ताजा अपडेट

खुवी भएका खुमबहादुर : असाधारण नेतृत्व क्षमता र विकासवादी नेताको रुपमा सम्झना

          |   113 Views   |   Published Date : 11th April 2018 |

khum-Bhadur-Khadka-33

नवीन अभिलाषी दाङ, चैत २७ । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त खुमबहादुरको नाम सुन्ना साथ २०२८ सालको सम्झना गर्छन् । पञ्चायत उग्र बन्दै गरेको समयमा त्यति बेला कांग्रेस र कम्युनिष्ट हुनु खतरा थियो ।

त्यहि समयमा पन्तसहित ६÷७ जनालाई हालको भरतपुरस्थित खोल्सामा लगेर खुमबहादुर खड्काले पञ्चायत बिरुद्ध प्रशिक्षण दिएको पन्तको स्मरण छ । ‘उहाँले तत्कालिन पञ्चायत बिरुद्ध हामीलाई रामपुरमा वाल पेन्टिङ र कालो झण्डा गाड्ने निर्देशन दिनुभएको थियो’, पन्त भन्छन्, ‘तर हामीले कालो झण्डा गाडेर पञ्चायतको बिरोध गरेका छौं, वाल पेन्टिङ गर्न सकेनौं ।’

नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि बलिदानी दिन सक्ने योद्धाका रुपमा खुमबहादुर खड्काको सम्झना गर्छन् । खुमबहादुर असाधारण क्षमता र विकासवादी नेताका रुपमा रहेको एमाले अध्यक्ष खड्काले चर्चा गर्नुभयो । ‘पञ्चायत बिरुद्ध र नेपालको राजनीतिमा प्रजातन्त्रका लागि आफूलाई बलिदान दिन सक्ने योद्धाका रुपमा हामीले खुमबहादुरलाई सम्झन्छौं’, खड्काले भन्नुभयो, ‘वीपी कोइरालासँगै निर्वासनबाट मेलमिलापको नीति लिएर नेपाल आउने खुमबहादुर नेपाली राजनीतिका बलियो पात्र हो ।’

नेकपा माओवादीका नेता निर्मला आचार्यले राजनीतिक जीवनको उतारचढाव बाहेक आफैमा सफल र दाङबासीहरुलाई धेरै माया गर्ने नेता भएको बताउनुभयो । जिल्लाको विकास र कार्यकर्ताहरुका लागि जे पनि गर्न सक्ने नेताका रुपमा खुमबहादुर रहेको उहाँको मूल्याङ्कन थियो । ‘राजनीतिक जीवनको अन्त्य अन्त्यमा उहाँलाई जुन छाप लाग्यो, त्यसबाट सम्पूर्ण राजनीतिक कार्यकर्ताहरु सचेत रहनु पर्ने पाठ हो’, आचार्यले भन्नुभयो, ‘राजनीतिक उतारचढाव बाहेक उहाँको योगदान अतुलनिय छ, खुमबहादुर दाङलाई साँच्चिकै माया गर्ने अग्रज नेता हो ।’

एमाले नेता टीकाराम खड्काले खुमबहादुरको जीवनपछि नकारात्मक टिप्पटी गर्न आवश्यक नभएको बताउनुभयो । ‘खुमबहादुरले व्यक्तिगत लोभ र लालचाका कारण त्यसो गरेको हैन भन्ने बुझ्नुपर्छ, खुमबहादुरले हामी दङाली र दाङको विकासका लागि के गर्नुभयो ? त्यो महत्वपूर्ण पाटो हो ।’

नेपालमा धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा खुमबहादुर खड्काको पनि नाम आउँछ । मन्त्री हुँदा उहाँले लरोतरो मन्त्रालय रोजेनन् । निर्दलीय पञ्चायत व्यवस्था बिरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पंतिमा लोकप्रिय नेताको छवि निर्माण गर्नुभएको थियो ।

बाबु कांग्रेसको जिल्लास्तरीय नेता भएपछि कांग्रेसको राजनीतिमा डोहोरिएका खड्का नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन बिताउनुभएको थियो । २०३३ सालमा वीपी कोइरालासँगै मेलमिलाप नीति लिएर उहाँ स्वदेश फर्केपछि लामो समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहनुभएको थियो–खुमबहादुर । दाङबाट कांग्रेसको राजनीति थालेका खड्का प्रजातन्त्र पुनःस्थापनापछि २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य हुनुभएको थियो । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री हुनुभयो । सिधै गृह र अरु मन्त्रालय सम्हाल्नुभयो । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा पुग्नुभयो ।

उहाँले १२ औं पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । सधँैजसो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्का सत्ता राजनीतिमा निकै माहिर खेलाडी मानिनुहुन्थ्यो । नेपाली कांग्रेसको १२ आंै महाधिवेशनमा तेस्रो अधिक मत ल्याएर केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो । कांग्रेस बिभाजन हुँदा खड्का शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा लाग्नुभयो । दुई कांग्रेस एक भएपछि उहाँ पुनः संस्थापन पक्षमा फर्किनुभयो । तर, दुई वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा खड्का देउवा प्यानलको प्रमुख योजनाकारका रुपमा उदाउनुभयो । खुमबहादुरले साथ नदिएको भए शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुन नसक्ने अहिले चर्चा हुन्छ ।

माओवादीको खरो आलोचना गर्नुहुन्थ्यो खड्का । त्यसैले उहाँ माओवादीको निशानामा पर्नुभएको थियो । दाङ देउखुरीको सतबरियास्थित उहाँको घरजग्गा माओवादीले कब्जा गरेपछि उहाँ सपरिवार ललितपुरको सानेपास्थित घरमा बस्न थाल्नुभएको थियो । २०५९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि पनि उहाँको लोकप्रियता घटेन । २०६३ सालमा विशेषले सफाई दियो । खुमबहादुर बिरुद्धको मुद्दा सर्वोच्चमा पनि पुग्यो । सर्वोच्चले विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै खड्कालाई डेढ वर्ष जेल सजाय समेत सुनायो । उहाँ डिल्लीबजार कारागारबाट रिहा हुँदा उहाँका सयौं समर्थकहरुले विशाल ¥याली नै निकालेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा खुमबहादुर दाङ क्षेत्रनम्वर १ बाट पराजित हुनुभएको थियो । खुमबहादुर नेपाललाई धर्मनिरपेक्ष घोषणाको बिपक्षमा हुनुहुन्थ्यो । कांग्रेसले धर्म निरपेक्षतामा समर्थन जनाएकोमा उहाँ खुल्ला बिरोध गर्नुहुन्थ्यो । पार्टी नेतृत्वले गलत निर्णय लिएकाले कांग्रेस कमजोर हुँदै गएको बताउने खुमबहादुरले हिन्दु राज्य पुनःस्थापनाको अभियानसमेत चलाउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१