ताजा अपडेट

बाबु यज्ञराज भन्छन् : निर्मलाको हत्या बम दिदीबहिनीकै षड्यन्त्रमा

          |   224 Views   |   Published Date : 28th August 2018 |

कञ्चनपुर : बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टी निवासी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सोमबार एक महिना बितेको छ । प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका-१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरेको छ तर पनि स्थानीय र मृतकका आफन्तले त्यसलाई इन्कार गर्दै आएका छन् ।

यही बीचमा निर्मलाका हत्यारालाई कारबाही माग गर्दै महेन्द्रनगरमा निस्किएको जुलुसमाथि प्रहरीले गोली चलाउँदा एक किशोर सन्नी खुनाले ज्यान गुमाउनु परेको छ ।

के भने निर्मलाका बाबुले ? 

राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई सोमबार निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महीनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताएका छन् ।

‘घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ’, बुबा यज्ञराजले भने, ‘यहाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।’

उनले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गरे । ‘निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्’, उनले भने, ‘निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।’ निर्मलाको खोजीका लागि पुग्दा प्रहरीले बेवास्ता गरेको पनि उनले बताएका छन् ।

‘समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो’, उनले भने, ‘न्याय नपाएसम्म लडिरहनेछु ।’ गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटनापछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन थालेका थिए ।

सरकारले निर्मला काण्डबारे छानबिन गर्न उच्चस्तरीय टोली कञ्चनपुर पठाएको छ भने जिल्लामा स्थानीय प्रशासन र प्रहरीको नयाँ नेतृत्व पठाएर अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले घटनाको शून्यबाट अनुसन्धान थालिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझालाई घटनाबारे अनुसन्धान अधिकृत तोकिएको छ । आन्दोलनले अशान्त बनेको भीमदत्तनगर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।

बम दिदीबहिनीको म्याद थप 

यसैबीच घटनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेको छ ।

म्याथ थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।

 

सभार अन्नपूर्ण

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१