ताजा अपडेट

फस्ने डर’ले दश वर्षीय बालकलाई जिउँदै गाडीयो

          |   658 Views   |   Published Date : 12th June 2018 |

hh

नेपालगञ्‍ज , जेठ २९  | शमशेरगञ्जका दश वर्षीय बालक आयुस केसीलाई जिउँदै गाडिएको खुलासा भएको छ। ट्रयाक्टरबाट खसेपछि बेहोस भएका आयुसलाई मरेकोजस्तो लागेर र ‘सबैजना फस्ने डर’ले चालक तथा सहयोगीले परुवा खोलाको छेउमा गाडेको खुलासा भएको हो।

ट्रयाक्टर चालक रोशन घर्तिले बालक ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएको जानकारी दिएपछि मालिकले सबै जना फस्ने भएकाले त्यही गाडेर भाग्‍न निर्देशन दिएको अभियुक्तहरुले बताएको स्रोतले दावी गरेको छ। यतिबेलासम्म बालक मरिसकेका थिएनन्। उनको धड्कन चल्दै थियो। मालिक सूर्य खड्काका अनुसार गरेपछि चालक घर्ति र सहयोगीहरु विकास विक, राजेश चलाउने र लैछरन थारु फरार भएका थिए। उक्त घटना दबाउन स्थानीय धनविर विकको पनि संलग्नता रहेको प्रहरीले बताएको छ।

रातीसम्म घरमा नआएपछि बालकका घरपरिवारले खोधीखोजी थाले। परुवाखोलामा डुबेको हुन सक्ने भन्दै खोजियो। गाउँलेहरु बढ्दै गए। प्रहरीलाई खबर गरियो । ठूलो संख्याका गाउँलेहरुले आधा रातसम्म जंगलमा खोजतलास गरे।

पछि बालक जंगलमा मृत अवस्थामा भेटिए।बालक भेटिएको ठाउँमा गाउँलेहरु त्यसअघि नै ४÷५ पटक पुगिसकेका थिए । पहिला आउदा त्यहाँ नभएका बालक पछि कसरी फेला परे रहस्यको विषय बन्यो।

ट्रयाक्टरका सहयोगीहरु विकास, राजेश र लैछरन तथा अर्का ट्रयाक्टरका चालक कलिराम थारुलाई गाउँलेले सामान्य पिटपाट पारेर वास्तविक भन्न दबाब दिए । ठूलो संख्यामा रहेका गाउँलेको भीडले आफूहरुलाई मार्न सक्ने भन्दै डराएका उनीहरुले बास्तविक खोले।

भएको के रहेछ भने ट्रयाक्टरबाट खसेपछि बालक हलचल, बोलचाल केही गर्न नसक्ने अवस्थामा पुगेछन्। नातामा मामा नै पर्ने चालक रोशनले ट्रयाक्टर मालिक सूर्यलाई फोन गरेर सबै कुरा बताएछन् । फोनमा कुराकानी गर्दागर्दै समय अलि बित्यो।

बालकको झन् हलचल देखिएन। ट्रयाक्टर चालकसँग लाइसेन्स नभएकाले मालिकले पनि सबै जना फस्ने भएकाले मरेको भए त्यही गाडेर भाग्न सल्लाह दिए । चालक र सहयोगीले बेल्चाले खाल्डो खनेर बालकलाई गाडेर भागे। घटनास्थलबाट बेल्चा पनि बरामद भएको छ।

ठूलो संख्याका गाउँलेहरु जंगलभरी छरिए। पछि पटक–पटक हेरेको ठाउँमा बालकको शव भेटियो। ट्रयाक्टरका सहयोगीहरुले गाउँलेले अर्कोतिर खोजिरहेको बेलामा गाडेको बालकलाई उठाएर त्यहाँ ल्याएर राखिदिएका रहेछन्।

राति एक बजेतिर भेटिएको शवलाई घरपरिवारले बुझ्न मानेनन्। सोमबार अपरान्ह शवलाई नेपलगञ्ज नर्सिङहोममा ल्याइएको छ। आजसम्म पोष्टमार्टम भएको छैन। चालकलाई पक्राउ गरेर कडा भन्दा कडा कारबाही गर्नुपर्ने स्थानीयले माग राखेका छन्।

ट्रयाक्टर मालिक पक्राउ


ट्रयाक्टरका मालिक सूर्य खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।प्रहरीले खड्कालाई नेपालगञ्जबाट पक्राउ गरेको हो। कोहलपुर प्रहरीले दिएको लोकेसनबाट नेपालगञ्ज प्रहरीले खड्कालाई पक्राउ गरेको हो। उनलाई दिउँसो नै कोहलपुर लगिएको छ।

ट्रयाक्टरका सहयोगीहरुले मालिक खड्काले सबैजना फस्ने भन्दै बालकलाई गाडेर भाग्न भनेको गाउँलेसमक्ष खुलासा गरेका थिए घाइते बालकलाई अस्पताल लैजाऊ भन्नुको साटो गाडेर भाग्न भनेको भन्दै स्थानीयको ठूलो समूह खड्काको घर घेराऊ गर्न पुगेका थिए। प्रहरीले केही गर्न भने दिएन।

ट्रयाक्टर चालक रोशन घर्ति भने फरार रहेका छन्। उनलाई प्रहरीले खोजिरहेको जनाएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१