ताजा अपडेट

हिंसाले दिएको हिम्मत , आँसु विर्सेर योजना बनाउँदै हिंसा प्रभावित महिलाहरु

          |   65 Views   |   Published Date : 11th September 2018 |

नवीन अभिलाषी दाङ, भदौ २६  । पैसा एक रुपयाँ छैन । कतैबाट आउला र कसैले दिन्छ भन्ने आस पनि छैन । तर हिम्मत छ । त्यहि हिम्मतले कुखुरा फार्म खोलिएको छ, खोरमा बाख्राहरु छन्, हाते होजियारी र मेसिनरी होजियारी सञ्चालन हुन्छन् । दुई वटा घर बनेका छन् । यो भन्दा धेरै योजनाहरु छन् ।

लैगिंक हिंसा प्रभावित महिलाहरु अहिले विगतको आँसु विर्सेर योजना बनाईरहेका छन् । घरपरिवारबाट पीडित भई घर छोडेर निस्केका महिलाहरुले दिर्घकालिन रुपमा स्वरोजगार बन्ने प्रयासमा छन् । सक्षम महिला सामुदायीक संस्थाले घोराही उपमहानगरपालिका १३ सेवारमा हिंसा प्रभावित महिलाहरुलाई उद्यमशील बनाउन खोजिरहेको छ । कुनै पनि निकायहरुको सहयोग नभएरै संस्थाले कृषि र उद्यमशीलताको क्षेत्रमा काम गरीरहेको छ ।

नेपाल महिला सामुदायीक सेवा केन्द्रकी अध्यक्ष विमला योगीले दिएको आठ कठ्ठा जग्गा र एउटा घरमा सक्षम महिला सामुदायीक संस्थाले अर्को सानो घर बनाएको छ । त्यो घर निर्माणका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने आस्वासन दियो तर सहयोग गरेन । ‘विमला योगीले दिनु भएको जग्गा अझै हाम्रो नाममा भैसकेको छैन, घर निर्माण गर्न नगरपालिकाले भन्यो, हामीले ऋण गरेर घर पनि बनायौँ, तर सहयोग गरेन, हामी महिलासंग अलि अलि सुन थियो, सुन बेचेर ऋण ति¥यौ ।’ संस्थाका अध्यक्ष रचना सुबेदीले बताउनुभयो ।

अहिले त्यहि घरमा उन्नत जातका कुखुराहरुको फार्म सञ्चालित छ । गत फागुन देखि सञ्चालन गरीएको फार्ममा दुई सय पचास कुखुराहरु छन् । यस्तै ११ वटा बाख्राहरु पालेर संस्थाले आम्दानीको स्रोत निर्माण गर्न खोजेको अध्यक्ष सुबेदीले बताउनुभयो । सस्थामा आबद्ध ४० जना हिंसा प्रभावित महिलाहरु आबद्ध छन् । त्यसमध्य २१ जनाले हाते होजियारी मार्फत विभिन्न प्रकारका कपडाहरु निर्माण गर्छन् भने ६ जनाले मेसिन मार्फत होजियारी सामग्रीहरु उत्पादन गर्छन् । होजियारी मार्फत उत्पादित सामग्रीहरु दाङ सहित जिल्ला बाहिर समेत माग छ ।

‘घरबाट निकालिएका हिंसा प्रभावित महिलाहरु ४५ दिनसम्म सेभ हाउसमा बस्न पाउछन्, त्यसपछि उनिहरुलाई कहाँ पठाउने ? माईतीले घर पठाउछन्, घरमा स्वीकार गर्दैनन्, त्यस्ता महिलाहरुले सक्षम महिला सामुदायीक संस्थामा आउछन् ।’ अध्यक्ष सुबेदीले भन्नुभयो, ‘ति महिलाहरुले आएकै दिन देखि यहा काम गर्नु हुन्छ, सिप सिक्नु हुन्छ, कृषि काम गर्न पाउनु हुन्छ । त्यो व्यवस्था हामीले गर्न खोजिरहेका छौँ, तर सहयोग कसैले गर्ने गरेको छैन ।’

युएनएफपीएका पुर्ण विश्वकर्माले हिंसा प्रभावित महिलाहरुलाई अब कमजोर पात्रहरुको चित्रण गर्न नहुने बताउनुभयो । विचरा, कमजोर, दुखी महिलाहरुको रुपमा ब्याख्या भन्दा पनि स्वरोजगार, स्वाबलम्वी, कर्मशील महिलाहरुको रुपमा समाजले चिन्न जरुरी रहेको उहाको भनाई थियो । उहाले यस्ता महिलाहरुलाई सुरक्षा दिनु, संरक्षण गर्नु र विकास गर्नु स्थानिय सरकारको काम रहेको विश्वकर्माले बताउनुभयो । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले हिंसा प्रभावित महिलाहरुलाई हिम्मत गरेर काम गर्न सुझाव दिनुभयो । विगतका कुरा सम्झेर आफुलाई कमजोर नबनाउन आग्रह गर्दै मेयरले हिंसा प्रभावित महिलाहरुको सिप विकासका लागि कार्यक्रम रहेको उहाको भनाई छ । उहाले योजना बनाउन आग्रह गर्दै आफुले सहयोग गर्ने प्रतिबद्धता समेत बताउनुभयो ।

सभ्य तीज मिलन

सक्षम महिला सामुदायीक संस्थाले करिब १० वर्ष देखि तीज मिलन कार्यक्रम गर्दै आएको छ । न गहनाको ताम झाम, न भड्किलो शैली, कम खर्चमा अत्यन्तै सुन्दर कार्यक्रम यो वर्ष पनि संस्थाले गरेको छ । हिंसा प्रभावित महिलाहरु सहभागी भएर कार्यक्रममा दर खाएका छन् भने तीजको गीतमा नाचेर खुशी साटेका छन् ।

सस्थाले प्रत्येक वर्ष दर खाने कार्यक्रम गर्ने भएकाले धेरै जसो हिंसा प्रभावित महिलाहरु सहभागी हुने गर्छन् । विभिन्न समयमा सस्थामा बसेर पछि सुरक्षित महसुस गरी विभिन्न स्थानमा पुगेका महिलाहरु तीजको समयमा दर खान एक पटक संस्थामा आईपुग्छन् । यो वर्ष पनि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी, महिला मानव अधिकार सक्षक सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य, यूएनएफपीएका पुर्ण विश्वकर्मा, सामुदायीक महिला सेवा केन्द्रका अध्यक्ष विमला योगी, ओरेक दाङका अध्यक्ष ईश्वरी थापा लगाएतको सहभागीता रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१