ताजा अपडेट

जीतगढी सम्पदाको संरक्षणमा साझा संकल्प, अब प्रदेश सरकारको पनि नजर पर्यो-मुख्यमन्त्री

          |   93 Views   |   Published Date : 21st April 2018 |

shankar-3

बुटवल, बैशाख । नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको ऐतिहासिक जीतगढी किल्लामा विजय उत्सव दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिकाले शुक्रबार एक भव्य समारोहको आयोजना गरी दिवस मनाएको हो ।

नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले पहिलोपटक बैशाख ७ गतेको दिनलाई जीतगढी विजय उत्सव दिवस रुपमा मनाउन थालनीसमेत गरेको छ । वि.सं. १८७२ बैशाख ७ गते जीतगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको दिनका रुपमा यकिन गरिएको थियो । सोही दिनको सम्झनामा उत्सव दिवस मनाउन थालिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

विजय उत्सव दिवस मुल समारोहलाई सम्बोधन गर्दै प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जीतगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शीर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएकाले प्रदेश सरकाको नजर यसमा गएको बताउनुभयो । उहाँले सम्पदाको संरक्षण र सम्बद्र्धन गर्दै देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बनाइने बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले उपमहानगरले सुरु गरेको यो अभियानले आफू खुसी भएको भन्दै यसमा प्रदेश सरकारको पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो । दिवस समारोहमा सहभागी निजी क्षेत्र, नागरिक अगुवा तथा समुदायका साथमा साझा संकल्प गराउँदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘अब जीतगढीको संरक्षण र सम्बद्र्धनमा आजैदेखि समर्पित हुन्छु ।’

त्यसबेलामा सहभागीहरुले हात उठाएर समर्थन जनाएका थिए । ‘मुख्यमन्त्रीले जीतगढीको अतिक्रमण हटाउन, संरक्षण, सम्वद्र्धन र विकास एवं देश–विदेशमा प्रचारप्रसारमा ऐक्येवद्धताका लागि स्थानीयलाई हात उठाएर सामुहिक संकल्प गराउनुभयो यो साह्रै खुशीको कुरा हो’ , स्थानीय अगुवा रविन्द्रगोपाल लाकौलले खुसी प्रकट गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ को दीर्घकालीन समृद्धिको आधार पर्यटन विकास भएकाले जीतगढी पहिलेदेखि नै नजरमा परेको स्मरण गराउनुभयो । जीतगढीका लागि अर्को योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पूर्व–पश्चिम राजमार्गबाट ओहोर दोहोर गर्दै आहा यो के ठाउँ रहेछ भनेर देखिने बनाउनुपर्छ, यहाँका अरु अनाधिकृत संरचनाहरु हटाउनुपर्छ’, मुख्यमन्त्रीले भन्नुभयो, ‘जीतगढी सम्पदा हामी सबैको साझा सम्पत्ति हो, यस्को संरक्षणमा सबै केन्द्रित हुनुपर्छ ।’

समारोहमा प्रदेश सरकाका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेशसभा सांसद बलदेव शर्मा पोख्रेल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठलगायतले हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जीतगढीले अब मुहार फेर्न आफूहरुको पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जीतगढी ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि ५० लाख बजेट छट्टाएर काम थालेको बताउनुभयो । उहाँले त्यहाँका लागि उपमहानगरले बनाएको गुरुयोजनाका बारेमा पनि संक्षिप्त जानकारी गराउनुभएको थियो ।

जीतगढी क्षेत्र रहेको बुटवल वडा नंं १ र २ का घरहरुमा एउटै प्रकारको रंग लगाइने छ र उक्त वस्तीलाई पुरातात्विक क्षेत्रका रुपमा विकास गरिने छ । किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरु विस्तारै हटाइने छ । अहिले वडा नंं १ को कार्यालय रहेको क्षेत्रमा जीतगढी युद्ध संग्रहालय (म्युजियम) बनाइने लक्ष्य रहेको नगर उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१