ताजा अपडेट

सीमामा हुने तस्करी अपराध नियन्त्रणमा पहिलो प्राथमिकता : प्रहरी प्रमुख पौडेल

          |   110 Views   |   Published Date : 13th August 2018 |

 सागर थापा/महेन्द्र सिंह बाँके, २८ साउन | बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले लागुऔषध प्रयोग, बेचबिखन र ओसारपसारबिरुद्ध कडाईका साथ प्रस्तुत हुने बताएका छन् । जिल्ला प्रहरी प्रमुखका रुपमा हालै यहाँ आएका प्रहरी उपरीक्षक पौडेलले खुल्ला सीमानाका कारण बाँकेमा व्याप्त लागुऔषधको समस्या समाधानलाई आफूले उच्च प्राथमिकतामा राखेको पनि बताए ।

बाँके प्रहरी प्रमुख अरुण पौडेल आईतबार जिल्लास्थित संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक पौडेलले बाँकेमा लागुऔषधको बेचबिखन, प्रयोग र ओसारपसार जोखिमपूर्ण अवस्थामा रहेकोबारे आफूलाई अवगत रहेको जनाउँदै सरोकारवाला सबैसँग समन्वय गरी लागुऔषध समस्या न्यूनिकरणमा नतिजायुक्त पहलकदमी लिने विश्वास दिलाए । प्रहरी उपरीक्षक पौडेलले गुण्डागर्दी, हिंसा, सीमापार अपराधमा पनि बाँके प्रहरीले थप रचनात्मक कार्य गर्ने र चाँडै नै जिल्लावासीले त्यसको महशुस गर्ने पनि दाबी गरे ।

सीमापार अपराधका विषयमा प्रहरी निक्कै संवेदनशिल रहेको बताएका प्रहरी प्रमुख पौडेलले सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीहरुको कार्यविभाजन र काम गर्ने तौरतरिकामा पनि हेरफेर गर्ने जानकारी दिए । ‘खुल्ला सीमानाका कारण हुने कुनै पनि अपराध, तस्करी, मानव बेचबिखनविरुद्ध हामी नयाँ योजनाका साथ अघि बढ्दै छौं । चाँडै नै यस क्षेत्रमा परिवर्तनको महशुस यहाँहरुले गर्नुहुने छ ।’ प्रहरी उपरीक्षक पौडेलले भने । नगरभित्र कुनै पनि घटना भएको जानकारी प्राप्त भएको पाँचदेखि दश मिनेटभित्र सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाईएको जनाउँदै पौडेलले नगरबाहिरको हकमा प्रहरी युनिट रहेको ठाउँबाट घटनास्थल पुग्न लाग्ने बाहेक पाँच मिनेटभित्र प्रहरी पुग्ने दाबी पनि गरे ।

‘प्रहरीको पहुँच तुरुन्तै हुने व्यवस्था हामीले मिलाएका छौं । घटनाको जानकारी पाएको पाँचदेखि १० मिनेटभित्र घटनास्थलमा पुगिसक्ने गरी हामी परिचालन हुने छौं ।’ त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट हुने सेवा प्रवाह थप चुस्त बनाउन पनि आफू प्रयत्नशिल रहेको बताएका प्रहरी प्रमुख पौडेलले जिल्लामा दुर्घटना न्यूनिकरणका लागि पनि सरोकारवालाहरुसँग समन्वय गरी प्रभावकारी कदम चाल्ने जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१