ताजा अपडेट

८ वर्षपछि माल्दिभ्ससँग भिड्दै नेपाल

          |   74 Views   |   Published Date : 12th September 2018 |

काठमाडौं । नेपाली फुटबल टोली यतिबेला नयाँ इतिहास रच्ने ध्याउन्नमा छ । साफ च्याम्पियनसिप फुटबलमा ५ औं पटक सेमिफाइनल पुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।

नेपाली टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्न प्रायजसो खेलाडी फेरबदलमा परे । तर, गोलरक्षक किरण चेक्जोङ र डिफेन्डरमा अनन्त तामाङ, सुमन अर्याल र आदित्य चौधरी पहिलो रोजाइमा पर्दै आएका छन् । त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्टलगायत खेलाडी पहिलो रोजाइमा परेका छन् भने अन्य खेलाडी सस्ब्टिच्युट हुने गरेका छन् ।


नेपालको फिनिसिङ लाइनमा भने स्ट्राइकर विमल घर्तीमगर पहिलो रोजाइमा रहँदै आएका छन् । उनले यो सिजनको साफ च्याम्पियनसिपमा २ गोल गरिसकेका छन् । विमलसँगै नवयुग श्रेष्ठ र भरत खवास रोजाइमा पर्ने गरेका छन् ।नेपाली टोलीकोे बलियो खम्बा मानिएका डिफेन्डर रोहित चन्दले माल्दिभ्सको टिममा युवाहरु रहेको उल्लेख गर्दै नेपाली टोलीमा पनि युवाहरु रहेकाले माल्दिभ्ससँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । नेपालका लागि विमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुनिल बल, आदित्य चौधरी, रोहित चन्दलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

इतिहासमा माल्दिभ्स बलियो, नेपाल कमजोर
नेपाल र माल्दिभ्स चिरप्रतिद्वन्द्वी हुन् । यी दुई टोलीले एक—अर्काविरुद्ध यसअघि अहिलेसम्म १५ पटक खेलिसकेका छन् । नेपाल र माल्दिभ्सको पहिलो पटक भेट सन् १९८४ को साउथ एसियन फेडेरेसन गेम्समा भएको थियो । त्यसमा नेपालले माल्दिभ्सलाई ४—० गोल अन्तरले पराजित गरेको थियो ।

त्यसयताका १५ खेलमध्ये नेपालले ४ खेल जितेको छ भने माल्दिभ्सले ७ खेल जितेको छ । त्यस्तै, यी दुई टोलीले ४ खेल बराबरी खेलेका छन् । नेपाल र माल्दिभ्सको सन् २०१२ को मैत्रीपूर्ण खेलमा पनि भएको थियो, जुन खेलमा नेपाल २—१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले माल्दिभ्सलार्इ पछिल्लो पटक सन् २०१६ को बंगबन्धु गोल्डकपमा ४ – १ ले हराएको थियो । नेपालले उक्त संस्करणको बंगबन्धु गोल्डकप जितेको थियो । पछिल्लोपल्ट साफमा नेपाल र माल्दिभ्स सन् २०११ को भारतमा भएको साफ च्याम्पियनसिपमा एक—अर्काविरुद्ध खेलेका थिए, जुन खेल १—१ को बराबरीमा सकिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१