ताजा अपडेट

बाढिले बगाएको राजमार्ग मर्मत भएन

          |   210 Views   |   Published Date : 13th June 2018 |

IMG_20180612_170142 सन्तोष अधिकारी दाङ,  जेठ ।  घोराही तुलसीपुर सडकखण्डमा पर्ने मोतीपुर सोतामा कल्र्भट नहुदा यातायात आवागमनमा समस्या भएको छ । गतवर्ष साउन २७ गतेको वाढिले घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा कल्भर्ट बगाउदा यातायात सेवा केही दिन बन्द भएको थियो । तुलसीपुर उप महानगरपालीका ६ को मोतीपुर सोतामा आएको वाढिले उक्त कल्भर्ट वगाएको हो ।

कल्र्भट बगाएको एक वर्ष पुग्नै लाग्दापनि बनाउन चासो नदिदा अहिलेको वर्षामा कसरी आवत जावत गर्ने भन्ने चिन्ता यातायात व्यवसायीहरुको छ । साउन २७ गतेको वाढिले कल्र्भट वगाउदा बन्द भएको यातायात सेवा ३ दिन पछि ह्युमपाईप राखेर एकतर्फी रुपमा सञ्चालन गरीएको थियो । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री तथा तुलसीपुर उप महानगरपालीकाका मेयर घनश्याम पाण्डेको पहलमा एकतर्फी वाटो सुचारु गरीएको थियो ।

वर्षादको समयमा एकतर्फी वाटो सञ्चालन गर्नुपनि त्यतिवेलाको ठुलो काम भएको स्थानीयहरु बताउछन् । तर अहिलेसम्म उक्त वाटोको मर्मतका लागि कसैले चासो दिएका छैनन् । घोराही तुलसीपुर सडकखण्डमा चल्ने सवारी चालक शिव भण्डारीका अनुसार अहिले पनि त्यो ठाँउमा गाडि चलाउदा अफ्ठेरो हुनेगरेको बताउछन् । सडकको लेवल नमिलेको र एकतर्फी मात्र वाटो सञ्चालन गर्दा जाममा पर्ने गरेको उनको भनाई छ । “फेरी वर्षायाम सुरुहुनै लाग्दा सम्म पनि सम्वन्धीत निकाय अहिले सम्म मौन बस्दा यो वर्षा पनि उस्तै समस्या भोग्नुपर्ने भएको छ” भण्डारीले भने ।
सोता सानो भएको कारण मानवीय क्षती नभएपनि कल्भर्ट भत्कीदा वाटोमा चिरा परेको थियो । स्थानीय जनप्रतिनिधिहरुले त्यतिवेला वाटो सञ्चालनमा तदारुकता देखाएपनि अहिले भने मौन बसेको राप्ति अञ्चल बस व्यवसायी समितिका सदस्य पदम वली बताउछन् । यो वाटो घोराही तुलसीपुर जोड्ने मात्र नभई पुर्वतर्फ तथा केन्द्रीय राजधानी जोड्ने सडक मर्मतका लागि उप महानगरपालीकाले समेत चासो दिएको छैन वलीले भने । तुलसीपुर उप महानगरपालीका वार्ड नं ६ मा पर्ने उक्त सडक मर्मतका लागि सडक डिभिजन कार्यालयलाई भनेतापनि सुनुवाई नभएको वडा अध्यक्ष नवराज लामिछाने बताउछन् । लमही तुलसीपुर सडकखण्ड आफैमा राजमार्ग भएकोले वडा तथा उप महानगरपालीकाले त्यसमा काम गर्न नपाउने लामिछानेले बताए ।
यता मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका अनुसार केन्द्रले वाढी वाट भएको क्षतीको विवरण पठाएपनि बजेट नआएका कारण काम गर्न नसकिएको जनाएको छ । गतवर्ष वाढि पछि केन्द्रवाट पटक पटक क्षेतिको विवरण माग्ने मात्रै काम भयो तर अहिलेसम्म बजेट नआएका कारण काम नभएको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी तथा ईन्जीनियर दुर्गा गौतमले जानकारी दिए । “मर्मत सम्भारका लागि न्युन बजेट आउनेहुदा त्यो वजेटले टालो हाल्न समेत सकिदैन भने त्यो कल्भर्ट कसरी वनाउने” ईन्जीनियर गौतमले प्रश्न गरे ।

कार्यालयमा आएको बजेटले कालो पत्रे भत्किएको ठाँउमा टालो हाल्ने सम्म पुग्ने बजेट पनि नआउने गौतमको भनाई छ । “तपाई हामी नियमित हिड्ने सडक भएका कारण यो समस्या वारेमा जानकारी भयो तर राप्ति राजमार्ग तथा तुलसीपुर अमेलीया सडक खण्डको हालत पनि त्यस्तै छ” गौतमले भने ।
क्षतिको विवरण केन्द्र सम्म पठाउने काम सडक कार्यालयको भएपनि विकाशका काम मैले गरेको भन्ने नेताहरुले नै चासो नदिएको स्थानीयहरुको आरोप छ । क्षेतिको यकिन विवरण पठाउदा समेत बजेट नपरेका कारण यो वर्ष पनि बर्षाको समयमा कहर काट्नु पर्ने निश्चित प्राय छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१