ताजा अपडेट

मासु ब्यवसायीलाई तह लगाउदै स्थानीय सरकार

          |   92 Views   |   Published Date : 12th September 2018 |

सन्तोष अधिकारी दाङ, २७ भदौ ।  अव्यवस्थीत रुपमा पशुको बधगरी फोहर पानीले धोएर मासु विक्रि गर्ने ब्यवसायीहरुलाई स्थानीय सरकारले तह लगाउने भएको छ । पटक पटकको अनुगमन पश्चात दिईएको निर्देशन नमानेका मासु व्यवसायीहरुलाई उप महानगरपालीकाले बधशाला नै बन्द गराउने चेतावनी समेत दिएको छ ।


स्थानीय तहको निर्वाचन पश्चात आएका जनप्रतिनिधिहरुले पहिलो काम बजार व्यवस्थापनवाट सुरु गरेका थिए । घोराही उप महानगरपालीका १४ का अध्यक्ष शक्तिराम डाँगीले वडालाई व्यवस्थीत बनाउने भन्दै २०७४ असोज २४ गते बजार अनुगमन गरे । अधिकांश पसलमा मासु खुल्ला रुपमा झुण्डाएर विक्रि गरेको पाईएपछि असोज २९ गते मासु व्यवसायीहरुलाई वडा कार्यालयले छलफलका लागि बोलाएको थियो । वडा कार्यालयमा भएको व्यवसायी तथा सरोकारवालाहरु विचको छलफलमा झुण्डाएर मासु बिक्रि नगर्ने, फ्रिजिङ गर्ने, फलामको हुक प्रयोग नगर्ने, बधशालाको नियमित सरसफाई गर्ने, लगाएतका सहमति भयो ।

तर त्यसको एक साता पछि भएको अनुगमनमा कुनै फरक नभेटिएपछि वजारका विभिन्न पसलहरुवाट २४ केजी दुई सय ग्राम मासु जफतगरी डम्पीङ साईडमा लगेर फ्याकिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । “मासु व्यवसायीहरुले आफैले गरेको निर्णय कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप मासु जफत गरिएको हो” डाँगीले भने ।

मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने मासु सफा तथा व्यवस्थीत रुपमा विक्रि गर्ने वडा कार्यालयको आग्रहलाई मासु व्यवसायीहरुले वास्ता गरेनन् । व्यवसायीहरुले वडा कार्यालयमा आफैले गरेको निर्णयलाई लत्याउदै उच्च अदालत तुलसीपुरमा वडा अध्यक्ष शक्तिराम डाँगी विरुद्ध मुद्धा समेत दाएर गराए ।

जनताको सेवा गर्दा गर्दै आफु विरुद्ध मुद्धा दाएर भएपछि उनले मासु तथा बधशाला ब्यवस्थापनको काम थाती राखेका थिए । “जनताको सेवा गर्दा गर्दै पनि मैले मुद्धा खेपे तर मैले गरेको निर्णयमा म अडिग नै छु” डाँगीले भने । अहिले व्यवसायीहरुले मुद्धा फिर्ता लिएको भन्ने सुनेको तर आफुलाई जानकारी नआएको डाँगीले बताए । करिव करिव एक वर्ष सम्म बधशाला तथा मासु पसलहरुको अनुगमन नभएपछि आजीत भएका टोलवासीहरु गुनासो पोख्न वडा कार्यालय पुगे । स्थानीय टोलवासीहरुको पटक पटकको आग्रहलाई टार्न नसकेपछि पुनः अध्यक्ष डाँगी २०७५ भदौ १९ गते मासु बधशालामा अनुगमनका लागि पुगे । अनुगमन टोलीमा उप महानगरपालीकाकी उप प्रमुख सिता न्यौपाने, नगर पशु शाखाका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, नागरीक समाज, पत्रकारहरु रहेका थिए ।

अनुगमन टोली वधशाला भित्रको दुर्गन्धले प्रवेश गर्नै सकेन । त्यहाँ बध गरीएको मासु खान लाएक नभएको र फोहर जताततै फाल्ने गरेको, खोलाको पानीले धुने गरेको जस्ता कुराहरु भेटिएपछि उप महानगरपालीकाले बधशाला बन्द समेत गरायो । खुल्ला रुपमा झुण्डाएर मासु विक्रि गर्ने व्यवसायीहरुलाई सचेत गराउदा गराउदै पनि अटेरी गरेपछि घोराही उप महानगरपालीकाले बधशाला बन्द गराएको हो ।

बधशाला बन्द भएपछि मासु व्यवसायीहरु सुचारु गरीदिन भन्दै र त्यहि अवस्थामा सुचारु गर्न नहुने भन्दै स्थानीय टोलवासीहरु भदौ २० गते वडा कार्यालय पुगेका थिए । तिन घण्टा लामो छलफपछि मासु व्यवसायीहरुसंग ६ बुँदे सहमति गरी सञ्चालनगर्न घोराही उप महानगरपालीकाले अनुमति दिएको छ । पशुवाट निस्कने फोहर निश्चित ठाँउमा खाल्डो खनेर फाल्नुपर्ने, खोलाको पानीले मासु सफा गरीरहेकोमा ईनार तथा धाराको पानी प्रयोग गर्नुपर्ने, अहिलेको बधशालालाई पहिला पुर्णरुपमा सरसफाई गर्नुपर्ने लगाएतका ६ बुँदामा व्यवसायीहरु सहमत भएका छन् । अहिलेको निर्णय कार्यान्वयनमा नआए बधशाला नै बन्द गराउने सोचमा उप महानगरपालीका पुगेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१