फागु पर्व हापेकी करिश्मा यसरी गर्दैछिन् एसईईको तयारी

७ चैत, काठमाडौं । फागु पूणिर्मा भन्नेवित्तिकै धेरै कलाकारहरुले अभिनेत्री करिश्मा मानन्धरलाई सम्झिन्छन् । किनकी उनले प्रत्येक वर्ष फागु पूणिर्मामा आफ्नै घरमा कलाकारहरुलाई निम्याएर रमाइलो गर्ने गरेकी थिइन् । तर, यसपालि उनको ललितपुरस्थित घर सुनसान रह्यो ।

धेरै वर्षको अन्तरालपछि करिश्माले फागु नमनाउनुको कारण थियो, नजिकिएएको एसईई परीक्षा । १० चैत्रबाट सुरु हुने एसईई परीक्षामा उनी सहभागी हुँदैछिन् । परीक्षाको तयारीमा जुटिरहेकी करिश्माले यसपालीको फागुलाई हाप्ने निर्णय गरेकी हुन् । आफूलाई निम्तो आएका अन्य कार्यक्रममा पनि उनी गइनन् । यद्यपि, बच्चाहरुसँग गोदावरी भिलेज रिसोर्टमा गएर एकछिन होली खेलेको उनले बताइन् ।

‘पहिले सँधै फागु पूणिर्मामा रमाइलो गरिन्थ्यो, तर यसपाली घर सुनसान भयो,’ करिश्माले अनलाइनखबरसँग भनिन्, ‘आफूलाई मनपर्ने पर्व मनाउन नपाउँदा खल्लो पनि लाग्यो ।’

फागु पूणिर्मा एक दिन मनाउने भए पनि त्यसको तयारीमा तीन-चार दिन पढाइ डिस्टर्भ हुने भएकाले नमनाएको उनले बताइन् । यसपालि होली नमनाउने उनले पहिल्यै कलाकारहरुलाई जानकारी दिएकी थिइन् ।

एसईई संघारमा आइपुग्दा करिश्मा बढीभन्दा बढी पढाइमा केन्दि्रत हुने प्रयासमा छिन् । तर, सोचेजस्तो भइरहेको छैन । ‘हेर्नु न, आज त यतिबेलासम्म किताब समाउन भ्याएको छैन,’ उनले सुनाइन् । उनको रिजल्टमा मिडियाले ब्यापक चासो राख्ने हुनाले करिश्मालाई कत्तिको दवाव छ ?

‘अँ दबाव त हुँदो रहेछ । आम व्यक्ति भएको भए सायद यस्तो दबाव हुन्थेन होला । मेरो रिजल्ट राम्रो भएन भने पक्कै पनि टिका-टिप्पणीहरु हुने छन्,’ उनले भनिन्, ‘यस्तै दबाव हुन्छ भनेर मैले स्कुल भर्ना हुँदा मिडियालाई थाहा दिन खोजेकी थिइनँ । तर, के गर्ने…।’

करिश्मा एक महिनादेखि विद्यालय जान छोडेकी छन् । आउँदा जाँदा ड्राइभिङमै तीन घन्टा खर्च हुने र इनर्जी पनि क्षय हुने भएकाले त्यो समय घरमै पढेर बिताउने गरेको उनले बताइन् । साथै उनले दुईवटा विषयको घरमै ट्युसन पढिरहेका छन् । म्याथ र अकाउन्टको ट्यूसन लिइरहेकी उनले यीनै दुई विषयमा बढी अंक ल्याउने अपेक्षा गरेकी छन् । उनलाई गाह्रो लाग्ने चाहिँ साइन्स हो ।

‘एसईईमा मेरा लागि साइन्स नै सबैभन्दा च्यालेन्जिङ हुने वाला छ,’ करिश्माले भनिन्, ‘किन किन मलाई यो साइन्समा इन्ट्रेस्ट नै लाग्दैन ।’

करिश्मा राति अबेरसम्म बसेर पढ्ने नगरेको बताउँछिन् । त्यसको साटो उनी बिहान चाँडै उठेर पढ्छिन् । दैनिक यति नै घन्टा पढ्छु भन्ने सेड्युल चाहिँ उनको छैन । उनी घरको काम खासै केही गर्दिनन् । पहिले पनि गर्दिनथिन् ।

‘बिहान पाँच बजे उठेर फ्रेस हुन्छु, अनि एक्सरसाइज सकेर पढ्न बस्छु,’ उनले सुनाइन्, ‘दिउँसो टिचरहरु आउनुहुन्छ । बेलुकी एकछिन उहाँहरुले दिएको होमवर्क गर्छु र सुत्छु ।’घोकेर पढ्ने बानी नभएको उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया