ताजा अपडेट

मान्छे मान्छेको दिमागमा छ बलात्कार

          |   91 Views   |   Published Date : 3rd September 2018 |

आहुती महिलाहरु सुन्दर प्रजाति र भोग्या वस्तु हुन् भन्ने सोचमा चलिरहेको छ समाज । त्यस्तो समाजमा हुर्किएको युवा होस् या प्रौढ, ‘महिलालाई दमन गर्न पाउनु मेरो हक हो’ भन्ने सत्व उसको भित्रैबाट निर्माण भैरहेको हुन्छ । यसरी तयार भएको पुरुष मौका पाउने बित्तिकै महिलामाथि झम्टन पुगिहाल्छ ।

प्रचलित भाषामा जेलाई बलात्कार भनिएको छ, त्यसको मुख्य सम्बन्ध हाम्रो समाजको सोच र संरचनासित छ । सात–आठ हजार वर्षअघिदेखि चल्दैआएको विवाह नामक संस्था नै बलात्कारबाट शुरु भएको हो । जबरजस्ती अर्काे कबिलाका महिलालाई लुटेर ल्याई निजी स्वास्नी बनाउन शुरु गरेदेखि नै विवाह नामक संस्थाको जन्म भएको हो । विवाहलाई संस्कारको स्वरुप दिन थालेपछि त्यसलाई ‘बलात्कार’ मान्न छाडियो । यसरी हेर्दा बलात्कारको श्रृंखला धेरै लामो छ ।

अहिलेको विश्व वा नेपाली समाज पितृसत्तावादी सोच र संरचनामा चलिरहेको छ । पितृसत्तावादी सोच र संरचनामा बलात्कारका घटना घट्नुको साटो बढी नै रहनेछन् । यस्ता घटना आजभन्दा भोलि भोलि भन्दा पर्सी झन झन बढ्दै जानेछन् ।

पितृसत्तावादी सोच नबुझेसम्म बलात्कारको जड कारण बुझ्न सकिँदैन । पितृसत्ताका तीन ओटा आधारभूत दृष्टिकोण हुन्छन् । पहिलो, महिला पुरुषभन्दा शारीरिक र वौद्धिक रुपमा कमजोर हुन्छन् । दोश्रो, महिलाहरु प्रकृतिले पुरुषका निम्ति भोग्न बनाएको भोग्य वस्तु हुन् । तेश्रो अवधारणाले पुरुष शक्तिशाली र महिला सुन्दर प्रजाति हुन् भन्ने ठान्दछ ।

यही पितृसत्तावादीे सोच र अवधारणा अनुरुप नै परिवार, समाज र राज्यको संरचना बनेको हुन्छ । बच्चालाई हुर्काउँदादेखि नै हामीले यही सोच अनुरुप हुर्काउँछौं । प्रशिक्षित गराउँछौं । जन्मनासाथ छोरालाई ‘ओहो, कस्तो बलियो !’ भन्ने र छोरीलाई ‘आहा, कति राम्री !’ भन्ने गरेबाटै शुरु हुन्छ यो कथा ।

स्कूल पठाउँदा छोरालाई पाइन्ट लगाएर तयार पारिन्छ, छोरीलाई फ्रक लगाएर । छोरीको कपाल लामो बनाउने र छोराको छोटो बनाउने गरिन्छ । लुगाफाटा पनि बिल्कुल फरक तरिकाले डिजाइन गरिन्छ, सिलाइन्छ र पहिराइन्छ । मोटर साइकलसम्म पनि फरक–फरक चढ्नुपर्छ । पुरुष जतिलाई छरितो बनाउँदै हुर्काइन्छ, महिला जतिलाई अनेक ढंगले छिटो–छरितो हिँड्न, काम गर्न नसक्ने गरी पालनपोषण गरिन्छ । अनावश्यक ढंगले शरीरका भाग देखिएलान् भनेर ढाक्न लगाइन्छ । महिलालाई कमजोर बनाउने ढंगले संरक्षित गरिन्छ ।

यसरी हुर्काउँदै जाँदा छोरो अर्कै चालढालको बन्दैजान्छ, छोरी अर्कै । संरचना पनि हामी यसै अनुरुपको बनाउँछौं । छोरीलाई अबेला भैसकेपछि घरबाट निस्कन दिँदैनौं, ढिलो गरेर घर आए भने गाली गर्छौं, अनेकौं डर–त्रास देखाउँछौं । छोरोलाई चाहिँ छिटो आऊ है मात्र भन्छौं, ढिलो गरेर आए पनि केही गर्दैनौं । उसको जीवनशैली भोलि ऊ घरको मालिक हुने हो भन्ने ढंगले व्यवस्थापन गरिन्छ, उसलाई निडर बनाउने कोशिस गरिन्छ । छोरीलाई अर्काको घरमा जाने त हो भनेर बाँच्न सक्ने मात्र बनाउन थालिन्छ । छोरीको खानपान, शिक्षादीक्षाको सबै कुराको व्यवस्था त्यसरी नै गर्ने गरिन्छ । यस्तो संरचनाले अनिवार्य रुपमा जन्माउने भनेको बलात्कारी पुरुष र बलात्कृत हुन योग्य महिला हो । त्यसैले हरेक घरमा हामी बलात्कारी पुरुषहरुलाई हुर्काइरहेका छौं र महिलाहरुलाई बलात्कृत हुने संरचनाभित्र बाँच्न बाध्य पारिरहेका छौं ।

महिलाहरुको हालत कमजोर भएकोले यहाँ महिलाद्वारा पुरुष बलात्कृत भैरहेका छैनन् । विकसित देशहरुमा त्यस्तो पनि भैरहेको छ । तर त्यो पनि पितृसत्तावादकै उपज घट्ना हो– कमजोरमाथि शक्ति प्रयोग गर्ने । अहिले जे भैरहेको छ, त्यही शैलीमा त्यसको उल्टो गर्नु पनि गलत कुरा हो । तसर्थ बलात्कारलाई यस्तो सोचमा समग्र प्रहार गर्ने र समाजलाई नै परिवर्तन गर्ने अभियानसँग जोड्न सक्नुपर्दछ । कानून बनाएर मात्र यो समस्या हल हुँदैन ।

महिलापनि एउटै साँचोमा

पारिवारिक मात्र होइन, हाम्रो सामाजिक, आर्थिक र राजनैतिक संरचना पनि पित्तृसत्तात्मक सोचमा आधारित छ । त्यसैले जहाँ गएपनि महिला बन्धक जस्तो भैहाल्छन् । अहिले शिक्षामा बढ्दो पहुँचले महिला वौद्धिक रुपले कमजोर हुन्छन् भन्ने धारणामा केही सुधार आए पनि शारीरिक रुपले कमजोर हुन्छन् भन्ने धारणामा केही परिवर्तन आएको छैन । यस्तो संरचनाअन्तर्गत महिला पनि बिस्तारै पितृसत्तावादी साँचोमा ढालिँदै जान्छन् । यस्तो चिन्तनले महिलाहरुको जिन्दगीको ठुलो हिस्सा ‘म पुरुषका निम्ति कसरी सुन्दरी बन्ने, राम्री देखिने’ भन्ने ध्याउन्नमा बित्छ । उनीहरुले धेरै समय त्यसैका निम्ति दिनुपर्ने हुन्छ ।

पितृसत्तावादी सोचको निरन्तरता हजारौं वर्षदेखि छ । यो प्रत्येकको दिमागमा गाडिएर बसेको छ । त्यसमाथि आजको पूँजिवादले महिलाहरुको बेचबिखनलाई सार्वजनिक रुपमै तीब्र पारिदिएको छ । महिलालाई उपभोग्य सामग्री बनाइएका सिनेमा, यौन सिनेमा (पोर्नोग्राफी) को खुल्लमखुल्ला व्यापारले बलात्कारीलाई झन हौस्याएको छ ।

हिजोको वेश्यावृत्ति कमसेकम बन्द कोठाभित्र थियो । अहिले खुला रुपमा छ । हाका–हाकी वेश्यावृत्तिको नाङ्गो व्यापार चलिरहेको छ । त्यस्ता सिनेमा या मोडेलहरुका नाङ्गो नाच हेरेर हुर्किरहेका अहिलेका युवा महिलालाई यातनामय ढंगले यौन सम्पर्क गर्न पनि हाम्रो हक बन्दो रहेछ, महिलाहरु सुन्दर प्रजाति र भोग्या बस्तु हुन् भन्ने सोचमा हुर्किरहेको छ । ऊ महिलाहरुलाई हेर्छ, उनीहरु सुन्दरी बन्न खोजिरहेको मात्र देख्दछ । ती मलाई आकर्षित गर्न श्रृंगार गरिरहेका हुन् भन्ने उसलाई लाग्छ ।

हाम्रो सामाजिक संरचना पनि पुरुष मात्रै माथि पुग्ने खालको छ । महिलाले तिनको आश्रयमा बस्नुपर्दछ । महिलाहरु सुन्दर प्रजाति र भोग्या वस्तु हुन् भन्ने सोचमा चलिरहेको छ समाज । त्यस्तो समाजमा हुर्किएको युवा होस् या प्रौढ, ‘महिलालाई दमन गर्न पाउनु मेरो हक हो’ भन्ने सत्व उसको भित्रैबाट निर्माण भैरहेको हुन्छ । यसरी तयार भएको पुरुष मौका पाउने बित्तिकै महिलामाथि झम्टन पुगिहाल्छ ।

हिजोदेखि पितृसत्तावादी सोचले महिलाहरु बलात्कृत हुँदै आए, अहिलेकोे पूँजिवादले संरचनागत रुपमै सोच्ने स्तरमा महिलाविरोधी हर्कत बढाएपछि त्यसलाई झन् तीब्र पारिदियो । स्वाभाविक रुपले महिलाहरु बिकाऊ हुन्, यिनलाई पैसा दिए भैहाल्छ नि भन्ने सोचले ती बलात्कारका निम्ति हौसिरहेका छन् । त्यसैले मैले बलात्कारलाई सामाजिक अन्तरसम्बन्ध र राजनैतिक व्यवस्थाको अन्तरसम्बन्धमा हेर्नुपर्छ भनेको हुँ ।

पूँजिवादले नाँङ्गै बेचिरहेको छ

हाम्रो समाजमा जघन्य अपराधमा पर्ने छुवाछुत, बलात्कार, बोक्सी, छाउपडी लगायतका सिधासिधा हजारौं–हजार मान्छेमाथि उत्पीडन भैरहेका कुरामाथि हाम्रो शिक्षा प्रणाली केही बोल्दैन । पाठ्यक्रममा केही छैन । घर र नर्सरीदेखि नै बच्चाहरुको दिमागमा यस्ता विषयमा वैज्ञानिक र प्रगतिशील चेतना भरिदिने काम गर्नुपर्नेमा केही भैरहेको छैन ।

हाम्रोमा बरु उल्टो हुन्छ । हामी अहिले पनि महिला मात्र पढ्ने स्कूल–कलेज चलाइरहेका छौं । पुरुष र महिला अलग चीज हुन् भनी छुट्याइरहेका छौं । हाम्रो समग्र हुर्काइ नै के छ भने २४ सै घण्टा समग्र परिवार, समाज र स्कुललाई पितृसत्तावादद्वारा प्रशिक्षित गर्ने अनि बलात्कार भैसकेपछि मात्रै चिच्याउने । त्यसैले मेरो धारणा के हो भने जबसम्म नाफाको आधारमा र व्यक्तिगत सम्पत्तिको आधारमा बन्ने आर्थिक, सामाजिक र राजनैतिक परिपाटी रहिरहन्छ त्यतिञ्जेलसम्म महिलाहरुमाथिको उत्पीडन घट्नेवाला म देख्दिन । नयाँ–नयाँ नाममा त्यो बढ्दै जान्छ ।

दुनियाँभरमा प्रत्येक पाँच सेकेन्डमा एक महिला बलात्कृत हुन्छिन् । सबैभन्दा विकसित भनिएका देशहरुमा बलात्कारका घट्ना बढी भएका छन् । यस्तो किन भैरहेको छ भने पितृसत्तावादलाई पूँजिवादी विचारले अपनायो । शुरुमा सामन्तवादविरुद्ध खडा भएको पूँजिवादले यसको विरोध गर्‍यो। पूँजिवादले समानता, स्वतन्त्रता र भातृत्वको नारा दिएर सामन्तवादविरुद्ध संघर्ष गर्‍यो। घरमा थुनिएर बसेका महिलालाई बाहिर निकाल्यो । त्यतिन्जेल यो प्रगतिशील थियो । तर त्यसपछि आजसम्मका साँढेचार सय वर्षको पूँजिवाद त्यस्तो रहेन ।

त्यसले घरबाट निकालिएका महिलालाई बेश्यालयमा लैजाने परम्परालाई निरन्तरता मात्र दिएन, बरु सिनेमामा ल्याएर नाङ्गेझार पारिदियो । दुनियाँलाई देखाएर नाङ्गै बेचिदियो । युवाहरुको दिमागमा यौन सिनेमाले महिलाहरुलाई जति धेरै यातना दियो, त्यति धेरै ती खुशी हुन्छन् भन्ने भाव पैदा गरिदिएको छ । पीडादायी यौनकर्मद्वारा तिनलाई आनन्द आउँछ भन्ने पारिदिएको छ । यो सबै पुरुष सत्ताले बनाइरहेको छ ।

सामन्तवाददेखि चल्दै आएको यस्तो परम्परालाई पूँजिवादले हटाउनुको साटो झन बढाइदियो । आफ्नो बनाएर शोषणको निम्ति प्रयोग गर्‍यो । त्यसैले बलात्कार जस्तो घटना सिंङ्गो पूँजिवादी व्यवस्थासँग सम्बन्धित छ । त्यसैले हामीले छेउकुनाको कुरा गरेर एउटा जुलुस र विज्ञप्ति निकालेर यसको हल हुँदैन । हामीले पितृसत्तावादविरुद्धको आन्दोलन र समाज परिवर्तनको आन्दोलनसँग यसलाई जोड्नुपर्छ ।

जहाँसम्म पहिरनका कारण बलात्कार बढ्छ भन्ने छ, त्यो वाहियात कुरा हो । पहिरनका कारण बलात्कार हुने हो भने मुस्लिम समाजमा बलात्कार नै नहुनुपर्ने । तर भैरहेको छ । कुरा त्यस्तो होइन । कुरा विचारको हो । कुरा मान्छे निर्माण गरिँदा कस्तो सोच अनुरुप गरियो र त्यो सोचलाई लागु गर्न कस्तो संरचना बनाइयो भन्ने हो ।

एकथरि मान्छे घरका श्रीमती पनि स्थायी खालका वेश्या हुन् भन्छन् । उनीहरु किन त्यसो भन्छन् भन्दा महिला घरभित्र छ । सम्पूर्ण सम्पत्तिमा पुरुषको अधिकार छ । बाहिर पनि पुरुषले भनेको मात्र सुनिन्छ । महिलाको केही लाग्दैन । भनेपछि महिलाले के गर्छन् ? पुरुषले जे जे भन्छन् त्यही–त्यही मान्छन् । आर्थिक र सामाजिक संरचना नै यसरी निर्माण गरिएको छ कि महिलाले बलात्कार खपिदिनु पर्छ ।

यो संरचना र यस्तो सोच्ने परम्पराद्वारा जबसम्म हामी समाज चलाइरहन्छौं, यो सोचलाई भत्काउने गरी जबसम्म हामी अगाडि बढ्दैनौं तबसम्म हामी महिलाहरुको दिमागबाट पितृसत्तावादलाई अन्त गर्न सक्दैनौं । पुरुषको दिमागमा निर्मित पुरुष सत्तावादलाई पनि हटाउन सक्दैनौं ।

पितृसत्तावादविरुद्ध समाज गयो भने महिला भनेको सुन्दर प्रजाति हो भन्ने हुँदैन । महिलाहरु सुन्दर पनि हुन्छन्, कुरुप पनि हुन्छन् । पुरुषहरु पनि सुन्दर पनि हुन्छन, कुरुप पनि हुन्छन् । महिला शक्तिशाली पनि हुन्छन्, निर्वल पनि हुन्छन् । पुरुष पनि निर्वल पनि हुन्छन्, बलिया पनि हुन्छन् । महिला भोग्या हो भने पुरुष पनि भोग्य हो भन्ने चिन्तनको विकास हुन्छ ।

वैचारिक हस्तक्षेपको अनिवार्यता

जुनबेला उथलपुथलकारी राजनीतिक घटनाहरु भैरहेका हुन्छन्, त्यतिबेला बलात्कार जस्ता घटनाहरु त्यति हुँदैनन् । तपाईंले दश वर्षे जनयुद्धको बेला हेर्नु भो भने त्यतिबेला जहाँ–जहाँ माओवादीको प्रभाव थियो त्यहाँ–त्यहाँ बलात्कारका घटना अत्यन्त कम थिए । सिङ्गो समाज परिवर्तनतिर लागिरहेको थियो । त्यस्तो बेला समाज उठेको हुन्छ । त्यतिबेला यस्ता घटना असाध्यै कमजोर भएर जान्छन् ।

प्राकृतिक प्रकोप जाँदा यस्ता घटना बढ्न सक्छन् । तर राजनीतिक चेतनासहितको आन्दोलन हुँदा यस्ता घटना र प्रवृत्तिहरु कमजोर हुँदै जान्छन् । विचारमा परिवर्तन तीब्र हँुदै जान्छ । त्यसैले यहाँ पूँजिवाद विरोधी समग्र वैचारिक राजनैतिक संघर्षसहितको एउटा आन्दोलन श्रृजना गर्न जरुरी छ । त्यसले मात्र बलात्कार जस्ता घटना कम गर्ने सामथ्र्य राख्दछ । यस्तो सामाजिक अभियानले नयाँ पुरुषको निर्माण गर्ने अभियान ल्याउँछ । नयाँ महिलाको निर्माण गर्ने वातावरण बनाउँछ ।

महिलाका निम्ति सुविधा ल्याउने र पुरुषको सुविधा बृद्धि गर्ने आदोलनले बलात्कार हट्दैन । अव पूँजिवादको विकल्पमा वैज्ञानिक समाजवादी समाज निर्माण गर्नुपर्छ, जहाँ पूँजिले मान्छेलाई नकज्याओस् । पूँजिको कारणले मान्छे दासत्व स्वीकार्न बाध्य नहोस् । पूँजिको हैकमको कारणले मान्छे बलात्कारी बन्न नसकोस् ।

यस्तो सोचमा विस्तारै वैचारिक हस्तक्षेप शुरु हुन थालेको छ, तर त्यो कमजोर छ । बलात्कार अन्तमा गएर राजनीतिसँग ठोक्किन पुग्छ । पूँजिवादलाई अन्त गर्ने कि नगर्ने भन्नेसँग जोडिन्छ । पूँजिवादलाई जस्ताको तस्तै राख्ने, मान्छेलाई वस्तु बनाएर बेचबिखन गर्ने, हुँदैं नभएको सुन्दरता श्रृजना गर्ने, विश्व सुन्दरी भनिदिने अनि बलात्कार हटोस् पनि भन्ने । त्यो त मिल्दै मिल्दैन । कसैलाई सुन्दर भन्नुको अर्थ कसैलाई कुरुप भन्नु हो । कसले कहाँबाट लेखाएर ल्याएको छ, कहाँबाट लाईसेन्स पाएको छ, कसैलाई सुन्दरी भनिदिने, कसैलाई कुरुप ? यो बलजफ्ती पूँजिवादले लागु गरिदिएको हो ।

अहिले बाहिर आइरहेका घट्ना त महिलाले साहस गरेर आएका हुन् । जति–जति पूँजिपति वर्ग छन् ती भित्र हुने बलात्कारका घट्ना त भित्र–भित्रै गुपचुप पारिन्छ । ती बाहिर आउन सक्दैनन् । तल्लो वर्गमा भएका घटनाहरु बाहिर आउँछन् । किनकि ती कमजोर छन् । बलियाहरुका घटना बाहिर आउन सक्दैनन् । त्यस्ता घटना कति छन् कति । त्यहाँभित्र हुने बलात्कारका घट्नाबारे त भनिसाध्य छैन । तर ती सत्ताद्वारा छोपछाप पारिन्छन् ।

कानून भनेको पीडितलाई राहत दिने सामान्य प्रक्रिया हो । कानून बनाएर सिङ्गो समाजको वैचारिक उत्पादनलाई अन्त गर्न सकिँदैन । त्यसलाई रोकथाम या कम गर्न कोशिस गर्ने मात्र हो । बलात्कार भैसकेपछि गर्ने वक्तव्यबाजीले मात्र पुग्दैन । यसको अर्थ विरोध नगर्ने भनेको होइन । गर्नुपर्छ । कानुनी प्रक्रियामा लैजानु पर्छ । अपराधीलाई सजायँ पनि गर्नुपर्छ । तर त्यतिले मात्र पुग्दैन । अहिले खेलिरहेका सुधारवादी र प्रगतिशील चेतनाले मात्र यसको अन्त हुँदैन । यसलाई चेतनामै परिवर्तन गर्ने अभियानसँग जोड्नुपर्छ । समग्र सोच र सँस्कृतिमै परिवर्तन गर्ने अभियानसँग नजोडी यो हट्नेवाला छैन । बलात्कार भनेको वैचारिक उत्पादनबाट आउने हो । यो त सिङ्गो समाजको चेतनाको रुपान्तरणको सवाल हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१