ताजा अपडेट

मिनुले पुष्करको आँखा आँशुले भिजेको प्रष्टै देख्छिन र आफू संग ल्याएको गुलाबको फूल लुकाउँछिन

          |   125 Views   |   Published Date : 12th May 2018 |

32349453_898715930313479_7532103577427247104_n

  दीपक जी.एम. "आर्जव "  कथा : " शर्ट  ''  '' आहा कति जाती देखिएको तिमीले लगाएको यो शर्ट..लाग्छ पुरै आकाश नै भरिभराउ भए झै ,अनि थाहा छ पुष्कर मलाई यो शर्ट असाध्यै मन पर्छ नि। मीनुको कुरा सुनेर पुष्कर मुसुक्क हांस्दै साइकिल चढ़ि अघि बढ्छ ।

मीनु भने पुष्करले लगाएको शर्ट तिर हेर्दै आफैमा भुनभुनाउन थाल्छे ” कति पीडा छ उसलाई तर जहिले जहा जो संग भेट्दा पनि मुस्कान छरेकै हुन्छ ,उसको शान्तपूर्ण ब्यावहार देखेर लाग्छ शायद म उसलाई मन पराउन थालेकी छु । तर खै किन यस्तो लाग्छ उसको म प्रति कुनै चासो छैन ,जे होस एकदिन म उसलाई आफ्नो बनाएर नै छाड्छु ”..।


सँसारमा सबै एकैनासका हुदैनन र पनि एकअर्का बीच समझदारी रहेको हुन्छ । ” कति ढिला भइसक्यो उता सबैजना आतीसके होलान ,आफ्नो यहां सबथोक बजार सरी फैलिएको छ ” कान्ता आफैमा बर्बराइरहेकी हुन्छिन । त्यतिकैमा पुष्कर भित्र छिर्छ,सामानहरु जताततै फैलिएको देखेर अचम्म पर्दै आमालाई केही खोज्दै गरेको देख्छ ” होइन ए आमा के खोजी रहनु भएको छ..? ” नकरा न बाबु यहां चाहिएको सामान भेट्या छैन ” ।” त्यही त के खोजीराख्नु भाछ भन्नुस न..! ” चाबी के चाबी दराजको ,खोइ कहां राखेछु भेउ नै पाएन” । हाहाहाहा गर्दै पुष्कर हास्छ ,छोरा हांसेको देखेर कान्ता अचम्म पर्छिन ।

आँखा ठूला-ठूला बनाउँदै कम्मरमा हात राख्दै कान्ताले प्रश्न गर्छिन” किन हसीस बाबु भन त..! बडो भलादमका साथ पुष्करले जवाफ दिन्छ ”आमा चाबी त हजुरको कम्मर मै झुण्डिएको छ त.. ! छोराको कुरा सुनेर हत्त न पत्त कान्ताले आफ्नो कम्मर तिर आँखा लाउँछिन ,चाबी कम्मरमा देखेर मुसुक्क हांस्दै ” कस्तो भुलक्कड भएछु म त ,होस ठाउँमा भए पो हुन्छ ” । पुष्कर पनि हांस्दै बाहिर निस्किन्छ , गाउँमा बालश्रम सम्बन्धी कार्यक्रम रहेको हुंदा पुष्कर हतारिंदै दौडिन्छ । चौपारामा सबैजनाको अग्रिम आगमन भईसकेको हुन्छ,सबैजनालाई नमस्ते सम्बोधन गर्दै पुष्कर चौपारीको एकछेउमा गई बस्छ त्यतिकैमा कार्यक्रम सँचालन हुन्छ । कार्यक्रममा बाल शोषण न्यूनीकरण र बालबलिकाहरुलाई उच्च शिक्षा प्रदान गर्नु पर्छ भनी आफ्ना शब्दहरु राख्दै पुष्कर कार्यक्रम बाट बिदा लिन्छ । उता मीनु भने पुष्करको यादमा कल्पीएकी हुन्छे,हरेकपल मात्र पुष्करको बारेमा सोच्न थाल्छे ।
सांझको बेला हुन्छ । मीनु गीत गुनगुनाउँदै पँधेरा तिर गइरहेकी हुन्छे ,त्यतिकैमा कैसैले ”गुहार गुहार ‘ भनेको सुन्छे,केही नसोची आवाज आए तिर दगुर्छे। आवाज अन्त बाट नभई पोखरी बाट आएको हुन्छ ,सांझको बेला हुन्छ पोखरीमा कोही पौडिरहेको देख्छे अनि हत्त न पत्त डोरी फाल्दै अलिक ठूलो आवाजमा बोल्छे” ल यो डोरी समाउ ” । डोरी समाउँदै एकजना मनुवा पोखरी बाहिर निस्किन्छ ,त्यस मनुवालाई देखेर मीनु झसंग झस्किन्छे किनकी त्यो मान्छे अरु कोही नभएर पुष्कर हुन्छ । मिनुले केही सोध्न नपाउँदै पुष्कर बोल्छ ” लुगा धुन लाग्दा चिप्लिएर लडेको हु ,मीनु तिमीलाई मुरीमुरी धन्यबाद छ आज तिमीले गर्दा मैले नँया जीवन पाएको छु ”। मीनु खुसी हुदै एकाएक पुष्करलाई अँगालो मार्छीन ।
पुष्कर केही बोल्दैन ,निथ्रुक्क भिजेकोले पुष्कर हतार हतार घर तिर लाग्छ। मीनु भने पुष्कर गएको हेरिरहन्छिन । लुगा फेर्दै दराजमा रहेको नीलो शर्टलाई काखमा च्यापी पुष्कर ओछ्यानमा पल्टिन्छ अनि विगतका दिनहरु सम्झिन थाल्छ ,जुन समयमा उसका रमाइला र मिठा पलहरुका साथै तीता यादहरु हावासरी फैलिएका थिए । जुनु जसको रूपको गाउँभरी चर्चा थियो ,आनीबानी सबैमा खहरीएकी जुनुलाई नरुचाउने कोही थिएनन,आँखामा राखे पनि नबिझाउने जस्ती थिइन । संगै खेल्दै हुर्किएका जुनु र पुष्कर एकर्कालाई निकै मन पराउँदथे,उनीहरू नभेटेको दिन नै हुदैनथ्यो । उमेर बढे संगै घरमा उनीहरू बीच बिहेको चर्चा हुन थाल्छ ,दुवैजना एकअर्काको हुन पाउँदा निकै खुसी थिए ।

सानै देखी एकर्कालाई थरीथरीका उपहार दिएर चकित पार्ने गर्दथे,उनीहरूलाई एकअर्काको बानी भइसकेको थियो । बिहे नजिकिदै गरेको बेलामा एक्कासी जुनु बिरामी परेर थला पर्छिन ,राम्रो स्वास्थ्य चौकी नभएको हुंदा जूनुलाई लिएर सबैजना सहर पुग्छन र उनको उपचार गराउन थाल्छन । एक्कासी जुनु यसरी बिरामी भएको देख्दा पुष्कर निकै दुखी भएको हुन्छ ,डाक्टर संग जूनुलाई के भएको भनी बुझ्न थाल्दा डाक्टरले ” उनको मुटुमा प्वाल छ र अब उनीसंग धेरै दिन छैन त्यसैले जति सक्दो उनलाई खुसी राख्नुस तर दुख र टेन्सन चाही नदिनुहोला अनि अर्को कुरा उनलाई माया दिनु भनेको मृत्युको काख दिनु हो ।

डाक्टरको कुरा सुन्न साथ पुष्कर पुर्पुरोमा हात राखी भुइँमा थच्चक्क बस्छ अनि रुंदै आफ्नो भाग्यलाई कोस्न थाल्छ । सानै देखी पुष्करले सपनाको महलमा जुनुलाई सिंगार्दै नौलो बिहानीको कल्पना गरेको थियो तर अचानक आएको भुमरीले उसको सारा मिठा सपनाहरुलाई भताभुंग पारिदियो । एक्लोपनको आभाष लिएर कसैलाई केही नभनी पुष्कर घर पुग्छ अनि जूनुलाई सम्झिदै आँशुका धाराहरु खसाल्न थाल्छ तर घरमा रहेका निर्जीव वस्तुहरू र भित्ताहरुले पुष्करलाई झुठा आस्वासन पनि दिन नसक्दा भित्रभित्रै मुर्मुरीएका थिए ।

उता जुनु भने पुष्करलाई नदेख्दा आतीएकी हुन्छे ,केही समय पस्चात जुनु गाउँ पुग्छे अनि पुष्करलाई घरको पेटीमा बसेको देख्छे। ” के भयो पुष्कर किन केही नभनी फर्कियौ ? ” काम विशेषले म फर्किनु पर्यो जुनु” ,भनी पुष्करले जवाफ दिन्छ । पुष्करको निन्याउरो मुहार देखेर जुनु आतिन्छे र केही नबोली कोठा भित्र छीर्छे । यसरी एकाएक केही नभनी जुनुलाई भित्र गएको देखेर पुष्कर पनि आफ्नो घर तिर लाग्छ अनि मनमा नानाथरीका कुराहरु खेलाउँदै पुष्कर गहिरो सोचमा पर्छ ।
उता जुनु औषधी खादै जीवनका घट्दै गरेका दिनहरु तिर दौडिरहेकी हुन्छे । जुनुलाई सबथोक थाहा हुंदाहुदै पनि हांसीखुसी जीवनयापन बिताउँन थाल्छे । एकदिन जुनु हातमा एउटा प्याकेट बोकी पुष्करको घर तिर लाग्छे ,पुष्कर दाउरा चिरीरहेको हुन्छ । ” ओई पुष्कर कता बेपत्ता छौं ,अनि घर तिर आउन पनि छोड्यौ,मलाई लाग्छ तिमीले मलाई माया नै गर्दैनौं ” । जुनुको आवाजमा पिडात्मक स्पन्दनलाई पुष्करले राम्रै संग महसुस गर्छ ,ऊ केही बोल्दैन पुन: दाउरा चिर्न थाल्छ । जुनु रुन्चे स्वरमा बोल्छे ” अब तिमीलाई म संग बोल्न पनि अप्ठ्यारो लाग्न थाल्यो नि ,ल ल नबोल तर म मरे पछि सम्झिने छौ ,लौ यो मेरो तर्फ बाट तिम्रो लागी अन्तिम उपहार ”… यति भन्दै जुनु आँखा बाट आँशु पुछ्दै त्यहा बाट निस्किन्छे ।

उनी जान साथ पुष्कर रुन थाल्छ अनि रुंदै प्याकेट खोल्छ ,जूनुले उसको लागी शर्ट ल्याइदिएकी हुन्छे । जुनुलाई सानै देखी नीलो रंग अति मन पर्ने भएकोले होला पुष्करको लागी पनि नीलो रंग कै शर्ट ल्याइदिएकी हुन्छे ,शर्टलाई छातीमा टास्दै आँखा बाट बर्बरर आँशुका ढिकाहरु खसाल्न थाल्छ । डाक्टरले ”जुनुलाई माया दिनु भनेको मृत्युको काख दिनु हो ” भनेको सम्झिन्छ , जुनु संग टाडिनु उसको बाध्यता थियो तर यो कुरा जुनुलाई थाहा थिएन ।

समय बित्दै जान्छ ,बिहानीको मिर्मिरे उज्यालो संगै पुष्कर उठ्छ अनि नुहाईधुवाई गरी जूनुले ल्याइदिएको नीलो शर्ट लगाउँछ अनि मनमनै ” आज जुनुको जन्मदिन ,यही नीलो शर्ट लगाएर जान्छु र उनलाई चकित बनाउँछु ” । मनमा नानाथरीका कुराहरु खेलाउँदै पुष्कर हातमा एउटा गुलाबको फुल लिई जुनुको घर तिर बढ्छ । उनको घर नेर पुग्न नपाउँदै आँगनमा मान्छेहरुको घुइँचो देख्छ ,हतारहतार दौडिंदै भीडलाई चिर्दै अगाडी बढ्छ । जुनुलाई बाहिर सारिएको हुन्छ ,जुनुकी आमाले उनलाई पानी खुवाउँदै र आँखा बाट आँशु चुहाएको पुष्करले प्रष्टै देख्छ ।

केही नसोची जुनुको नजिकै गएर बस्छ अनि रुंदै जुनुको शिरलाई आफ्नो काखमा राख्छ ” बिस्तारै जुनु बोल्छे ”तिमी आयौ पुष्कर, कस्तो सुहाएको तिमीलाई यो नीलो शर्ट, लाग्छ पुरै नीलो आकाश धर्तीमा झरे जस्तो ,मैले तिमीलाई धेरै दुख दिए नि पुष्कर ,सक्छौं भने मलाई माफ गर हैं ” पुष्कर यो जुनीमा मैले तिमीलाई साथ दिन सकिन तर अर्को जुनीमा ”…..यति बोल्न पाउँदै जुनुको प्राण जान्छ । ” जुनु जुनु बोल न..आँखा खोल न जुनु…एकै सांसमा ” जुनु ” भनी पुष्करको मुख देखी चित्कार निस्किन्छ र भक्कानो फुटाइ फुटाइ ऊ रुन थाल्छ ।
” भित्र को हुनुहुन्छ ? एकाएक कसैको आवाजले पुष्कर झसंग हुन्छ , आँसु पुछ्दै पुष्करले हातमा रहेको  शर्ट लाई दराजमा राख्छ अनि ढोका तिर बढ्छ । ढोकामा मीनुलाई आफ्नो अगाडी पाउँछ ,मिनुले पुष्करको आँखा आँशुले भिजेको प्रष्टै देख्छिन र आफू संग ल्याएको गुलाबको फूल लुकाउँछिन ।

पुष्कर केही बोल्दैन ,निन्याउरो मुहार लगाउँदै केही नबोली मीनु त्यंहा बाट निस्किंछिन ,अनि बाटोभरी पुष्करका आँखाहरुमा भरीएका आँसुहरुलाई सम्झिंदै मनमा विभिन्न किसिमका कुराहरु खेलाउँदै आफ्ना कदमहरु अगाडी चाल्छीन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१