ताजा अपडेट

शारीरिक अपांगता भएको गुनासो , अवसरमा क्षमता हेरेकोे खै ?

          |   147 Views   |   Published Date : 18th May 2018 |

32853945_1756787387693524_770747789826064384_n रीता लामा घोराही, ४ जेठ । गत बर्ष जिल्लामा नाम चलेको एउटा संस्थामा आवेदन खुल्ला गरियो । घोराही भरतपुर निवासी विवेक खड्काले आफ्नो अनुभवनसँग मिल्दोजुल्दो भएको हुदाँ आवेदन दिए । सटलिस्टमा नाम निस्कियो । लिखितमा पास पनि भए ।

तर मौखिक हुदाँ प्रश्नकर्ताले उनलाई फिल्ड जानुपर्छ तपाईसक्नु हुन्न होला भने र, उनलाई अनुतिर्ण पनि गराई दिए । उनले अर्को ठाउँमा पनि प्रयास गरे उही प्रकृतिको नमिठो भोगाई पाए ।


नेपाली साहित्यमा एम.ए पास गरेका विवेक खड्का लामो समय पत्रकारीता गरेका एक जुझारु र क्षमतावान व्यक्ती हुन । रेडियो स्वर्गद्धारीमा कार्यक्रम संचालक र समाचार बाचकको रुपमा उनले १२ बर्ष विताए । विभिन्न औपाचारीक कार्यक्रममा उनी सधै एउटा प्रष्ट र धारावाहिक वक्ताको रुपमा प्रस्तुत हुन्छन । जुनसुकै क्षेत्रमा पनि आफुलाई खरो रुपमा उतार्न सक्ने उनको क्षमता छ । सरकारी निकायसँग समन्वय गरेर काम गर्ने विभिन्न संघसंस्थाहरुमा पनि उनले कामको लामो अनुभव संगाली सकेका छन ।
आफ्नो एउटा खुट्टामा सामान्य कमजोरी हुदा उनी लौरोको साहेताले हिड्छन । समाजमा आफ्नो राम्रो प्रस्तुती देखाइसकेका खड्कालाई जागिरको लागि धाउदा क्षमताले होइन शरीरले धोका दिने गरेको छ । पटक पटक अपांगताको कारण देखाउदै जिम्मेवार व्यक्तिहरुले नै आफ्नो क्षमतालाई ओझेलमा पारेको देख्दा उनलाई दिक्क लागेर आउछ । ‘अपांगता भए पनि भनसुन गरे जागिर पाइन्छ तर क्षमता कै आधारमा पाउन गारो छ ।’ उनले भने ‘क्षमता र अनुभवको आधारमा पटकपटक जागिर खान खोजे तर असफल भए ।’
जागिरमा क्षमता भन्दा शरीरलाई प्राथमिकता दिदा उनी जस्ता क्षमतावान व्यक्तिहरु अवसरबाट बन्चित हुनु परेको छ । उनी मात्र होइन शारीरिक रुपमा अपांगता भएका साविक राजपुर ३ भैसहवाका रामशंखर यादवसँग पनि खड्का कै जस्तो अनुभव छ । प्रतिशप्रर्धाबाट अन्तिम दुइ जनामा परेका यादवलाई पनि अन्र्तवार्ताको क्रममा उस्तै प्रश्न दोहोरीयो । फिल्ड हिड्न पर्छ तपाई सक्नु हुन्छ होला र ? भन्ने । र अन्तमा अवसरबाट बन्चित गराईयो । अहिले उनी अपाग मानव अधिकार एवम सरोकार मञ्चमा काम गर्छन । अन्य स्थानमा कुनै पनि निकायमा कर्मचारी आवश्यकताको विज्ञापन आयो भने उनलाई सितिमिती दरखास्त दिन जान गाह्रो लाग्ने गरेको छ । शारीरिक अवस्था हेरेर इन्कार गरेको देख्दा मनै भाचिएर आउने गरेको उनले सुनाए ।
जति नै पढेलेखेका वा बुझेका भनिएका व्यक्तिहरुले पनि अवसर दिने सवालमा विभेदको दृश्टि देखा पर्ने गरेको बताउछन अपांगताको क्षेत्रमा काम गरिरहेका पत्रकार शिव घर्ति । ‘जति नै क्षमता भए पनि अरुले जति गर्न सक्दैनन कि भन्ने सोच अधिकासं व्यक्तिहरुमा आउछ ।’ उनले भने ‘पछिल्लो समय अपांगता भएकालाई सम्मानित व्यवहार गरे पनि अवसर दिने सवालमा हच्किन्छन ।’
अपांग मानव अधिकार एवम सरोकार मञ्चका कार्यक्रम संयोजक चिन्तामणि पौडेल पनि अवसर दिने समयमा अपांगता भएकाहरुलाई विभेद गरिने गरेको बताए । अपांगता भएकाहरुसँग पनि क्षमता हुन्छ । उनीहरुले पनि अरुले बरावर काम गर्न सक्छन भन्ने सोच सबैमा आउन नसकेको उनले सुनाए । सरकारी एवम अर्ध सरकारी क्षेत्रमा पनि अपांगताको कोटामा अरु नै जाने गरेको उनको गुनासो छ ।

‘अपांगता भएकाहरुको लागि भनिएको हुन्छ तर साच्चिकै अपांगता भएकाहरुले अवसर पाउदैनन अपांगता भएकाको नाममा अरु नै पुगिरहेका हुन्छन ।’ उनले भने ‘अपांगता भन्छन तर सामान्य हातको, खट्टाको एउटा औला नभएकाले अवसर पाउछन । जवकी उनीहरु सपाङ्ग सरह हुन्छन ।’ उसो त अपांगता भएकाहरुलाई सितिमित काम, नेतृत्वमा अवसर पाउन मुस्किल छ त्यसमा पनि सरकारी क्षेत्रबाट हुने विभेदले अपांगता भएकाहरुले झन पीडा महसुस गरिरहेका छन ।
हालसम्मको तथ्याङ्कलाई हेर्दा दाङमा १२ हजार ८ सय ८१ जना अपांगता भएका व्यक्ति छन । जसमा ६ हजार ८ सय ६० पुरुष र ६ हजार २१ महिला छन । भने शारीरिक अपांगता भएकाहरु मात्रै ४ हजार २ सय २९ जना छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१