ताजा अपडेट

निर्मला हत्या प्रकरण : दिलिपको डिएनए गर्न लगाउने सीआइबीले पनि हावा खायो

          |   84 Views   |   Published Date : 12th September 2018 |

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले अन्तर्राष्ट्रिय ख्याती कमाएको, अनुसन्धानमा अब्बल रहेको र अहिलेसम्मका अनुसन्धानमा धोका नखाएको आदी इत्यादी धेरै कुराले विश्वास गरिन्छ । अपराध अनुसन्धानमा अन्तर्राष्ट्रियरूपमै दाेस्राे तेस्राे दर्जामा छ, सीअाइबी ।

तर, निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा भने सीआइबीको अनुसन्धानले हावा खाएको छ । सीआइबीबाट एक पटक होईन पटक–पटक टोली खटिएको छ । डिएसपी अंगुर जीसी र एसएसपी ठाकुर ज्ञवाली देखिने गरी नै व्यूरोबाट खटिएका थिए । सीआइबीको टोलीकै सहयोगमा निर्मला हत्याको आरोपमा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको बताइन्छ ।

सीआइबीकै सहयोगमा दिलिपको डीएनए परीक्षण गर्न लगाइएको र उनको डिएनए निर्मलाको पोष्टमार्टम गरेपछि आएको डिएनए रिपोर्टसँग मेल नखाएको कुरा सार्वजनिक भइसकेको छ । डिएनए मेल नखाएपछि दिलिप प्रहरी थुनामुक्त समेत भइसकेका छन् ।

दिलिप थुनामुक्त भएकै दिन मंगलबार राति गृह मन्त्रालयमा बसेको बैठकले समेत गृह र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गरेर अनुसन्धानमा संलग्नबारे छानविन गर्ने निर्णय गरिसकेको छ ।

यसले, विशेष दक्षता भएका र अनुसन्धानमा पोख्त प्रहरी अधिकारी रहेका भनिएको सीआइबीमाथि प्रश्न उठेको छ । यो कुराले विधि विज्ञानका जानकारले गरेको दाबी समेत पुष्टि भएको छ । केही दिनपहिले हाम्राकुरासँग नेपालको पहिलो फरेन्सिक साइन्टिस्ट श्यामध्वज कार्कीले नेपालका कलेज अथवा एकेडेमीहरुमा विधि विज्ञानबारे राम्ररी पढाई हुँदैन भनेका थिए  । उनका अुसार पढाइहाले पनि मेडिसिनबारे पढाउने प्राध्यापक डाक्टरहरुले विधि विज्ञान पढाइरहेका हुन्छन् । उनी भन्छन्, ‘फरेन्सिक साइन्स अथवा विधि विज्ञान छुट्टै विषय हो । यो डिएनए, न्यूक्लियर अथवा व्यालेष्टिकसँग सम्बन्धित छ । यसको छुट्टै पढाइहुनुपर्दछ । फरेन्सिक साइन्सकै प्राध्यापकले पढाउनु पर्दछ ।’ कार्कीको भनाईलाई लिने हो, भने सीआइबीभित्र विधि विज्ञान जानेका कति जना छन् ? भनेर खोज्नु पर्ने अवस्था आएको छ ।

अर्कोतिर सीआइबीको ब्रिफ सुनेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक रुपमा मानसिक अवस्थाको मान्छेले यस्तो घटना घटाउँदैन भन्न सकिँदैन भनेर दिलिप नै अभियुक्त ठहरिन्छन्, जसरी बोलेका थिए । यहाँनेर उनको विश्वासले पनि धोका खाएको छ ।

महेन्द्रनगरमा प्रहरीले नक्कली अभियुक्त खडा गरेर अपराधी जोगाउन खोज्यो भन्दै आन्दोलन चर्किँदा, त्यतिमात्रै होईन प्रहरीको गोली खाएर एक जनाको मृत्यु हुँदा तथा गोली लागेर कसैको हातखुट्टै काट्नु पर्दासम्म पनि प्रहरी प्रधान कार्यालय आफ्ना निकायको अनुसन्धानप्रति विश्वस्त थियो ।

अहिले प्रहरी प्रधान कार्यालयले पनि हावा खाएको छ । अन्ततः अनुसन्धानमा संलग्नहरुबाटै अब अपराधी खोज्ने बाटो तय गर्नु पर्ने अवस्था आयो । अनुसन्धानमा अब्बल मानिएका डिएसपी अंगुर जीसीलाई सीआइबीले कञ्चनपुर पठायो । उनको टोलीको सहयोगमा दिलिप विष्ट पक्राउ परे ।

प्रहरीले मुख्य अभियुक्त भनेर पत्रकार सम्मेलनमा दिलिपलाई देखायो । उनको मानसिक अवस्था ठिक नभएको पनि भन्यो । उपचारका लागि काठमाडौं ल्यायो । डिएनए परीक्षण प्रपञ्च रच्यो । डिएनए पनि परीक्षण भयो । त्यसको रिपोर्ट सिधै खामबन्दी भएर कञ्चनपुर पुग्यो । त्यो सार्वजनिक नहुँदासम्म दिलिप चार दिन थुनामै बसे । मंगलबार डिएनए नमिलेको सार्वजनिक भयो । एकै झट्कामा सीआइबीको हविगत छरपष्ट भयो ।  यसले प्रष्ट हुन्छ सीअाइबीकाे अपरिपक्वता वा मिलेमताे !

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१