ताजा अपडेट

दाङको खेलकुद, लगानी बढ्दै मुहार फेर्दै

          |   935 Views   |   Published Date : 24th August 2018 |

रीता लामा घोराही, ८ भदौ । केही समय अगामी मात्रै दाङको बेलभुण्डीमा २४ करोड २४ लाखका लागतमा एथलेटिक्स ग्राउण्डको उत्घाटन गरियो । जहाँ विभिन्न किसिमका एथलेटिक्स खेल खेलाइने छ भने त्यस नजिकै भिआइपी घर पनि बन्दै छ । जहाँ खेलको समयमा खेलाडीहरुको लागि चेन्जिङ रुपम, मिटिङ हल, अफिस र खेलाडीको लागि अभ्यास कक्ष पनि हुने छ ।


यस्तै लमहीमा ४० लाखको लागतमा क्रिकेट मैदान बनिसकेको छ भने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२मा २५ लाखको लागतमा फुटबल अभ्यास केन्द्र निमार्णको काम अन्तिम चरणमा पुगेको छ । यस्तै तुलसीपुर मै २ करोड ५० लाखको लागतमा बहुउद्देश्य कवर्ड हल पनि बन्दै छ । यसैगरि घोराही १८मा ५० लाखको लागतमा आधुनिक बास्केट बल कोर्ट निर्माणको काम जारि छ । यी भौतिक संचरना निर्माण हुन लागेको मुख्य गरि राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्नको लागि भैरहेका तयारी हुन ।


दाङलाई खेलकुदको हव बनाउने भन्दै गत बर्ष देखि दाङ खेलकुद विकास समिती कस्सिएर लागेको छ । जसको लागि समितीले आउदो मंसिर २१ देखि २८सम्म हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलहरु दाङमा गराउने तयारी समेत गरिरहेको छ । र सोही अनुसारको भौतिक संरचना निर्माणको तयारीमा समेत जुटेको छ ।

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष डिल्लीबहादुर डागी राष्ट्रिय खेलकुदका केही खेलहरु दाङमा खेलाउने बाहानामा अहिले जिल्लामा स्तरिय भौतिक संरचनाहरु निर्माण भैरहेका छन । यी संरचना बनिसके पछि दाङमा निरन्तर खेलकुद प्रतियोगिता सम्पन्न गर्न र खेलाडीहरुलाई पनि अभ्यासको लागि सहज हुने उनको विश्वास छ । जिल्लामा खेलकुदको लागि भने जस्तो भौतिक संरचना नहुनु र अभ्यासको लागि ठाउँ नहुदाँ नै जिल्लाका खेलाडीहरुले अन्योलमा रहेको हुदा आफुहरुले भौतिक संरचना निर्माणमा विशेष जोड दिएको उनी बताउछन ।
यस भन्दा अगाडी पनि जिल्लामा विभिन्न किसिमका खेलकुद सम्पन्न गरिसके पनि, भने जस्तो मैदानको अभावमा आफुहरुले ठुला खेल खेलाउन नसकेको उनले स्वीकारे तर पनि गत बर्ष राष्ट्रिय स्तरको पुरुष फुटवल, निर्वाचन स्तरिय रनिङ शिण्ड प्रतियोगिता, जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता, प्रथम जिल्ला स्तरिय खोखो प्रतियोगिता पनि सम्पन्न गर्न खेलकुद विकास समिती सफल भएको उनले जानकारी दिए ।

यता पाँच नम्वर प्रदेशले पनि खेलकुदको विकासको लागि भन्दै जिल्लाका सबै पालिकाहरुमा ४० लाख देखि एक करोड २५ लाखसम्म बजेट विनियोजन गरेको मुख्य मन्त्री शंखर पोखरेलले जानकारी दिएका छन । साथै जुन पालिकामा जस्तो खेलको लागि पुर्वाधार तयार पार्न सकिन्छ सोही अनुसारको खेललाई प्राथमिकतामा राखेर पुर्वाधार विकासको काम गर्ने उनले बताए ।
गत बर्ष यता जनप्रतिनीधि आइसके पनि जिल्लामा खेलकुदमा केही राम्रा काम हुन थालेको स्वयम खेलाडीहरु पनि बताउछन । जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुन जनप्रतिनीधिले केही सहयोगको आश्वासन दिए पनि त्यसमा खटिएर लाग्ने भनेको खेलाडी र तीसँग सम्बन्धित संस्था नै भएको बताउछन । स्थानिय निकाय, सरकारले त सहयोग गर्ने हो काम त क्लव, संस्था र खेलाडीहरुले नै गर्नुपर्ने उनको धारणा छ ।

यता घोराही उपमहानगरपालिकाले पनि आर्थिक बर्ष २०७५।७६को नीति तथा कार्यक्रममा प्रत्येक वडामा खेल मैदान निर्माण गरिने र नगर स्तरिय खेलकुदको आयोजना गरि युवाहरुलाई खेलप्रति अभिरुचि जगाउदै स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडीका भावना विकास गर्ने कुरा उल्लेख गरेको छ । त्यसैगरि मेयरकपलाई निरन्तरता दिने, वडा स्तरिय भलिवल रनिङ शिल्डको आयोजना गर्ने, लगायतको योजना पनि अगाडी सारेको छ । अघिल्ला बर्षको तुलनामा २०७४।७५ देखि सुरु भएको मेयर कपले यहाँका खेलाडीहरुलाई निकै उत्साह थपेको छ । त्यसैगरि आफनै वडाहरुमा निर्माण हुन लागेको खेल मैदानले खेल क्षेत्रमा केही प्रगति हुन्छकी भन्ने आशा गरिएको छ ।

घोराही उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५।७६मा खेल क्षेत्रको विकासको लागि भन्दै छुटटै रकम विनियोजन गरेका छन । यति मात्र होइन हाल घोराहीको वडा नम्वर १७मा प्रदेश स्तरिय क्रिकेट रंगशाला समेत निर्माण हुन लागेको छ । जसले खेलाडीहरुलाई उत्साहित बनाएको छ । खेल मैदानको अभावमामा अपेक्षित खेल अभ्यास गर्न नपाएका खेलाडीहरुलाई घोराहीमा रङ्गशाला निर्माण सुरु भएसँगै हौसिएका छन ।

‘एक वडा एक खेल मैदान’ भन्ने नारासहित खेलको विकास गर्न कस्एिको घोराही उपमहानगरपालिकाले प्रदेशस्तरिय रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिएको छ । वडानम्वर–१७ मा १५ विगाहाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेशस्तरिय रङ्गशाला निर्माण कार्य सुरु गरेको उपमहानगरपालिकाले यसवर्ष रङ्गशाला निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ । रङ्गशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट यस आर्थिक बर्षमा २६ लाख वजेट बिनियोजन भएको छ । यससँगै घोराही उपमहानगरपालिका–१५ भरतपुरमा प्रदेशस्तरको फुटवल रङ्शालाको पनि निर्माण सुरु गरेको उपमहानगरका प्रवक्ता भरत अर्यालले जानकारी दिए ।

रङ्गशाला निर्माणसँगै हौसिएका खेलाडीहरुले गतवर्ष राष्टिङयस्तरका ३ वटा प्रतियोगीता सञ्चालन गरेका छन् । दाङ क्रिकेट संघको आयोजनामा दङाली गोल्डकप राष्ट्रिय क्रिकेट प्रतियोगीता र त्रिभुवननगर जेसीजको आयोजनामा जेसीज कप राष्ट्रिय क्रिकेट प्रतियोगीता सञ्चालन भएको थियो । त्यस्तै अखिल नेपाल फुटवल संघको आयोजना तथा दाङ जिल्ला फुटवल संघको संयोजनमा राष्ट्रिय फुटबल प्रतियोगीता सञ्चालन भएको र यस वर्ष पनि राष्ट्रिय स्तरकै प्रतियोगीता सञ्चालनको तयारीमा रहेको संघका महासचिव नरेन्द्र पुनले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१