ताजा अपडेट

कोसेली घरमा सिन्कीको अचार देखि बधिया भालेसम्म

          |   403 Views   |   Published Date : 17th August 2018 |

रीता लामा घोराही, भदौ १ । आगामी भदौ अन्तिम तिर देखि घोराहीमा संचालन गरिन लागेको कोसेली घरमा सिन्कीको अचार देखि बधिया भाले राखिने भएको छ । जिल्लामा भित्रिने पर्यटकहरुलाई कोसेली स्वरुप दिइने बस्तु मध्यमा यी वस्तुहरुलाई महत्वका साथ राखिन लागेको हो ।

उद्योग बाणिज्य संघको अगुवाइमा संचालन हुन लागेको उक्त कोसेली घरमा जिल्लामा उत्पादन हुने सबै प्रकारका बस्तु राखिने उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । जसमा जिल्लामा उत्पादन भएका सावुन, अल्लोका सामाग्री, दुना टपटी, माटाका भाडाहरु, मह, तोरीको तेल, तिल्कीको चामल लगायतका सामाग्री राखिने उनले बताए । जिल्लामा आएका कुनै पनि पर्यटकलाई खालि हात नफाउने गरि चिनारी झल्की सामाग्री उपलब्ध गराइने उनले बताए ।
कोसेली घरको लागि पहिले थोरै लगानीबाट सुरुवात गरि पछि सफल भयो भने लगानी बढाउदै जाने अध्यक्ष भुसालले जानकारी दिए । संघको कार्यालय नजिकै कोसेली घर सञ्चालन गर्ने गरी तयारी गरिएको कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिने उद्योग वाणिज्य संघले जानकारी दिएको छ । हाल कोसेली घरका लागि निर्माण कार्य जारी भएको संघले जनाएको छ ।


जिल्लामा उत्पादन भएका वस्तु मात्रै नभई जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको जानकारी एकै स्थानबाट दिने उद्देश्यले कोसेली घर सञ्चालन गरिने लागिएको दाङ उद्योग वाणिज्य संघका सचिव तथा कोसेली घर व्यवस्थापन समितिका संयोजक मायाकुमारी पोख्रेलले जानकारी दिइन् । जसले गर्दा जिल्लामा आउने पर्यटक तथा जिल्लाभित्रका पर्यटकहरूलाई समेत जिल्लाका बारेमा जानकारी हुनेछ ।

‘बाहिरबाट आउने व्यक्ति कोसेली घरमा पुगेमा जिल्लाका बारेमा सबै जानकारी लिन सक्ने गरी हामी अगाडि बढेका छौं,’ संयोजक पोख्रेलले भनिन् । कोसेली घर व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि उद्यमीहरूसँग छलफलसमेत सुरु गरिएको छ । जिल्लामा रहेका विभिन्न समुदायहरूसँग छलफल सुरु गरिएको उनको भनाइ छ ।

कोसेली घरमा सबै सामग्री राखिने र किन्न चाहनेहरूलाई समेत किन्न सकिने व्यवस्था गरिने संयोजक पोख्रेलको भनाइ छ । यसले गर्दा उद्यमीहरूलाई बजारको खोजी रहनुपर्ने बाध्यता नहुने उनले बताइन् । कोसेली घर सञ्चालनमा आएपछि साना लगानीमा उद्यमी बनेका लागि प्रोत्साह तथा बजारी करणमा समेत सहज हुने उद्योग वाणिज्य संघको अपेक्षा छ । यसले उद्यमी बन्नसमेत प्रोत्साहन मिल्नेछ भने बजारको मागअनुसार वस्तु उत्पादन गर्न उद्यमीहरू अगाडि बढ्ने छन् । यसरी निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन थालिएको कोसेली घरमा सबैको सहयोग रहने अपेक्षा उद्योग वाणिज्य संघको छ ।

यसका लागि करिब २५ लाख बढी रकमखर्च लाग्ने दाङ उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए । कोसेली घरमा जिल्लामा सबै पहिचान समेटिने गरी सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१