‘बबई नदीमा लिफ्ट र कटुवा खोलामा हाईड्याम बनाएर बजारबासीलाई पानी खुवाउनु छ’


दाङको घोराही उपमहानगरपालिका वडा नं. १४, १५, १७ र १८ का करिव ६ हजार उपभोक्ताहरुले पिउँदै आएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि उम्मेदवारहरु उम्मेदवारी दर्ता गरेर निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् ।

आफ्नो जिन्दगीको महत्वपूर्ण समय घोराही खानेपानीको विकासमा दिनुभएका देविबहादुर डिसीको नेतृत्वमा प्रजातान्त्रिक प्यालन चुनावी मैदानमा छ । निर्वाचनको तयारीमा रहनु भएका अध्यक्ष पदका उम्मेदवार देविबहादुर डिसीसँग गरिएको कुराकानीको सारसंक्षप ः (सम्पादक)


निर्वाचनको तयारी कस्तो छ ?
— निर्वाचनको तयारी राम्रै भैरहेको छ । यतिबेला संस्थाका लेखापाल नारायण देबकोटाको निधन भएका कारण म व्यक्तिगतरुपमा धेरै जसो ठाउँमा पुग्न सकेको छैन । तर पनि सबैजसो उपभोक्ताले मनन गर्ने गरी संस्थालाई अगाडी बढाएकाले उपभोक्ताज्यूहरुले मैले गरेको कामको मुल्यांकन गर्नु भएको छ भन्ने विश्वास मैले लिएको छु । घोराही खानेपानी संस्थाको विकासका लागि यस अवधिमा धेरै महत्वपुर्ण कार्यहरु भएका छन् ।


यस अगाडी पनि तपाईले धेरैपटक खानेपानी संस्थामा नेतृत्व गरिसक्नु भएको छ भन्ने आलोचना पनि सुनिन्छ नी ?
— घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वमा बसेर मैले धेरै वर्ष काम गरेको यथार्थ हो । तर यस अवधिमा मैले घोराही क्षेत्रमा रहेको पिउने पानीको हाहाकारको समस्यालाई निराकरण गरेको छु । खानेपानी संस्थामा मैले समय मात्र गुजारेको छैन । संस्थाको हितका लागि धेरै गतिविधिहरु गरेको छु । अन्य सबै कामहरु छाडेर खानेपानी संस्थाको विकासका लागि आफ्नो जिन्दगीको महत्वपूर्ण समय दिएको छु । जसले गर्दा उपभोक्ताज्यूहरुले मलाई माया र समर्थन गरिरहनु भएको । मलाई यति लामो समयसम्म खानेपानीको नेतृत्व गर्नका लागि सहयोग गर्ने उपभोक्ताहरु नै हुनुहुन्छ । र यो पटक पनि मलाई नेतृत्वमा निर्वाचन गराउनु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

त्यसो भए यो पटकको उम्मेदवारी किन ?
— यो कार्यकालका लागि मेरा केही योजनाहरु छन् । घोराहीमा खानेपानीको समस्या हुन नदिनका लागि केहि महत्वपुर्ण र ठूला आयोजनाहरु सञ्चालन गर्नुको विकल्प छैन । जनसंख्याको अत्यधिक बृद्धि, पानीको श्रोतको कमिका कारण यहाँ हामीले ठूलो आयोजनाहरु ल्याउन नसकेमा घोराहीमा पिउने पानीको समस्या पुनः बिकराल हुनेछ । यी र यस्तै कुराहरलाई मध्यनजर गर्दै हामीले बबईबाट लिफ्टिङ गरेर घोराहीमा पानी ल्याउने योजना अगाडी सारेका छौ । जसको धेरै कामहरु अगाडी बढेको छ । यो आयोजना सम्पन्न गर्न सकेमा यहाँ प्रतिसेकेण्ड ५० लिटर पानी आउनेछ । जसबाट भोलीका दिनमा घोराही बजारमा प्रशस्त पानी पु¥याउन सकिनेछ । अर्को महत्वपुर्ण आयोजना भनेको कटुवा खोलामा मिनि हाईड्याम निर्माण गरेर घोराहीमा पानी ल्याउनु हो । यी दुई आयोजना आफैमा ठूला र महत्वाकांक्षी आयोजनाहरु हुन् । त्यसको लागि मेरै कार्यकालमा यी आयोजनाहरु सम्पन्न हुन्छन्, । यो कुरा धेरै उपभोक्ताहरुलाई थाहा छ ।

तपाईले ल्याएका आयोजनाहरु अर्को नेतृत्वले गर्न सक्दैन भन्ने हो र ?
— त्यस्तो पनि हैन । मैले देखेको सपना अर्को नेतृत्वले पनि पुरा गर्न सक्छ, तर त्यसको प्रभावकारिता कति हुन्छ भनेर मुल्यांकन हुनु आबश्यक छ । के मैले अहिलेसम्म गरेका कार्यहरुमा कुनै खोट छ ? मैले काम गर्नेक्रममा संस्थाको हितलाई सर्वोपरी ठानेर काम गरेको छु । उपभोक्ताको मन जित्ने सवालमा सदैब आफूलाई अगाडी बढाएको छु । हरेकका गुनासाहरुलाई सम्बोधन गर्न तत्परता देखाएको छु । घरघरमा पुगेर पानीको समस्या कस्तो छ भन्ने कुरा सधैभरी बुझेको छु । मैले घोराही खानेपानीका लागि कति संघर्ष गरेको छु भनेर मुल्यांकन भएकै कारण उपभोक्ता ज्यूहरुले मलाई माया गरेको महसुस मैले पनि गरेको छु ।

तपाईले यस अबधिमा घोराही खानेपानीको अबस्था सुधारका लागि के के गर्नुभयो ?
— घोराही क्षेत्रमा केही वर्ष अगाडी सम्म पिउने पानीको हाहाकार थियो । यस्तो अवस्थालाई सरलिकृत गर्दै अहिले सबैको घरघरमा पिउने पानीको व्यवस्था भएको छ । ठाउँठाउँमा बोरिङहरु खनेर, ट्यांकीहरु निर्माण गरेर सुद्ध पिउने पानीको व्यवस्था गर्न हामी सफल भएका छौं । घोराही खानेपानीको वितरण प्रणालि वैज्ञानिक बनाईएको छ । उभोक्तालाई लिक्षत गरेर बिश्राम गृहहरु पनि निर्माण भएका छन् । संस्थाको भवन निर्माण गरिएको छ । संस्थालाई ऋणबाट मुक्त बनाउने काम पनि मैले यस अवधिमा गराएको छु ।

यहाँसम्मकी घोराही खानेपानीले वितरण गरेको पानी यतिसम्म स्वच्छ छकी उपभोक्ताहरुले सिधै खान सक्छन् । स्वास्थ्यकर पानी वितरण गर्दै आएका छौँ । डिपबोरिङको पानीलाई उच्च प्रशोधन गरेर वितरण गर्दै आएका छौँ । अहिलेको विशाल भौतिक संरचनाको निर्माण त्यति सहजको विषय हैन होइन । अहिले आधा दर्जन आयोजनाहरुबाट करिव ६ हजार धाराबाट हजारौ उपभोक्ताहरुलाई पानी खुवाउने वातारण बनाईएको छ । घोराही खानेपानीलाई संस्थागतरुपमा बलियो बनाउन यस बीचमा मलाई सहयोग गर्ने धेरै निकायहरु छन्, उनीहरु सबैलाई म सम्झन चाहन्छु । यस अबसरमा धन्यवाद पनि दिन्छु । यहाँका सबै राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, संघसंस्था सबैले घोराही खानेपानीलाई बलियो बनाउने सवालमा भूमिका खेल्नु भएको छ । जसको म उच्च कदर गर्न चाहन्छु ।

 यसपालीको निर्वाचनमा अलि बढि राजनीतिक करण भयो भन्ने सुनिन्छ नी ?
— मैले सधैभरी सबैलाई समेटेर अगाडी बढ्ने कोसिस गरेको छु । जसले गर्दा यस अगाडी पनि संस्थामा सबै दलको प्रतिनिधित्व हुने गरी सल्लाकारमा हामीले राखेका थियौ । यस पालि पनि संस्थालाई सर्वसम्मतरुपमा लैजाउँ भन्ने नै थियो । तर त्यस्तो हुन सकेन । निर्वाचनमा जानुपर्ने वाध्यता आइ लाग्यो । हामी यतिबेला स्वस्थ प्रतिष्पर्धामा छौ । यसलाई लोकतान्त्रिक विधिबाट अगाडी बढेको सम्झदा राम्रो होला । यहाँले भने जस्तै यस विषयमा केहीले गुनासो पनि गर्नु भएको होला ।

तर बाहिर आए जस्तो यो राजनीीतक करण भयो भन्ने कुरासँग मात्र जोडेर हेर्न मिल्दैन । हामी समग्र खानेपानीको विकास, विस्तार र स्रोत संरक्षणमा चासो दिने चिन्ता लिने ब्यक्तिहरुको विस्वास लिएर अगाडी बढेका छौ । उपभोक्ताहरुको ईच्छा, चाहना अनुसार नै मेरो उम्मेदवारी परेको हो । मेरो कामलाई देखेर यस अगाडी पनि सबै दलले मलाई सहयोग गर्दै आउनु भएको छ । एक प्रकारले भन्ने हो भने सबैको साथसहयोगले अगाडी बढ्ने क्रममा खानेपानी नै मेरो जीवन जस्तो भएको छ, मैले यो जीवन खानेपानीको विकासका लागि दिएको छु । जसले गर्दा सबैको माया मैले पाएको छु ।

अन्त्यमा केहि भन्नु छ ?
— सबै कुरा आईसकेको छ । यो तीन वर्षमा मेले कार्यालय व्यवस्थापनको समेत काम गर्नु पर्ने छ । प्रविधिहरुको प्रयोग आबश्यक देखिएको छ । टोल फ्रि नम्बरबाट घरमै बसेर उपभोक्ताहरुले सेवा लिने व्यवस्था गर्नुपर्ने छ । खानेपानीका लागि विभिन्न निकायहरुसँगको समन्वय र सहकार्य आबस्यक छ । त्यसलाई सुदृढ पनि गराउनु छ । अन्त्यमा तपाईको यो लोकप्रिय पत्रिकामा मलाई पनि स्थान दिनु भयो त्यसको लागि तपाई र तपाईको टिमलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया