ताजा अपडेट

समयको परिवर्तनसँगै नैतिकता पनि परिवर्तन हुँदै गयो

          |   179 Views   |   Published Date : 19th May 2018 |

q नारायणप्रसाद श्रेष्ठ समयको परिवर्तनसँगै मानिसको मन, वचन र विचारमा पनि परिवर्तन भइरहेको छ । समयको रफ्तारसँगै मानिसले आफ्ना आवश्यकताको पहिचान, आपुर्तितिर पनि त्यतिकै ध्यान केन्द्रीत गरेको अवस्था छ ।

आफ्नो र आफ्नो परिवेशको लागि मानिसले कोही कसैको कुनै प्रयोजन नगरी केवल निहित स्वार्थमा आधारित कर्ममा पनि त्यत्तिकै लिप्त भएको अवस्था छ । यसरी परिवर्तन भइरहेको सामाजिक वनावट हेरिरहेका अर्थात हिजोको परिवेश र आजको परिवेशलाई नियाल्दै आएका कतिपय बुज्रुकहरु हिजो र आजमा समयको परिवर्तन मात्र होइन मानिसको आहार, विहार आचरण र व्यवहारमा पनि परिवर्तन भएको स्विकार्नु हुन्छ ।

हिजोको जीवन पद्दति आजको परिस्थितिमा व्यापक फेरबदल आएको छ । समयको परिवर्तनसँगै मानिसको विचार र व्यहारमा पनि ह्रास हुँदै गएको मान्नुहुन्छ । कतिपय कुराहरु सामाजिक संस्कारभित्र परिस्कृत हुँदै आएका छन् भने जमाना अनुसारको सोच र चिन्तनमा अनावश्यक विस्तार भएको छ । भौतिक चकाचौधको विलासीपनले ढपक्क ढाकेको अवस्था छ । आफ्नो विरानो छुट्याउँदै सामाजिक संस्कारमा समेत परिवर्तन भएको छ । समयको परिवर्तनसँगै सामाजिक न्याय प्रणालीमा पनि व्यापक सुधार हुनुपर्नेमा सामाजिक न्याय प्रणालीमा संकुचित विचार देखिदै गएको अवस्था छ । यसरी मानिसले आफुले आफैलाई अंकुश लगाउँदै अघि बढेको अवस्था छ । जीवनशैलीमा छाडापन बढेको छ ।
हिजो अनुशासन र मर्यादित जीवन पद्दति थियो । सामाजिक बनोटमा आत्मसहयोगको स्थिति थियो । टोल छिमेकमा ऐचोपैचो सुखदुःखको सहभागी हुने वातावरण थियो । नीति र नियमलाई जीवनको अभिन्न अंग मानी सही गोरेटो भनेर अनुशरण गरिन्थ्यो । बुजु्रक स्वयम यसका पद प्रदर्शक थिए । वर्षौ अनुभव संगालेका बुज्रुकको शैली र स्पष्ट निर्देशनलाई जीवनको गति दिने आधार मान्दै मानिसको चालचलन र व्यवहार प्रदर्शन थियो । मानवले मानवलाई दिनुपर्ने सेवा सत्कार र सद्भावलाई हुवहु मान्यता राखिन्थ्यो । भौतिक सुखसुविधा र विलासी पन नभएपनि जीवन सरल र रस भरिएको फल झै थियो ।

तर आज भौतिक उन्नतीले ल्याएको परिवर्तनसँगै बढेको विलासी सामग्रीले मानिस चर्म दृष्टिले भरिलो र फुर्तिलो देखिएपनि उस भित्रको चेतनामा खोक्रोपन बढ्दै गएको छ । यतिमात्र होइन मान्यजनप्रतिको सोचाई र सद्भावमा समेत फेरबदल हुँदै आएको छ । मानिसले मानिसप्रति गर्ने व्यवहारमा परिवर्तन भएको छ । सोच र चिन्तनमा विभेद देखा पर्न थालेको छ । मानिस सांघुरो घेराभित्र बाँच्न विवश र वाध्य छन् ।
हो ! मानिस परिवर्तन चाहन्थ्यो । समयको परिवर्तनसँगै जीवनको गतिशिलतामा फेरबदल लिन चाहन्थ्यो । हिजैकै गतिले वर्तमानलाई नभेट्ने स्थिति पनि हुन सक्छ भनेर भागदौडको अवस्था हुनु स्वभाविक हो । परिवर्तन चाहन्थ्यो । भयो । तर उसको सोच र संस्कारमा देखिन थालेको संकुचनले उसको हाउँभाउ र सेवामा पनि स्वार्थ लुक्न पुग्यो । कुरा र व्यवहारमा फरकपन देखा पर्दै गयो । भौतिक विज्ञानले ल्याएको परिवर्तन नै जीवन हो भन्ने सोचाईमा मानिसको संस्कार दौडन थाल्यो । आफ्नो र विरानोको वर्गभेद छुट्टीन थाल्यो । विभेदकारी नीति अवलम्बन तर्फ मानव सोच बढ्न थाल्यो ।

बाल मनोविज्ञानमा बच्चादेखिनै गलत संस्कारको विजारोपण गरिन थालियो । परम्परादेखि चल्दै आएको संस्कृति र संस्कारलाई आधुनिकताको नाममा गलत दिशातर्फ उन्मुख गराउने कार्यमा मानिस स्वयम लागि पर्न थाल्यो । नैतिक आचरण र व्यवहार केवल किताबी पानाभित्र व्याख्या गरिन थालियो । बाल मनोविज्ञानभित्र परिस्कृत हुनुपर्ने नैतिक आचरण र व्यवहार सरल तथा उत्कृष्ट जीवनशैली भन्दा स्वार्थपरक अहंकारयुक्त सामाजिक संस्कार स्थापित हुँदै गयो । यि हाम्रा आदर्श हुन् भन्नुभन्दा पुरानो खुइलियो जमाना नयाँ, विचार नयाँ, सोच नयाँ भन्दै क्षणिक विलासी तर्फ मानिसको ध्यान बढ्दै गयो । सत् प्रबृत्ति भन्दा कुप्रवृत्तितर्फ मानिस आकृष्ट हुँदै गयो ।
यसरी मानिसको परिवर्तनको चाहानासँगै सामाजिक संस्कृतिमा फेरबदल हुँदै आयो । सामाजिक मुल्य र मान्यतामा ह्रास देखिदै गएको बुज्रुकले महशुस गरेर विचार प्रवाह गर्न थाले । सामाजिक परिवेश नै अमर्यादित र संस्कारहिन आचरण तर्फ मोडिन थाल्यो ।
समयको परिवर्तनसँगै परिस्कृत हुँदै आएको मासिनको सोच र संस्कृति र नैतिक विलासीले मानिस आफुलाई सभ्य र परिस्कृत त बनाए तर सभ्य र चरित्रवान नैतिक शिक्षामा अब्बल भएको महशुस गर्न सकेन । चरित्रवान मानविय स्वभावमा व्याख्या गरिने थोरै आधारपनि संस्थागत हुन सकेन । सामाजिक मुल्य र मान्यताभित्र बाँचेको उहिलेको आचरणयुक्त जीवनमा पनि परिवर्तन हुँदै आयो । यतिसम्म युग परिवर्तन हुँदै आयो की जन्मदिने आमा नै उसको मार्गनिर्देशक हो भन्ने कुरा समेत विर्सने परिस्थिति जन्मन पुग्यो ।

जन्मदिने आमा र कर्मदिने बाबुको सत्यतामाथि प्रश्न उठ्न थाल्यो । पारिवारिक संरचनामा फेरबदल हुँदै गयो । छोटो परिवार सुखी परिवार भन्दै बृद्ध बाबाआमालाई बृद्धाश्रममा रहने स्थित जन्माइयो । बाबु र आमाप्रति मानिसले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी रकममा सटही हुन थाल्यो । बाबुआमाकै सम्पत्तीमा बाबुआमालाई नै अर्गेलो देखाउँदै जाने मानिसको सोच र चिन्तनमा परिवर्तन भयो । हुँदा हुँदा आध्यात्मिक सत्यको सत्यतालाई विज्ञानको खोजको नाममा ओझेल बनाउन थालियो । आध्यात्मिक सत्यलाई धर्ममा रुपान्तरण गर्दै विविध विचार वाहिर आउन थाल्यो । सबैकुरा विज्ञानको खोज भन्दै आध्यात्मिक सत्यभित्रको प्राकृतिक यथार्थलाई बंग्याउने धृष्टता हुँदै गयो ।

प्रकृति आफैमा सुन्दर र नीति र नैतिकताभित्र आवद्ध रहेको यथार्थ विर्सेर मानिस वर्ग स्वार्थभित्र तल्लीन हुन थाल्यो । आफ्नो अस्तित्व मेटाउन आफै लागि पर्न थाल्यो । विकास भयो तर विकासको नाममा विलासी जीवन यापन गर्न पाउने लोभ र आशमा प्रकृतिको विनाश र मानिसको जीवनशैलीमा कष्ट थपिदै जान थाल्यो । स्वच्छ र पवित्रता गौण हुन थाल्यो । यसतर्फ मानिसको सोचै बढ्ने अवस्था रहेन । स्वच्छ र स्वस्थ्य वातावरणमा हुर्किएको अनुशासित जीवनशैलीमाथि औला ठड्याउने स्थिति आफैले सिर्जना गर्न थालियो । प्रकृतिले मानिसलाई दिएको स्वतन्त्र उपहार र बरदानलाई निरर्थक मानिदै गयो ।

अरुलाई कुदृष्टिले हेर्नु हुँदैन, प्रकृति हाम्रो जीवन हो । यही प्रकृतिबाट हाम्रो जीवनशैलीमा स्वच्छता पैदा हुन्छ । उत्तम विचार उत्पन्न गर्न सक्छ भन्ने मान्यतामा प्रश्न उठाउन थालियो । सुर्योदयको उदयसँगै चलायमान हुने मानव स्वभावमा स्वार्थले प्रवेश गर्न पुग्यो । आफुबाहेक अरु कसैलाई प्रगति गरेको देख्न नसक्ने परम्परा र संस्कृतिको विकास हुन थाल्यो । समय परिवर्तन भयो । मानिसको सोच र चिन्तनले ल्याएको विकृति र विसंगतिका कारण संस्कृति र संस्कारमा परिमार्जितको नाममा अनुशासनहिन चरित्र तर्फ मानव चिन्तन बढ्न थाल्यो । हिजो पानीको मुहान संरक्षण गर्नुपर्छ ।

पानी जीवन हो भन्ने आचरणले मानिस आफुलाई स्वयम जिम्मेवार बनाउँथे तर वर्तमानमा मुहानलाई कानूनले संरक्षण गर्नुपर्ने वाध्यता देखिदै आयो । नैतिकतामा प्रश्नचिन्ह खडा हुन थाल्यो । वातावरणमा असन्तुलन आइरहेको यथार्थ सत्यलाई गोलमटोल गरी स्वार्थ सिद्ध गर्ने मानविय संस्कृतिले आफ्नो खुट्टामा आफैले बन्चरो हान्दै आफैलाई कानूनी कटघरामा उभ्याउन थालियो । हुँदा हुँदा राष्ट्रिय गौरब बोकेको नेपालको प्राकृतिक सत्य र सौन्दर्यलाई किताबी पानामा खोजिनुपर्ने परिस्थिति उत्पन्न गराइदै जान थाल्यो । यसरी समय परिवर्तन भयो संस्कार र संस्कृतिमा फेरबदल भयो तरपनि मानिसले आफ्नो गतिलाई निर्धारण गर्न सकेन र भविष्यमा आउने खतराप्रति निसङ्कोच रहदै आफैलाई आफ्नो संस्कारलाई स्थापित गर्दै अगाडी बढ्यो ।
तसर्थ नीति र नैतिकतामा आधारित नेपाली सत्यतालाई विश्व रंगमन्चमा कुशल र मर्यादित आचरणयुक्त नेपाली विरताको परिचय दिन सबै लागि परौं । परिवर्तित सत्यलाई अंगाल्दै अनुशासित र मर्यादित जीवन शैली अपनाउन आफु र आफ्नो परिवेशलाई सुधारौं आजको आवश्यकता यही हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१