमा हिड्थ्यो र.. कता कता कुकुर भूकिरहेका थिए, साथै अँध्यारोले गर्दा अगाडि केही पनि देखिदैनथ्यो । केही सोच्दै अगाडि बढ्ने क्रममा कोही कराउँदै म तिर आउँदै गरेको भान भयो मलाई..क्षणभरमै त्यो अधबैसे मनुवा मेरो अगाडि उभियो ।” अलिकति छ की हजुर सँग..म झसँग भए” के छ भन्नु भएको मैले बुझेन” खित्का लगाउँदै त्यो मनुवा केही नबोली आफ्नै धुनमा कुनै गीत गुनगुनाउँदै अगाडि बढ्यो ।

मलाई अचम्म लाग्यो उसको व्यवहार अनि शब्दहरु सम्झेर साथै उसले मदिरापान गरेको उसको शरीर बाट प्रस्टै जाडँको गन्ध आइरहेको थियो अनि उसले के भन्न खोजेको त्यो पनि मेरो दिमागले सोच्न भ्याएन। ”जे सुकै होस भन्दै म गन्तव्य तिर लागे। घर पुग्नको लागी बजार देखी २ किलोमिटर पार गर्नु पर्दथ्यो तसर्थ म ट्राफिक चोकमा पुगे अनि चारैतिर नजर दौडाउन थाल्दा कोही गुनगुन गरेको सुने । त्यतिकैमा बिजुली आयो र पोलको बत्ती बल्यो अनि बजार उज्यालो देखियो ।

रात धेरै परिसकेको हुनाले घर नगई आन्टी घर जाने मनसाय बनाए अनि फर्किदै भरतपुरको उकालो उक्लीदै आन्टीको घर नजिकिदै गरेको बेलामा कता कता कोही रोएको आवाजले म अतालिए साथै आवाजलाई चिर्दै म नजिकै पुगे जहा एउटी युवती रोई रहेकी थिइन ।” के भयो किन रोएको यसरी भनी प्रश्न गरे तर उनी बाट कुनै जवाफ आएन।फेरि पनि मैले अलिक ठूलो स्वरमा ” को हो तिमी अनि किन यति राती सम्म यसरी बाहिर के गर्दै छौ ?उनी बिस्तारै रुन्चे स्वरमा ” मेरो नाम सिया हो म यही नजिकै बस्छु ” उनको जवाफ अनि आवाजले मलाई उनी उमेरले २३,२४ की झै लाग्यो ।

”यदि मिल्छ भने के म जान्न सक्छु की तिमी किन रुदै छौ..? ” मेरी आमा यो सँसारमा हुनु हुन्न , मलाई आज मेरो आमाको सारै सम्झना आइरहेको छ त्यसैले उहालाई सम्झिएर रोएकी हु ” उनको जवाफले म सारै भावुक भए साथै उनीप्रति सहानुभूति जागेर आयो । अँध्यारोले गर्दा मैले उनलाई प्रष्ट सँग हेर्न पाएको थिएन तसर्थ मनमा उनलाई हेर्ने इछ्या जागेर आयो,फेरि पनि मलाई उनी सँग केही समय बिताउँ झै भयो । मोबाइलको बत्ती बाल्दै म उनको मुहार नियाल्न थाले ” कसम उनी मैले सोचेको भन्दा पनि सुन्दर थिइन ,मृगनयनी आँखा ,लामो केश चिटिक्क परेको जीउडाल ” आहा नि उनको लोभ लाग्दो रूप देखेर मनमा कता कता काउकुती लागे झै भयो । मेरो एकाग्रता भँग गर्दै ” के भयो के हेर्नु भएको यसरी मलाई”..” केही होइन अनि यति राती भईसक्यो घर जानु पर्दैन र..यति राती सम्म किन यसरी भौतारिएकि छौ” ।

 

मन्द मुस्कानमा ती अपरिचित युवती बोल्दै ” मलाई रातको सन्नाटा सारै मन पर्छ,सुनसान सड़क ,कहाली लाग्दा यी सु-मधुर आवाज जसले सजिलै सँग मलाई यो रातको चित्कारमा भुल्न बाध्य बनाउँछ अनि थाहा छ मलाई मर्न देखी कत्ति पनि डर लाग्दैन नि ” ती युवतीको कुरा सुनेर मेरो मनमा कता कता डर त्रास उत्पन्न हुन थाल्यो ।मनमा अनेकौ प्रश्नहरु उत्पन्न हुन थाले। तर पनि उनको सुन्दरता अनि कोईलीमय सुमधुर आवाजले मलाई क्षणभरमै पग्लाई दियो ।उनी तिर हेर्दै ” अब रात पनि धेरै भईसक्यो त्यसैले हिडँ म तिमीलाई घर सम्म पुर्याई दिन्छु” मुस्कुराउदै उनले मेरो हात समाईन” मेरो शरीरमा कांडा उम्रे झै जीउ नै जिरिँग हुन पुग्यो ।

 

मन्द मुस्कानमा उनी बोलीन” किन यति धेरै मेरो चिन्ता लिनु भएको ,म गई हाल्छु नि बरु हजुरलाई ढिला भए जस्तो छ ” नाई छैन ढिला भएको मलाई तर जमाना खराब छ तिमी केटी मान्छे यसरी राती राती बाहिर हिडँनु हुदैन त्यसैले अबेर भइसक्यो हिडँ जाउँ यही नजिकै मेरो आन्टीको घर छ आज त्यतै बसेर भोलि बिहान गएपनि हुन्छ नि..होइन र”… उनी नाई नास्ती गर्न थालीन तर मैले पटक पटक उनी सामु बिन्ती बिसाउन थाले पछि अन्तमा उनी म सँग जान मञ्जुर भईन। हामी एकअर्काको हात समाई पाइलाहरु चाल्दै अगाडि बढ्यौ, उनी बेला-बेलामा म तिर हेर्दै मुस्कुराउने गर्थीन भने म पनि मन्द मुस्कान दिंदै उनको आँखाको भावनालाई सहर्ष स्वीकारी रहेको थिए । उनको स्पर्शरुपी छुवनले भित्रै देखी मलाई एउटा बेग्लै महसुस गराईरहेको थियो ।

 

यसरी क्षणभरमै हामी आन्टीको घर अगाडि पुग्यौ,गेटको घण्टी बजाउँदै मैले उनलाई ”केही हुदैन न आतीनु हैं सिया,मेरो आन्टी एकदमै मिजासिली हुनुहुन्छ ” हस हुन्छ नि भन्दै उनले शिर हल्लाइन। ” को हो हँ यति राति ”भन्दै आन्टी बाहिर निस्किनु भयो ।” म हो आन्टी भनी जवाफ दिए । ” यति राती कँहा बाट आईस ल पख म गेटको चाबी लिएर आउँछु भनी आन्टी भित्र कोठामा पस्नु भयो । मेरो हात समाउँदै उनले मलाई आफू तिर तानिन, त्यतिकैमा एउटा कार हामी नजिकै आई रोकियो । गाडी बाट एउटी महिला र पुरुष ओर्लीदै एकैस्वरमा बोल्नु भयो ” बाबु यहा कोही २१,२२ वर्षकी केटीलाई देख्नु भयो की नाई…म अक्क न बक्क भए अनि आफ्नो छेउमा हेर्न थाल्दा सियालाई पनि देखेन। उनीहरू पुनह बोल्दै ” हाम्री भान्जी हो बाबु ऊ,आफ्नो खल्ती बाट फोटो झिक्दै यी यिनै हुन भनी फोटो म तिर तेर्साउनु भयो, मेरो आश्चर्यको सीमा नै रहेन ।उनको फोटो देख्न साथ मलाई अचम्म लाग्यो किनकी त्यो फोटो अरु कसैको नभएर सिया कै थियो । ”खाना खाएर निस्केकी हुन अहिले सम्म घर फर्केकी छैनिन हाम्री भान्जी भन्दै महिला रुन थाल्छीन ।

 

” भित्र आइजा छिटो… कँहा को सँग बोल्दै छस हँ …आन्टीको आवाजले म झसँग हुन पुगे।” हजुर आन्टी म उहांहरु सँग कुरा गर्दै छु ” झोक्किदै आन्टी बोल्नु भयो ” होइन को सँग बोल्दै छस ”म उहांहरु सँग भनी बाटो तिर फर्केको मात्र थिए की त्यस ठाउँमा कसैलाई नदेखे पछि मलाई आश्चर्य लाग्यो अनि एकाएक यसरी गायब भएको देखेर डरले गर्दा मेरो मुटुले ठाउँ नै छोड्यो । क्षणभरमै त्यँहा न त ती महिला तथा पुरुष नै थिए न त सीया नै जसकारण मेरो दिमागले काम नै गर्न सकेन ।आन्टीलाई के भनु के गरु झै भयो मलाई तसर्थ केही नबोली म भित्र छिरे ,अनि आन्टीलाई प्रश्न गरे” आन्टी अघि बाटोमा कार अनि मान्छे देख्नु भएन र हजुर ले ” को कसलाई देख्या भन्छ यसले यति राति हँ”।”अहँ नाई देखेन मैले त कसैलाई पनि, राती राति धेरै नहिड हैं बुजिस नि जमाना खराब छ ल सुत अब” भन्दै आन्टी कोठा तिर जानु भयो । एकपटक पुन: मैले बाटो तिर नजर दौडाएँ तर पनि कसैको छाया समेत थिएन,अघिका वृतान्त सम्झिदा हात खुट्टा थरथर काम्न थाले मुटुको चाल पनि बढ्न थाल्यो,डरले गर्दा मलाई रातभरि निद्रा लागेन मात्र सिया अनि उनका मामा माइजूको झझल्को आईरहयो।

बिहान चियाको चुस्की लगाउँदै गएरातिका दृश्यहरुको बारेमा सोच्दै थिए की त्यतिकैमा आन्टकी छोरीले ( बहिनी)” दाई हेर्नुस त यही तल तिर बस्ने सिया अनि उनको मामा माइजूको हिजो दिउँस काठमान्डु जादै गर्दा गाडी दुर्घटना भएर मृत्यु भएछ नि..बिचराहरु..! सिया नाम सुनेर मलाई अचम्म लाग्यो। ”कँहा बाट थाहा पाईस नानी ” भनी प्रश्न गरे ।जवाफमा ”आजको पत्रिकामा आएको छ त दाई हेर्नुस न..!” हो र भन्दै मैले बहिनी सँग पत्रिका लिएर पढ्न थाल्दा छांगा बाट खसे झै भए बिस्वास नै लागेन । पत्रिकामा रहेको गाडी दुर्घटनाको समाचार अरु कसैको नभएर गएराति मैले भेटेको सिया अनि मामा-माइजू कै थियो । मेरो दिमागमा नानाथरीका कुराहरु नाच्न थाले ,के गरु कसो गरु झै भयो । मुटुको धड्कन बढ्न थाल्यो,मनमा डर त्रासले मलाई औधी कमजोर बनायो ।

साथै सियाले भनेका कुराहरु कानमा गुन्जिन थाले ”’ मलाई रातको सन्नाटा सारै मन पर्छ,सुनसान सड़क ,कहाली लाग्दा यी सु-मधुर आवाज जसले सजिलै सँग मलाई यो रातको चित्कारमा भुल्न बाध्य बनाउँछ अनि थाहा छ मलाई मर्न देखी कत्ति पनि डर लाग्दैन नि ”

तपाईको प्रतिक्रिया