ताजा अपडेट

रोल्पा : युद्धपछि अक्षरको आन्दोलन

          |   97 Views   |   Published Date : 10th June 2018 |

rolpa

नवीन अभिलाषी,  रुखहरुमा नयाँ पात । भरिँदै भरिँदै गएको जंगल । बसन्त पछिको अन्तिम अन्तिम जेठमासले निर्खाएको फूलहरु । मोहित पार्ने पहाड, गाउँको विच छातीबाट छिचोलिएर बनाईएका घुमाउरा र साँधुरा सडक । अग्ला पहाडरुको कहिले खोँच कहिले टापुमा चिप्लीँदै चिप्लीँदै पुगियो रोल्पा । एक वर्ष पछि रोल्पाको टुडिखेलमा पुग्दा भब्य महसुस भयो । टुडिखेललाई सुस्त सुस्त छोएर उसै गरी बग्दै थियो माडि । माडिको आवाजमा निरासा थियो । न उत्सव ।  

टुडिखेल सपनाहरुको साझा विसौनी जस्तो । घरबाट निस्केर आईपुग्ने थकानहरुको चिहान त्यो । टुडिखेलसंग अनेक कथाहरु छन् विगतका । स्मरणीय विगत त्यो पनि रक्तमुछेल र आक्रोश सहितको अतित । रोल्पाको टुडिखेल लामो समय कालखण्डको साक्षि हो परिवर्तनको । साधुरो र अग्ला अग्ला घरहरुले घेरिएको टुडिखेलमा अचेल शान्ति, विकास र समृद्धिपुर्ण सपनाहरुको लेखाजोखा हुन्छ । साना साना नानीहरु निर्भय लेख्छन्, हिड्छन्, डुल्छन् । योजनाहरु बुन्छन् युवाहरु, प्रहरी देखि मानसिक सन्तुलन गुमाएकाहरुको टोलाई बस्ने ठाउँ त्यो ।

कम्युनिज्मको विज रोपिएको थवाङ । रोल्पा लिबाङ देखि ५ देखि ६ घण्टाको दुरीमा छ । २०१३ सालमा मोहनविक्रमले रोपेको विज यतिसम्म हुर्कियो कि ५० को दशक सम्म आईपुग्दा रोल्पाको माटो पनि कम्युनिष्ट भयो, ढुंगा पनि । रुखले पनि बन्दुक बोक्यो, पानीले पनि । परिवर्तनको पहिलो नेपालमा शासन व्यवस्था परिवर्तनका लागि हतियार उठेको दुई चार पटक भएको थियो । तर सम्पुर्ण रुपमा परिवर्तनको झिल्को उठ्ने गरी रोल्पाले हतियार उठायो । ९ सय बढिले परिवर्तनका लागि जीवन मारे ।

जनयुद्धको विसर्जन पछिको करिब एक दर्जन वर्ष पछि पनि रोल्पा उस्तै छैन तर शान्त छैन । केहि चल्मलाईरहनु, छट्पटि देखाईरहनु रोल्पाको स्वभाव निर्माण भैसकेको छ । बन्दुकले दुखेको रोल्पाले अहिले अक्षरहरुको आन्दोलनको अभियानमा छ । हतियारले एउटा परिवर्तनको खाका कोरेकोमा विस्वास गर्छ रोल्पाले तर परिवर्तनको बाटो भने अझै सकिएको छैन भन्ने लागेर कला, साहित्य र संगीतमा परिवर्तन खोजिरहेको छ । वर्षमा ३० भन्दा बढि किताबहरु प्रकाशन गर्दै आएको रोल्पाका अहिले रुखले पनि गजल लेख्छ, पानीले पनि गीत गाउँछ, ढुंगाले पनि कविता भन्छ, माटो माटोमा छ अक्षर लेख्ने आकाक्षा ।

जेठ २०, २१ र २२ गते बृहत साहित्य सम्मेलन २०७५ रोल्पामा सकियो । नेपाली साहित्यीक कार्यक्रमहरुको ईतिहासमा भब्यताको उचाई रोल्पामा देखियो । देशभरबाट रोल्पा पुगेका लेखक, साहित्यकार, पत्रकारहरुले कार्यक्रमको खुलेर प्रंशसा गरे । रोल्पामा पुग्ने कतिपयलाई डर थियो भित्र कतै । युद्धले गाँजेको भुगोल छुनछाम्न पाउनु एउटा अनौठो परिदृश्य निर्माण भएका थिए कतिको मनमस्तिष्कमा ।

अक्षरमा युद्धको स्मरण

तत्कालिन शासन व्यवस्था माथी धावा बोल्दै रोल्पाबाट सुरु भएको थियो युद्धको उदघोष । युद्ध साहित्यको लागि उर्वर रोल्पामा अहिले सम्म थुप्रै युद्ध लक्षित साहित्य निर्माण भएको छ । तर तहमा पुगेर रोल्पाको युद्ध साहित्य सिर्जित हुनु पर्ने थियो त्यो हुन सकेन भन्छन् लेखक साहित्यकारहरु । बन्दुक बोक्दा बोक्दै लेख्ने कवि लेखकहरु देखि युद्ध विर्सजन पछि लेख्ने लेखकहरुको जमघट रोल्पामा भयो । युद्ध भोग्नेहरु त थिए नै रोल्पामा, रोल्पाबाट निक्कै दुर रहेका र युद्धबारे सुनेको मात्रै पछिल्लो पुस्ताले पनि अक्षरमा युद्ध लेखेर बोले ।

हेर्लिन आमाले बर्षौ पछी

के के लिएर आउदै छ छोरो भनेर बाटैभरी

देखिसकेपछी मलाई

कुद्लान बा’ छरछिमेक खुशिले सुनाउदै

तिमी आउदै छौ भनेर

देखिसकेपछी मलाई

त्यसबखत उनीहरुलाई कसरी भन्नू मैले ?

तिमी युद्धमा बेपत्ता भएको खबर ।

(अमि प्रिन्स – बेपत्ता चप्पल)

थाह छ साईला !

हिजो मैले खुर्पेटोबाट खुर्पा निकालेर हिँडेपछि

नजिक आउन डराएका छन्

अर्काको जिन्दगी चिहाउन तन्किने घाटीहरू

पिएर उन्मुक्तिको भाँङ नाँचेपछि ताण्डव नाँच

रोकिएका छन समाजका नर्तकीहरूका गोडाहरू

(प्रज्वल अधिकारी – आउ साइँला एकै छिन भलाकुसारी गरम)

बृहत साहित्य सम्मेलन २०७५ कै अबसरमा आयोजित राष्ट्रिय कविता महोत्सबमा प्राप्त भएका १ सय ५४ कविता मध्य उत्कृष्ट १५ बाचन भएका थिए । बाचित रचना मध्य प्रज्वल अधिकारीको कविता आउ साइँला एकै छिन भलाकुसारी गरम प्रथम भयो । कवितामा युद्धको पृष्ठभुमि छ, र युद्ध अझै समाप्त भएको छैन भन्ने भावमा रचित छ । भुईमान्छेहरु कसरी सामाजिक तथा आर्थिक रुपमा उत्पीडत भोगीरहेका छन ? र त्यसको कारण के हो भन्ने बारेमा कविताले बोलेको छ ।

प्रतियोगितामा देस्रो आएको लक्ष्मण संगमको कविता म त मुर्ख रहेछु भन्ने शिर्षकको कविताले पनि रोल्पाको युद्धलाई छोएको छ । सान्त्वना भएका कवि अमि प्रिन्सको बेपत्ता चप्पल सम्पूर्ण रुपमा युद्धमा बेपत्ता भएकाहरुको नाममा उल्लेख छ । यी बाहेक कार्यक्रममा बाचन गरीएका रचनाहरु रोल्पा प्रति समर्पित थिए ।

अनन्त र ओनसरीसंग

देशमै उत्कृष्ट व्यवस्थापनका साथमा आयोजना गरीएका कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोलाईएको थियो रोल्पालीहरुको अभिभाबक उर्जा जलस्रोत तथा सिचाँई मन्त्री वर्षामान पुनलाई । रोल्पाको साहित्यले नेपाली साहित्यको मुलधारलाई प्रभाब पार्ने गरी गतिविधिहरु भएको प्रति खुशी ब्यक्त गरेका पुनले आफु साहित्यबाट टाढा नरहेको कुरा गरे । सम्मेलन उद्घाटन गर्दै नेता पुनले बन्दुकको सिरानी लगाएर लेखिएका साहित्यले नेपाली समाजलाई परिवर्तनका खातिर गरेको योगदान स्मरणीय रहेको चर्चा गरे ।

रोल्पाको लिबाङबाट करिब आधा घण्टाको बस यात्रा पछि पुगिन्छ माडिचौर । उर्जा जलस्रोत तथा सिचाँई मन्त्री वर्षामान पुन र पुर्नसभामुख ओनसरी घर्तिको घर हो । जहाबाट पुन र घर्तिले सामान्य जीवनयापन गर्दा गर्दै युद्धमा होमिएका थिए । बृहत साहित्य सम्मेलन सहितका केहि कार्यक्रमको लागि गृह जिल्लामा फर्किएका दम्पती तथा नेताले रोल्पाको युद्ध साहित्यको विकास, प्रभाव र परिणामको बारे चर्चाका लागि लेखक साहित्यकारहरु पनि माडिचौर पुगेका थिए ।

सो कार्यक्रममा युद्ध साहित्यको संरक्षणका लागि उर्जा जलस्रोत तथा सिचाँई मन्त्री वर्षामान पुनले कुनै योजना बनाउन नसकेको देखियो । तर यसको संरक्षणका लागि राज्यले काम गर्न सक्ने आधारहरुबारे नेता पुनले चर्चा गरे ।

साहित्यमा युद्धको प्रभाव

नेपाली साहित्यको विशा संरचनामा पछिल्लो पटक थमिएको युद्ध साहित्यको भावभुमी रोल्पा । तत्कालिन नेकपा माओबादीले राज्यसत्तालाई कमजोर तुल्याउन एउटा ससस्त्र सैनिक निर्माण गरेको थियो भने अर्को सास्कृतिक सेना । सास्कृतिक सेनाको काम नै कला, साहित्य र संगीतको माध्यमबाट जनताको समर्थन संकलन गर्ने हुन जान्थ्यो । तर बन्दुक बोकेर युद्धमा होमिएका सैनिकहरुले पनि साहित्य लेख्थे । त्यहि पात्र हुन क्षितिज मगर ।

बृहत साहित्य सम्मेलनकै एउटा कार्यक्रम थियो रोल्पाको माडिचोरमा युद्ध साहित्यको विकास, प्रभाव र परिणाम । जस्को बहसका लागि उपस्थित थिए माक्र्सबादी साहित्य चेत बोकेका कवि यज्ञबहादुर डाँगी, युद्धलाई आख्यान लेखिरहेका समकालिन लेखक तथा पत्रकार नवीन विभाष र पुर्वछापामार तथा लेखक साहित्यकार क्षितिज मगर ।

युद्ध साहित्यलाई तीन कोणबाट हेरिएको छ । माओबादी आन्दोलनलाई आतंककारीको रुपमा ब्याख्या गरीएको छ भने युद्धका उज्याला पक्षहरुको अर्को चर्चा छ । तेस्रो कोण हो माओबादी र राज्य दुबै आतंककारी थिए । आख्यानकार नवीन विभाष भन्छन्, ‘युद्धले नेपालीहरुमा पनि रोल्पालीहरुलाई बढि दुखायो, रोल्पालीहरुमा पनि मंगोल अनुहार भएर जन्मिएकाहरुलाई बढि ।’ नवीनले युद्धले खाम भाषी मगर समुदायलाई बढि भएको चर्चा गरे । कवि यज्ञबहादुर डाँगीले युद्धमा सबै भन्दा बढि लेखिएको विधा कविता भएको भन्दै सबै कविता कविता जस्तो नभएको बताए । युद्धकालमा लेखिएका कविताहरुमा कविता भन्दा पनि बढि नारा लेखिएको र जनतामा नारा नै सम्प्रेषण गरेको उनको भनाई थियो । उनले कविता जति क्रान्तिकारी छ त्यसमा कलात्मकता पनि हुनु पर्ने बताए ।

तर युद्ध र कवितायात्रा संगसंगै थालेका क्षितिज मगरले युद्धमा कला कमजोर सावित हुने गरेको अनुभव सुनाए । बन्दुकको सिरानी लगाएर लेखिएका कवितामा कलात्मकता भन्दा पनि विचार दिन बाध्य हुनु पर्ने बताए ।

रोल्पाली स्वाद

बृहत साहित्य सम्मेलन २०७५ ले यतिबेला देशदेशावरलाई छोएको छ । रोल्पाबाट फर्किएका लेखक साहित्यकारहरुले रोल्पाको प्रशंसा गर्दै सामाजिक सञ्जाल देखि सञ्चारमाध्यमहरुमा पोखिरहेका प्रतिक्रियाहरुले रोल्पालाई अक्षरहरुको राजधानी निर्माण गर्नमा सहयोग पुर्याएको छ ।

साहित्य सम्मेलनकै क्रममा लिबाङकै छिमेकी गाउँ गुरुङगाउँ, माडिचौर र सातदोबाटो लगाएतका स्थानमा गरीएको स्वागत, खानपान, नाँचगान र कार्यक्रम अबधीभर प्रस्तुत सास्कृतिक कार्यक्रमहरु रोल्पाली स्वादका थिए । धेरैलाई लागेको थियो हो रोल्पाले युद्धकै सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्छ भनेर तर त्यसो भने भएन । कार्यक्रममा कुनै क्रान्तिकारी गीतहरु पनि बजेनन्, बरु माधवप्रसाद घिमिरे, गुलाम अलीका गीतहरुले टुडिखेल गुञ्जायमान भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१