ताजा अपडेट

आज हरितालिका तीज पर्व मनाइदै

          |   152 Views   |   Published Date : 12th September 2018 |

दाङ, भदौ  । नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।


तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।


भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।
तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ ।

तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१