नेपाल तरुण दलका नगर अध्यक्षको गोली हानी हत्या
गोली हानी हत्या गरेको आरोपमा रोल्पा नगरपालिका १० धबाङका देवबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बेलुकी करिव ५ बजेतिर बुढामगरले चलाएको ३ राउण्ड गोलीबाट करिव २८ वर्षीय पुनमगरको मृत्यु भएको हो। सुनिल स्मृति गाउँपालिका ४ सुलिचौरमा रहेको रेशप्वाइन्ट होटेलमा दुवैबीच विवाद हुँदा गोली चलेको प्रहरी स्रोतले बतायो। सुलिचौर इलाका प्रहरी कार्यालय अगाडि नै गोली चलेको हो।
पुनमगर नेपाल तरुणदलका रोल्पा नगर अध्यक्षसमेत हुन्। बुढामगरले आफूलाई एउटा समूहले आक्रमण गर्न खोजेको र त्यसको प्रतिरक्षाका लागि आफूले गोली चलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। नेपाल तरुणदलको रोल्पाका अध्यक्ष तिरशपति बुढामगरले आरोपी बुढामगर र मृतक पुनमगरबीच सानै उमेरदेखिको व्यक्तिगत विवाद रहेको बताए।
उनले दुवैबीच लामो समयदेखि मनमुटाव रहेको र त्यसको हल गर्नका लागि आफू निरन्तर लागेको भए पनि अन्त्यमा आएर घटनाले जटिलरूप लिएको बताए। उक्त घटनालगत्तै सुलिचौर बजार तनावग्रस्त रहेको समेत स्थानीय पत्रकार दाना सुवेदीले बताए। उनका अनुसार स्थानीय कार्यक्रताले उक्त घटनाको विरोध गरेका छन्। पुनमगरको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर बाहिर राखिएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दीपक खड्का घटनास्थल सुलिचौर पुगिसेका छन्।
घटनाको थप अनुसन्धान गर्न बाँकी रहेको प्रमुख खड्काले जानकारी दिए। रोल्पामा दिउँसै गोली हानेर हत्या गरिएको शान्तिप्रक्रिया यताको यो पहिलो घटना हो।



Leave a comment