ताजा अपडेट

शून्यबाट गरिएको सुरुवात, शारिरीक अपांगता भएका ब्यक्तिहरु व्यवसायबाट आम्दानी गर्दै

          |   126 Views   |   Published Date : 14th September 2018 |

नवीन अभिलाषी दाङ, भदौ  । घोराही ५ भैसापत्राका रिता सिजवाल गाउँमै स्वरोजगार हुनुहुन्छ । चार महिनामै आगोले पोलेर एउटा हात र अनुहारमा समस्या देखिएपछि धेरैले उहाको बारेमा नकारात्मक कुराहरु गरे । विचरा भने र कमजोर सोँचे । दुनियाले कमजोर भनेका कुराहरुलाई टेक्दै उहाले कक्षा १२ सम्मको अध्ययनलाई पुरा गर्नुभयो ।

रिताले भैसापत्रामै ३ हजार रुपैया लगानी गरेर पानी पुरी चाटको पसल सञ्चालन गर्नुभएको थियो । गुन्द्री विच्छ्याएर गरिएको पसलले अहिले रिताको परिवारको प्रमुख आयस्रोत भएको छ । त्यहि ठाउँमा सानो घर निर्माण गरेर सिलाईकटाई, किराना पसल र चाट पानीपुरीको पसल सञ्चालन गर्दै राम्रो आम्दानी गरेको रिताले बताउनु हुन्छ । ‘धेरैले केहि गर्न सक्दैन भन्थे, मलाई पनि हो जस्तै लाग्थ्यो, तर जीवन यत्तिकै खेर फाल्नु पनि त भएन भन्ने सोँचेर व्यवसाय सुरु गरेको हुँ । अहिले ठिकै चलिरहेको छ ।’ रिताले भन्नुभयो, ‘तीन हजार रुपैयाबाट सुरु गरेको हुँ, अहिले घर खर्च मेरै पसलले चलेको छ ।’

घोराही १८ अम्बापुरका चुडामणी पुरी पनि शारिरीक रुपमा अशक्त हुनुहुन्छ । ह्वील चियरको माध्यमबाट हिडडुल गर्ने चुडामणि पनि व्यवसाय सुरु गरेको केहि वर्ष भैसकेको छ । अम्बापुरमै रहेको अम्वीकेश्वरी मन्दिर परिसरमा फलफूल, पुजा सामग्री सहितको किराना पसल सञ्चालन गर्नुभएको छ । करिब ७० हजार रुपैयाबाट सुरु गर्नुभएको पसलले घर खर्च सञ्चालन गर्न सहज भएको छ । ‘अरु काम गर्न सकिदैन, त्यसैले व्यवसाय सुरु गरौँ भन्ने लाग्यो, केहि सस्थाले दुई हजार पनि सहयोग गर्नुभयो, त्यसैबाट सुरु गरेको व्यवसाय अहिले राम्रै भएको छ ।’

शारिरीक अपांगता हुनु भएका जुठे घर्तिले अहिले अटो रिक्सा चलाउनु हुन्छ । कम्मर देखि तलतिरको भागले राम्रो संग काम नगरेपछि दुई हातको सहाराबाट उहाले आफ्नो दैनिकी चलाउदै आउनु भएको छ । ३ लाख रुपैयामा किनेको अटो रिक्सा आम्दानीको राम्रो स्रोत भएको छ । ‘पहिले त अटो रिक्साहरु कम थिए, आम्दानी राम्रै थियो, अहिले धेरै छन्, कमाई पनि ठिक छ ।’ घर्तिले भन्नुभयो, ‘आफुले गर्न सक्ने काम यहि राम्रो लाग्यो, यहिबाट सुरु गरेको छु । राम्रै भैरहेको छ ।’

४० बर्षिय घर्ति ७÷८ वर्ष हुँदा ढाडमा घाउ भएको थियो । धेरै उपचार गर्दा पनि निको भएन, त्यसले कम्मर मुनीको भाग नलाग्ने बनाईदियो । सानैमा शारिरीक रुपमा कमजोर बनेपछि कर्म गर्नका लागि भने छेकेन । ‘विहे गरेको छु, ३ वटा बच्चाहरु छन् । ब्यक्तिगत रुपमा मलाई खासै केहि समस्या छैन ।’ घर्तिले भन्नुभयो, ‘सामाजिक रुपमा अपांग भैसकेपछि धेरैले कमजोर मानिसको रुपमा सोच्छन् ।’ रिक्सा चलाउँदा पनि सामान उठाउनु पर्ने बेला नसक्ने भएपछि ग्राहक अर्कै रिक्सामा जाने गरेको उहाले बताउनुभयो ।

रिता सिजवाल, चुडामणी पुरी र जुठे घर्ति यो समाजका प्रतिनिधि पात्रहरु मात्रै हुनुहुन्छ । शारिरीक रुपमा अशक्त भएपनि आफुले सक्ने काम गरेर यहि समाजमा आत्मनिर्भर भएर बाँच्नु भएको मात्रै छैन अरुलाई प्रेरणाको स्रोत समेत बन्नु भएको छ । पोलियो थोपा नखाएका कारण अपांग बन्नु भएका चुडामणी पुरीले व्यवसायबाट मासिक रुपमै १५ हजार रुपैयासम्म आर्थिक आर्जन गर्नुहुन्छ भने रिता सिजवाल अहिले गाउँमै राम्रो व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।

शारिरीक रुपमा अपांगता भएका ब्यक्तिहरुलाई सरकारले आर्थिक तथा विभिन्न तालिमहरुको राम्रो सहयोग गर्न आबस्यक रहेको रिताले बताउनुभयो । ‘अपांगता भएका ब्यक्तिहरुलाई सरकारले बसेर गर्न सकिने तालिम र अनुदानको सहयोग गरे सहज हुने थियो ।’ रिताले भन्नुभयो । आर्थिक सहयोग भए व्यवसाय गर्न कुनै समस्या नभएको अम्बापुरका चुडामणीले बताउनुभयो । ‘धेरै साथीहरु आर्थिक अभावकै कारण बेरोजगार बस्नु पर्ने बाध्यता रहेको छ, सरकारले अनुदान दिने हो भने म जस्ता शारिरीक अपांगता भएका ब्यक्तिहरुलाई जीवन बाँच्न सहज हुने थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१