ताजा अपडेट

“ प्रहरीले घटनाका बारे अनुसन्धान गर्न आलटाल गरेको बुबा पन्तको आरोप

          |   82 Views   |   Published Date : 13th September 2018 |

काठमाडौँ, २८ भदौ| बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गरेका हुन् ।

निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गर्नुभयो । “प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ,” उहाँले भन्नुभयो ।

छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उहाँले आरोप लगाउनुभयो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताउनुभयो । “जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौँ,” उहाँले भन्नुभयो ।

मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गर्नुभयो ।  अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाउनुभयो ।

मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन÷तीन वटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताउनुभयो । निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो ।  (रासस)

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१