ताजा अपडेट

आँखा बाट आँसु पुछ्दै गहिरो सोचमा पर्छे अनि गए रातीका दृश्यहरु सम्झिन थाल्छे….

          |   194 Views   |   Published Date : 16th June 2018 |

दीपक जीएम कथा : कपट

35425291_917079558477116_2117800982988455936_n

  पहाडी भेगतिर एउटा थियो ,गाउँ निकै मिजासिलो थियो ।गाउँका अधिकांश युवाहरु बेरोजगारी भएको कारणले बिदेसिएका थिए ,पहाडी इलाका भएर होला त्यहा अन्न उत्पादन सारै राम्रो हुने गर्थ्यो । त्यस ठाउँको हावा-पानी एकदमै चिसो र आनन्दित थियो ,गाउँ त्यति भरिभराउ थिएन,किनकी जम्मै युवा भनाउँदाहरु मुग्लान पसेका थिए र पहाडै-पहाड भएकोले घरहरु पनि छीत्रीएका झै देखिने गर्दथ्यो ।

” ए आमै सबेरै भइसक्यो वन तिर जाने छाटकांट देख्दिन त म ” खोइ के भयो भयो मलाई यतिका दिन भईसक्यो तर निको नै हुन्न ”।आमैको कुरा सुनेर सानी पनि उदास हुन्छे,आमै तिर हेर्दै बोल्छे ” गाउँमा यति राम्रो स्वस्थ्य चौकी छ चेकजांच गराउन गए नि हुन्थ्यो ”। स्वस्थ्य चौकी पनि कति जाउँ म ,जति गएपनि उस्तै हो ।” जतिपल्ट गयो त्यतीपल्ट नै नानाथरिका ओखतीहरु दिई पठाउँछ ,अमन्न पर्या छु सानी म”अब त माथी गए पछि हाईसुख हुन्छ ”। आमैको बिरक लाग्दा कुराहरु सुनेर सानी निकै दुखी हुन पुग्छे ,” आ आमै किन हरेस खानु हुन्छ ,निको भइहाल्छ नि बिस्तारै बिस्तारै ,लौ आफ्नो ख्याल राख्नु …बरु तुलसी कहां छे ,त्यसलाई लिएर जान्छु ” । कम्मर समात्दै आमै पिंढीमा बस्छिन ।” पँधेरा गएकी छे तुलसी त पानी लिन ” ए हो र आमै लु होस म त्यसलाई उतैबाट लिएर जान्छु ”।

सानी गीत गुनगुनाउँदै पँधेरा तिर लाग्छे ,पँधेरो छेउमा तुलसीलाई टोलाई बसेको देख्छे ””होइन ए तुलसी किन टोलाई बसेकी छेस,के भयो र त्यस्तो…हामीलाई पनि भन न..!” छ्या के भन्नु र…तुलसीले लजाउँदै ओठ टोक्छि..” परदेश देखी मेरो मान्छे आउँदै छ के सानी, बुझ न आफै ” …। सानी मस्किदै तुलसीको कानमा बिस्तारै भाका छोड्छे ”मै मोरीलाई लिन परदेशी आउँछ रे ”…खित्का छोड्दै तुलसीले शिर निहुराउछे । ” यसपाली तेरो बिहे खाने भइयो होइन र ” लाडे स्वरमा तुलसी बोल्छे ”धत जे मुखमा आयो त्यही नबोल हैं सानी भन्देकी छु मैले नाई भने तेरो मेरो बोलचाल बन्द होला नि फेरी ”..।

”ए हो र हँ नकल्ली ”भन्दै सानीले तुलसीलाई चिम्टी लाउँछे ।”ऐया नि मारी मोरीले” पख तँलाई भन्दै सानीलाई लखेट्न थाल्छे । क्षणभर मै थाक्दै दुवैजना डांडामा लम्पसार भई पल्टिन्छन । सानीले तुलसीलाई कोट्याउँदै ” ए सुन न..बिहे गरेपछि त तैले हामीलाई बीर्सीन्छीस होला हैं ” जवाफमा ” छ्या के कुरा गरेकी होली यसले ,त्यस्तो केही पनि हुन्न बुजीस नि म यही त हुन्छु नि सधै तिमीहरु सँग अनि मेलापात जाउँला रमाइलो गरौंला ” । ” अ खुब सँग यही हुन्छेस होला र ,तेरो पोइ भनाउँदोले तँलाई पनि त आफूसँगै लिएर जाला नि पिलेनमा सररर….! सानीको कुरा सूनेर तुलसी क्षणभर मै कल्पनामा कल्पिन थाल्छे । यता सानी एकोहोरो बोली नै रहन्छे तर तुलसी आफ्नै संसारमा हराउन बाध्य हुन पुग्छे ।

”’हेर हेर बिहान देखी दिउँस भइसक्यो ”ए केटी हो अबेर भएन र ,तुलसी ए तुलसी उता तेरो आमालाई ज्वरोले सारै च्यापेको छ रे ,खाना पकाएर खुवाउन छोडी यहां पो बरालेकी छेस नि अनि सानी उता तेरी आमाले ‘ छोरीले कतिबेला वन देखी च्याउ ल्याउली र पकाएर खाम्ला भनेर बाटो हेरेर बसेकी छिन ”। काकीको आवाजले दुबैजना खंग्रिन हुन पुग्छन , ” ला मैले कस्तो बिर्सेछु आमै बिरामी भएको पनि ,लु लु जान्छु म काकी,ए सानी म गए हैं ” भन्दै तुलसी पँधेरोमा छोडेको गाग्री लिन दौडिनछे अनि सानी पनि जंगल तिर लाग्छे । तुलसीघर पुग्छे ,आमैलाई बाहिर आँगनमा गुन्द्रीमा सुतेकी देख्छे । ”आमा केही बिसेक भाछ की नाई तिमीलाई ..?” सकीनसकी आमै बिस्तारै बोल्छिन ”खोइ नानी झन च्यापेको जस्तो मान्छु म त ”.. ।

तुलसी भित्र भान्सामा छीर्छे अनि पानी तताएर ल्याउँछे ,आमालाई बिस्तारै उठाउछे ” आमा लौ यो तातो पानी खाउ अनि एकछिनमा जाउलो बनाएर ल्याइदिन्छु त्यही खाउली ” । ”भयो पर्दैन नानी ,मुख मिठो छैन मेरो अनि केही खान मन पनि छैन ”। ” त्यस्तो भनेर कहां हुन्छ आमै ,अलिकति भएपनि खानु पर्छ तिमीले अनि त जीउमा ताकत आउला ” यति भन्दै तुलसीभित्र भान्सामा छीर्छे अनि आमैको लागी जाउलो पकाउन थाल्छे । ” होइन घरमा को हुनुहुन्छ..? आवाजले आमैको निद्रा खुल्छ अनि अपरिचित मनुवा तिर हेर्दै प्रशन गर्छिन ” कसलाई खोज्नु भयो होला कुन्नी..! ” म सहर देखी आएको हु ,मलाई जानु पर्ने धेरै टाढा छ तर निकै अबेर भइसक्यो ,त्यसैले हजुरको घरमा आज एकदिनको लागी बास पाइन्छ की..? ” घरमा हामी आमा-छोरी मात्रै छौ ,सांझको पाहुना देउता सरी हुन्छ भन्छन तर लोग्ने मान्छे नभएको घरमा कसरी बास दिनु तिमीलाई…!

आमैको कुरा सूनेर बटुवा आफ्नो झोला कांधमा राख्दै निस्किन थाल्छ ” म पनि त हजुरको छोरा जस्तै हु नि आमा तर हजुरलाई अप्ठ्यारो हुन्छ भने म अन्तै गई बसौंला नि ‘ यति भन्दै बटुवा बाटो तताउन थाल्छ ।मनमा निकै कुराहरु खेलाउँदै आमैले आवाज दिन्छिन ” ए सुन न बाबु..! आउ आजको रात यतै बसेर बरु भोलि बिहानै बाटो लाग्नु ” । आमैको कुरा सुनेर बटुवा मन्द मुस्कान दिंदै गुन्द्री ओछ्याई बस्छ ,आमै तिर यसो नजर दौडाउन थाल्दा सन्चो नभएको देख्छ ” आमैलाई निको छैन जस्तो लाग्यो ”। ऐया ऐया..हो बाबु सन्चो छैन मलाई ,खोइ एक्कासी थला परेको छु ,यस्तो पीडा दिनु भन्दा बरु कालले सिधै लिएर जाओस न ”..। बटुवा केही सोच्दै आफ्नो झोला देखी ओखती निकाल्छ ” ल लिनुस आमै ,यो ओखती खानुस अनि भोलि बिहान सम्म छ्पकै निको हुन्छ ”।

आमै मनमनै’ बाचिन्छ की’ भन्ने आश लिई हत्त न पत्त ओखती खान्छिन अनि ओछ्यानमा लम्पसार हुन पुग्छिन । केही क्षण पस्चात तुलसी हातमा जाउलो लिई बाहिर आँगनमा निस्किन्छे । आँगनमा अपरिचित मनुवालाई देखेर हच्किँछे ” को हो तपाई ? जवाफमा ”म एउटा यात्री हु जसको कुनै ठेगान हुदैन ,आज यहां छु भोलि खोइ कता हुन्छु “।त्यस मनुवाको कुरा सुनेर तुलसी ट्वाल्ल पर्छिन अनि आमाको नजिकै पुगी ” आमै उठ..ल यो जाउलो खाउ ” ।तर आमै त मस्त निद्रामा थिइन, बटुवा बोल्छ ” आमालाई मैले ओखती दिएको छु ,ओखतीले बिस्तारै काम गर्छ ,बरु सुत्न देउ आमालाई ” ।

” कसरी थाहा भयो आमा बिरामी भएको तपाईलाई भनी बटुवालाई प्रश्न गर्छे ।” बटुवाले तुलसी सामु वृतान्त बताउँछ ,त्यो सब सुनी तुलसी नम्र भई बोल्छे ” तपाईलाई भोक लाग्यो होला तर घरमा केही पाकेको छैन ,अघि मकै भुटेर राखेको थिए ,त्यही ल्याइदेउ की..!”हुन्छ नि भनी बटुवाले शिर हल्लाउँछ ।तुलसीले मही र मकै लिएर मनुवा अगाडी राख्दै ”ल लिनुस” क्षणभर मै बटुवाले मकै चबाउन थाल्छ । रात चकमन्न हुदै जान्छ ,” मैले ओछ्यान लगाईदिएको छु,हजुरलाई निद्रा पनि लागेको होला, गएर सुत्नुस हैं ”।”हुन्छ भन्दै बटुवा कोठा तिर लाग्छ ।

भोलिपल्ट बिहान गाउँलेहरू तुलसीको घर आँगनमा आइपुग्छन ,जमघटले केही राम्रा या नराम्रा कुराहरुको संकेत दिइरहेको थियो ।आँखा मिच्दै तुलसी आँगनमा निस्किन्छे ,सबै गाउँलेहरुलाई बिहान -बिहानै एकाएक आफ्नो घर आँगनमा देखेर अचम्म पर्छे|  गाउँलेहरू माझ बाट एकजना बोल्दै ” होइन ए तुलसी किन नचांहिदो काम गर्छेस ,तँलाई नाठो खेलाउनु नै छ भने गाउँ बाहिर गएर खेला तर गाउँलाई बदनाम नगर ”..  आँगनमा आमालाई अचेत अवस्थमा भुइँमा लडेको देखि झसंग हुन्छे,” तुलसी रत्तिभर पनि ढिला नगरी आमाको नजिक पुग्छे अनि हात समाउन खोज्दा आमाका हातहरु चिसा भइसकेका हुन्छन ,तुलसीका हातखुट्टाहरु काम्न थाल्छन र डाको छोडी रुन थाल्छे ।

सानी आँखा राता बनाउँदै तुलसीलाई खाउँला झै हेर्छे ” तँलाई अलिकति लाज लागेन नि तुलसी..ऊ हिजो सांझ नै विदेश देखी भाने दाई पनि आइपुग्नु भयो अनि आउँन बितिकै म संग आफ्नो घरको बारेमा नसोधी तेरो बारेमा सोध्नु भयो ।कति खुसी हुनुहुन्थ्यो भाने दाई,तँलाई बिहे गरेर विदेश लैजाने भन्दै हुनुहुन्थ्यो तर आज तेरो चर्तिकला देखेर लाजले पानी-पानी हुनु भएको छ ” ..।.

सानी अनि गाउँलेहरुको कुरा सुनेर तुलसीआश्चर्य चकित हुन्छे , आँखा बाट आँसु पुछ्दै गहिरो सोचमा पर्छे अनि गए रातीका दृश्यहरु सम्झिन थाल्छे ,बटुवा संगसंगै मही पिएको तर मही पिए पछि के भयो उसले केही चाल पाउँदैनि । केही नबोली तुलसी भित्र दगुर्छे,आफू सुत्ने कोठाको ओछ्यानमा त्यो बटुवालाई नांगै सुतेको देखी झसंग हुन्छे । सानी पछाडी बाट बोल्दै ” म सबेरै यहां आइपुग्दा तेरो घिन लाग्दो चर्तिकला देखेर सारा गाउँलेहरुलाई मैले नै डाकेर ल्याएकी हु ” । तुलसी रुन थाल्छे ,” सानी यो सब बारे मलाई केही थाहा छैन मेरो बिस्वास गर ” । तर सानी एक नसुनी कोठाबाट बाहिर निस्किन्छे ,गाउँलेहरु आफैमा भुनभुनाउदै त्यँहा बाट आ-आफ्नो बाटो लाग्छन ।

तुलसी बाहिर निस्किदै भाने सामु आई रुंदै आफ्नो वेदना पोख्न खोज्दा भानेले तुलसीको मुखमा थुकिदिन्छ र तुलसीको कुरा नसुनी आफ्नो बाटो तताउँछ । सुन्तली छाती पिटीपिटी रुन थाल्छे तर उसको पीडा सुनिदिने कोही थिएनन । बिहान देखि दिउँस हुन पुग्छ , सुन्तली आमाको लाश माथी शिर राखी सुकसुक गरिरहेकी हुन्छे । भित्र बाट अपरिचित मनुवा बाहिर निस्किन्छ अनि केही नबोली आफ्नो बाटो लाग्छ ,तुलसी त्यो निच बटुवा गएको हेरिरहन्छे । बड़ा दशैको दिन पनि आइपुग्छ, चाडपर्वले गर्दा गाउँमा टीका लगाउनेहरूको चहलपहल हुन्छ । तुलसी आँगनमा बसेर एकोहोरो टोलाई बसेकी हुन्छे ,त्यतिकैमा बिहेको बाजा बजेको सुन्छे ।

आफ्नै घर अगाडी बिहेको जोडी जांदै गरेको देखी कसको बिहे रहेछ भनी आँखा तीव्र बनाउँदै हेर्न थाल्दा सानी अनि भानेको जोडी देखेर तुलसीको मन चसक्क हुन्छ ।तुलसीको आँखा बाट आँसुका ढिकाहरु खस्न थाल्छन ,रुंदै आफ्नो भाग्यलाई धिक्कार्न थाल्छे । कसैको नजर तुलसी माथि परेको हुदैन त्यतिकैमा कोई कानखुसी गरेको तुलसीले प्रष्टै सुन्छे ” थाहा छ यो सानीले जालझेल गरी त्यो बिचरा तुलसीलाई भाने देखी टाढा गराएर आफैले भाने संग बिहे गरी नि…”हो र….!

” अलि बिस्तारै बोल कसैले सुन्ला नि फेरी…..! त्यो सब सुनेर तुलसी छांगा बाट खसे झै हुन्छे अनि सानीलाई सम्झिदै दाह्रा किट्न थाल्छे ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१